मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ३१ सोमबार १०:२१:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सुर्तीजन्य पदार्थ सेवन र बिक्रीमा कडाइ गर्न ध्यानाकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ३१ सोमबार १०:२१:००

सुर्तीजन्य पदार्थ सेवन र बिक्री–वितरणमा सरकारी संयन्त्र कमजोर हुँदा ठूलो धनजनको क्षति भइरहेको सरोकारवालाहरूले बताएका छन् । एक्सन नेपाल, द युनियन, एसिया प्यासेफिक सिटिज अलायन्स फर द हेल्थ एन्ड डेभलपमेन्ट (एपिक्याट) र स्वास्थ्य पत्रकार मञ्चले संयुक्त रूपमा शनिबार आयोजना गरेको कार्यक्रमका वक्ताहरूले यसको नियन्त्रणमा सरकार जिम्मेवार हुनुपर्ने जोड दिए । 

कार्यक्रममा वक्ताहरूले ८० प्रतिशत क्यान्सर सुर्तीजन्य पदार्थ सेवनबाटै हुने भएकाले यसको सेवन निस्तेज गर्नुपर्ने धारणा राखेका छन् । सुर्तीजन्य पदार्थको सेवनबाट छाती, फोक्सो, कलेजो, घाँटीलगायत अंगमा क्यान्सर हुन्छ । यस्तै, सुर्तीजन्य पदार्थ सेवनले दमका रोगी पनि बढेको क्यान्सर रोग विशेषज्ञ अरुण शाहीले बताए । उनका अनुसार क्यान्सरको खास कारण भनेको सुर्तीजन्य पदार्थ सेवन नै हो । 

चुरोट सेवन गर्ने ५० प्रतिशतको मृत्यु क्यान्सरबाट
अध्ययनअनुसार चुरोट सेवन गर्नेमध्ये ५० प्रतिशतले क्यान्सरबाटै ज्यान गुमाउँछन् । त्यति मात्रै होइन, सुर्तीजन्य पदार्थ सेवनकर्ताको नजिक बसेकालाई समेत क्यान्सर हुने गरेको डा. शाहीको भनाइ छ । ‘चुरोट तथा सुर्तीले खासगरी फोक्सो तथा कलेजोमा असर गर्छ,’ डा. शाहीले भने, ‘अझ अचेल त फेसनका रूपमा सानै उमेरमा धूम्रपान सेवन गर्नेको समेत संख्या बढेको छ ।’ 

द युनियनका क्षेत्रीय निर्देशक डा. तारासिंह बमले सुर्तीजन्य पदार्थ बिक्रीमा सरकार कमजोर बनेको आरोप लगाए । सरकारले नीति बनाए पनि त्यसको कार्यान्वयन कमजोर हुँदा सुर्तीजन्य पदार्थ सेवनकर्ता बढिरहेको उनको भनाइ छ । ‘सरकारले कानुनी रूपमा यसको रोकथाममा केही प्रयास त गरेको छ, तर व्यवहारमा कमजोर छ,’ उनले भने, ‘यसको रोकथाम र नियन्त्रणमा सरकारी संयन्त्रण र नागरिक समाजको ठूलो भूमिका रहन्छ ।’ 

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले प्रत्येक परिवार सचेत भए मात्रै यसको सेवनकर्ता कम हुने बताए । ‘अहिले सुर्तीजन्य पदार्थ सेवनकर्ता धेरै छन्,’ उनले भने, ‘यसलाई रोक्न विभागले हरसम्भव कोसिस गरेको छ र प्रत्येक व्यक्ति र परिवार यसमा सचेत हुन जरुरी देखिन्छ ।’ उनले क्यान्सर नियन्त्रणका लागि निर्देशिका तयार पार्न लागिएको समेत जानकारी गराए ।

सुर्ती सेवनबाट हरेक  वर्ष ३७ हजारभन्दा बढीको मृत्यु  
विश्व स्वास्थ्य संगठनले २०१८ मा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा बर्सेनि २७ हजार एक सय ३७ जनाको सुर्तीजन्य पदार्थ सेवनबाट मृत्यु हुने गरेको छ । चार वर्षमा यो संख्या बढेर साढे ३७ हजार पुगेको छ । सुर्तीजन्य पदार्थबाट सबैभन्दा बढी दरमा मृत्यु हुने दक्षिण एसियामै नेपाल पहिलो बनेको छ । एक्सन नेपालको तथ्यांकअनुसार नेपालमा कुल मृत्युदरको करिब १४.९ प्रतिशत मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ ।