१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७९ कार्तिक १३ आइतबार १८:३७:००
Read Time : > 2 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा हेरौँ मिथिलाको ‘छठी’

Read Time : > 2 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७९ कार्तिक १३ आइतबार १८:३७:००

तराई–मधेशमा धुमधामका साथ मनाइने महापर्व छठ सोमबार विधिवत् रूपमा सम्पन्न हुँदै छ। सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ। आइतबार व्रतालु श्रद्धालु भक्तजनहरू अस्ताउँदै गरेको सूर्यको अर्घ दिएको छ।

विगत वर्षझैँ यस वर्ष पनि छठ पर्वको अवसरमा जनकपुरधामका गंगासागर, धनुष सागर, दशरथ तलाउलगायतका प्रमुख पोखरीलाई झिलिमिली पारिएको छ। गंगासागर छठ पूजा समितिका सदस्य रमण सिंहले यस वर्ष छठ पर्वको व्यापक उत्साह जनमानसमा देखिएको बताए।

यसैबीच, कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा जनकपुरधाम पुगेर देशको शान्ति, समृद्धिको कामना गर्दै आइतबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएकी हुन्। उनी आइतबार दिउँसो साढे तीन बजे जनकपुरधामको गंगासागर पोखरीको छठघाटमा पुगेर अर्घ दिएकी हुन्। 

यसैबीच, राजा समर्थक राष्ट्रवादी नागरिक समाजले छठ पर्वको अवसरमा जनकपुरधामको गंगासागर पोखरीमा हेलिकोप्टरमार्फत पृष्पवृष्टि गराएका छन्।  

घण्टौँ पानीमा उभिएर सूर्यलाई अर्घ 

छठ पर्व मनाउने महिला वा पुरुष व्रतालुले औँसी तिथि लागेसँगै माछामासु वा मांसाहारी भोजन त्याग गर्छन्। 

तिहारको चौथो दिन नित्य कर्मपछि व्रतमा बस्नेहरू लसुन, प्याज, उसिना चामलको भातबाहेक शुद्ध शाकाहारी खाना, खिर दूध केरा खान्छन्। पञ्चमी तिथिमा दिनभरि निराहारपछि रातिमा गर्ने पूजा र फलाहार गर्छन्। यस दिनलाई खर्ना भनिन्छ। षष्ठीका दिन व्रत बसिन्छ र व्रत बस्नेहरूले अन्नजल ग्रहण गर्दैनन्।

बिहानैदेखि स्वच्छपूर्वक छैठमा लागि परिकारहरू भुस्वा, टकुवा, लड्डुलगायतका तयार पार्छन्। ती सबै सामानहरूलाई डालोमा राखेर सूर्यास्त हुनुभन्दा अभावै कुनै जलाशय नदी वा पोखरीमा गई छठ पूजा गर्छन्। करिब ४० घण्टासम्म भोकै बस्ने व्रतालुले घण्टौँसम्म पानीमा उभिएर अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अर्घ दिइन्छ। आज आइतबार बेलुका श्रद्धालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्। भोलि साेमबार उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ।

पुरोहितविनाको प्रकृति पूजा 

केही दशकअघि नेपालको तराई र भारतका बिहार, उत्तर प्रदेशलगायतका राज्यमा धुमधामका साथ मनाई छठ पर्व यतिवेला नेपालको पहाड तथा भारतका विभिन्न राज्यहरूमा मनाइने गरिन्छ। यति मात्र होइन विदेशमा बस्ने यसका बासिन्दाले पनि त्यहाँ पर्व गरेको देखिन्छ।

केही दशकअघि छठ पर्वको समाचार संकलन तथा लाइभ गर्न नेपाल टेलिभिजनसहितका सञ्चारमाध्यमबाट पत्रकारहरूलाई जनकपुर आउने गर्थे। तर, अचेल काठमाडौंसहितका पहाडी जिल्लाहरूको पनि छठ पर्व धुमधामले बनाउने गरिन्छ।

छठ प्रकृतिका साथै एकता र अस्थाको पर्व भएकाले यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको पत्रकार तथा साहित्यकार उपेन्द्रभगत नागवंशीले बताए।  

छठ पर्वलाई धर्मग्रन्थले हिन्दुहरूको पर्व भनेर व्याख्या गरे पनि यो हरेक वर्गको पर्व रहेको उल्लेख गर्दै उनले भने, ‘हिन्दुहरूको हरेक पर्वोत्सवहरूका ईश्वरको साक्षीको रूपमा कुनै न कुनै देवी–देउताको प्रतीकात्मक चित्र कोरेर, प्रतिमा वा मूर्ति बनाएर पूजापाठ गर्ने चलन छ। तर,  छठ पर्वमा त्यस्तो केही हुँदैन। यसमा विशुद्ध रूपमा प्रकृतिको पूजा हुन्छ। त्यसैले विगतमा यो पर्व मुस्लिमसहितका समुदायले पनि मनाउने गरिन्थ्याे।’

छठ पर्व पण्डा, पुरोहित तथा देदान्तीहरूको आडम्बरी प्रथाबाट मुक्त राखेर विशुद्ध रूपमा सनातनी लोकपर्व रहेको उनले बताए।

यसको बोध लोक आस्थाका महापर्व छठको पूजन पद्धति र विधि व्यवहारबाट हुने भएकोले छठलाई लोकतान्त्रिक पर्वहरूको रूपमा लिने गरिन्छ। यसका साथै छठ पर्व जलासय, पोखरी तथा नदीहरूको किनारमा गरिन्छ। हालसम्म छुवाछुत कायम रहेको हाम्रो समाजमा सबै समुदाय तथा जातजातिका व्यक्तिहरूले एक ठाउँमा भेला भई यो पर्व मनाउने भएकोले यसलाई समानताको पर्व पनि भन्ने गरिएको उनले बताए।

छठी माता र सूर्यदेवको पूजा एकैसाथ 

यस पर्वको बारेमा विभिन्न धार्मिक ग्रन्थहरूका उल्लेख गरेको पाइन्छ। यसमा छठीमाता र सूर्य दुवैको पूजा एकैसाथ गरिन्छ। षष्ठी शब्द अपभ्रंश हुँदै ‘छठी’ र छठीबाट छठ पर्वको रूपमा नामाकरण भएको धार्मिकग्रन्थको आधारमा देखिन्छ। छठ पर्वको अवसरमा गरिने छठी देवीको पूजाको सम्बन्धमा श्रीमद्भागवत पुराणमा वर्णन गरिएको छ।

त्यसैगरी, छठ पर्वको अवसरमा सूर्यदेवको पूजा रामायणसँग जोडिएको छ। भगवान् राम १४ वर्षको वनवासको अवधिमा रावणको बध गरेका थिए।

१४ वर्षको वनवासको अवधि पूरा गरेर औँसी तिथिमा अयोध्या फर्केपछि अयोध्यामा दीपावली मनाइएको रामायणमा उल्लेख गरिएको छ। दीपावलीको आठौँ दिन छठ पूजा गरिन्छ। भगवान् राम अयोध्या फर्केपछि राज्यारोहण गर्नुभन्दा पहिले ब्राह्मण (रावण) को हत्याको पापबाट मुक्त हुन ऋषिहरूले सूर्यदेवको पूजा गर्न सल्लाह दिए।

शुक्ल षष्ठी र सप्तमी तिथिमा भगवान् रामले सूर्यदेवको पूजा गर्नुभएकाले सोही दिनदेखि छठ पर्वमा सूर्यदेवको पूजा हुन थालेको विश्वास गरिन्छ। दुई घटना एउटै तिथिमा भएकाले षष्ठीदेवी अर्थात् छठी माता र सूर्यदेवको पूजा एकैसाथ हुन थालेको विश्वास गरिन्छ।