मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पवन बराइली काठमाडौं
२०७९ असोज २९ शनिबार १२:५९:००
Read Time : > 3 मिनेट
अन्तर्वार्ता डिजिटल संस्करण

अपराधी करार गर्ने षड्यन्त्र भयो तर फिल्मको बजार विस्तारमा सम्झौता गर्दिनँ : सन्तोष सेन

Read Time : > 3 मिनेट
पवन बराइली, काठमाडौं
२०७९ असोज २९ शनिबार १२:५९:००

एकपछि अर्को फिल्म संकटग्रस्त अवस्थामा पुगेको नेपाली चलचित्र उद्योगमा प्रेमगीत–३ प्रदर्शनमा आएसँगै एउटा आशा जगाएको छ। नेपाली र हिन्दी भाषामा रिलिज फिल्मले दर्शक तथा समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ। फिल्मले नेपाल मात्रै नभएर भारत र अन्य देशमा पनि राम्रो व्यापार गरिहेको छ। यद्यपि, यसका बाबजुद पनि फिल्म विवादरहित बन्न सकेन। विशेषगरी, चलचित्र विकास बोर्डले फिल्म चल्न नदिने षड्यन्त्र गरेकाले अन्तर्राष्ट्रिय बजारसम्म पुग्न एक्लै संघर्ष गर्नुपरेको निर्माण पक्षको आरोप छ। भारतीय बजारमा फिल्मको हिन्दी ‘भर्सन’ चलाउन गर्नुपरेको संघर्ष र पाएको लोकप्रियताबारे निर्माता/निर्देशक सन्तोष सेनसँग पवन बराइलीले गरेको कुराकानीको सम्पादित अंश :

सिनेमाले कस्तो प्रतिक्रिया पाइरहेको छ ?
नेपाली र हिन्दी भाषामा राम्रो प्रतिक्रिया मिलेपछि अहिले उर्दू भाषामा पनि डबिङ भइरहेको छ। छिट्टै चिनियाँ भाषामा पनि डब गर्दै छौँ।

सिनेमा प्रदर्शनमा निकै लामो समय लाग्यो। यो बीचमा कस्ता उतारचढावहरू भए ?
सिनेमालाई हलसम्म ल्याउन चार वर्ष लाग्यो। यसको कथा, रिहर्सल र सेटअपका लागि धेरै समय खर्च भयो। लार्ज स्केलको सिनेमा भएकाले चुनौती सुरुदेखि नै थियो। त्यसमाथि सुटिङ सकिएलगत्तै कोरोनाका कारण सिनेमा हल बन्द भयो। दुर्भाग्य सिनेमाको निर्देशक छेतन गुरुङ दाइले छाडेर जानुभयो।

जहाँसम्म नेपाली भाषाको कुरा छ। हामीले भारतमै पनि नेपाली र हिन्दी दुवै भाषामा रिलिज गरेका छौँ। विश्वव्यापी रूपमै पहिलो प्राथमिकता नेपाली भाषालाई दिएका छौँ। तर, हिन्दीमा हेर्न चाहनेले पनि उक्त भाषामा हेर्न पाउनुपर्छ भनेर डब गरेका हौँ। अन्य भाषाहरूमा पनि डब गर्दै छौँ।

निर्माता र निर्देशक पनि आफैँ भएकाले मलाई एक सय किलोको भारी बोकेजस्तो अनुभव भएको थियो। अत्यासै लागेको थियो। कोरोना महामारी कम भएसँगै हामी मुम्बई गयौँ। त्यसपछि हिन्दीमा डबिङ गर्न थाल्यौँ। फिल्मको ट्रेलरले राम्रो प्रतिक्रिया पाएपछि भने मलाई भारी बिसाएजस्तो लाग्न थाल्यो। अहिले आएर फिल्मले राम्रो व्यापार गरेको छ। सन्तुष्टि मिलेको छ। दुःख गरेर लगाएको खेतीलाई घामपानीबाट जोगाएर भकारीमा थन्काएजस्तो महसुस भएको छ। 

कतिपयले हिन्दी भाषामा फिल्म चलाउँदा ‘भाषिक अतिक्रमण’ भयो भन्ने आरोप नै लगाए।  यसलाई कसरी लिनुहुन्छ ?
हामीले नेपाली सिनेमालाई ठूलो माससामु पुर्याउने कोसिस गरेका हौँ। भारतमा हिन्दीमा डब गरिरहँदा हामीलाई त्यहाँ निकै राम्रो प्रतिक्रिया मिल्यो। तर, नेपालमै केही अग्रजहरूले हाम्रो प्रयासलाई निरुत्साहित गर्न खोज्नुभयो। कतिपयले त देशद्रोहकै आरोप लगाए। विदेशी भाषामा डब गर्नुलाई कतिपयले अपराधसरह माने। तर, उहाँहरूको बुझाइ सतही थियो। भिन्न भाषा र संस्कृतिका मानिसहरूलाई नेपाली चलचित्र देखाउनु के गल्ती हो र ? म केही गलत देख्दिँन। बरु, यस्तो दुष्प्रचार र षड्यन्त्रमा इर्ष्या र डाहा मिसिएको छ भन्ने मलाई लाग्छ। अहिले हिन्दी भाषामा गरिएको डबलाई पनि धेरैले मन पराउनुभएको छ। खुसी लाग्छ। दर्शकहरूको यो साथले मलाई नेपाली फिल्मको बजार विस्तारमा थप समर्पित भएर लाग्न हौसला मिलेको छ।

कतिपयले हिन्दीमा डबिङ गर्दा नेपालीपन नै हरायो भन्ने टिप्पणी पनि गरेका छन् नि ?
यो सरासर गलत टिप्पणी हो। विदेशमा सुटिङ गरेर नेपाली भाषामा तयार गर्दा नेपालीपन नमर्ने, तर नेपालमै सुट गरेर विदेशी भाषामा डब गर्दा नेपालीपन मर्ने भन्ने हुँदैन। जसरी, कन्टेन्टअनुसार जहाँ पनि सुट गर्न पाइन्छ। त्यसरी नै दर्शकको अभिरुचिअनुसार हामीले चाहेको भाषामा डब गर्न पनि पाउनुपर्छ।

जहाँसम्म नेपाली भाषाको कुरा छ। हामीले भारतमै पनि नेपाली र हिन्दी दुवै भाषामा रिलिज गरेका छौँ। विश्वव्यापी रूपमै पहिलो प्राथमिकता नेपाली भाषालाई दिएका छौँ। तर, हिन्दीमा हेर्न चाहनेले पनि उक्त भाषामा हेर्न पाउनुपर्छ भनेर डब गरेका हौँ। अन्य भाषाहरूमा पनि डब गर्दै छौँ।

फिल्म प्रदर्शनका क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसँग व्यक्तिगत जुहारीमै उत्रनुभयो नि !
यो व्यक्तिगत जुहारी होइन। भुवन केसी अहिले चलचित्र क्षेत्रको अभिभावक हुनुहुन्छ। तर, उहाँजस्तो व्यक्तिले सरकारी जिम्मेवारीमा पनि केटाकेटीजस्तो व्यवहार गर्नुभयो। समस्या त्यहीँ रह्यो। हामी अन्याय पर्दा विकास बोर्डमा पुग्छौँ। तर, अभिभावकजस्तो मान्छेले मिडियामै आएर उल्टै हाम्रो फिल्मविरुद्ध अभिव्यक्ति दिनु राम्रो भएन। हाम्रै फिल्म चलाउने वेला हलको नियम परिवर्तन गरियो–हामीले पेलिएको महसुस गर्यौं। उहाँले फिल्म चलाउन फन्डा गरेको आरोप हामीमाथि लगाउनुभयो।

हाम्रो फिल्मलाई प्रवर्द्धनमा सहयोग गर्नु त कता हो कता, बरु उल्टै ७ बजे हल बन्द गर्ने आदेश दिनुभयो। सूचना नै निकाल्नुभयो। अर्को, भारतमा सेन्सर गर्नका लागि हिन्दीमा स्वीकृतीपत्र दिन आनाकानी गर्नुभयो। हामी त उहाँसँग सल्लाह गर्न गएका थियौं। उहाँले हामीलाई सहयोग गर्नसक्नु हुन्थ्यो। विश्वबजारमा फिल्म देखाउने दुःख गरिहेका छौं। तर उहाँले ‘डकुमेन्ट’ पुगेन भन्दै अल्झाई दिनुभयो। हाम्रै फिल्म चलाउने बेला हलको नियम परिवर्तन गर्ने हामीले पेलिएको महशुस भयो।

तर, फिल्म रिलिज गर्नुअघि हामीलाई समस्या सिर्जना गर्न चाहनुभयो। अभिभावकजस्तो मान्छे नेपाली फिल्मको प्रवद्र्धनमा यसरी बाधक नबनेको भए हुन्थ्यो।

भनेपछि प्रेम गीत–३ मा भुवन केसी नै बाधक बनेका हुन् ! 
उहाँको पछिल्ला अभिव्यक्तिहरू हेर्दा त्यही देखिन्छ। हामीमाथि कर छल्न खोजेको आरोप लगाउनुभयो। जब कि सरकारलाई दिनुपर्ने कर तिर्न मलाई कुनै आपत्ति छैन। फिल्मको कामले व्यस्त भएर कर अपडेट गर्न पाएको थिएन। कर कार्यालयले चलचित्र विकास बोर्डको लेटर लिएर आउनुस् भन्यो। त्यसैले हामी सल्लाह गर्न गएका हौँ। अहिले करछलीको आरोप लगाउनुभएको छ। जब कि मैले आवश्यक सबै कर चुक्ता गरिसकेको छु। त्यसपछि मात्रै फिल्मको सेन्सर गरेको हो। 

मुम्बईमा नेपाली फिल्मको बजारीकरण गर्न कत्तिको मुस्किल रहेछ ?
नेपाली सिनेमा भन्ने त्यहाँका अधिकांश मान्छेलाई थाहा पनि रहेनछ। सुरुमा नेपाली फिल्म उद्योगबारे बुझाउन नै हामीले लामो समय खर्चनुपर्यो। नेपालमा वर्षमा झन्डै सयवटा फिल्म बन्छ भन्दा उनीहरू चकित परेका थिए। हामीले वितरकहरूलाई आग्रह गरेका थियौँ। किन्नुस् भनेर फोर्स गर्दैनौँ तर एकपटक हाम्रो फिल्म हेरिदिनुस्।’ जब उनीहरूले फिल्मको केही अंश हेरे, त्यसपछि प्रभावित भए।

यो फिल्मले नेपाली चलचित्र उद्योगलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याएको छ। नेपालमा पनि दक्ष प्राविधिक छन् भन्ने छाप उनीहरूमा परेको छ। नेपालका कलाकारहरूको उनीहरूले तारिफ गरेका छन्। सानो बजेटमा पनि नेपालीहरूले राम्रो फिल्म बनाएका छन् भन्ने उनीहरूलाई परेको छ। यसले नेपाली फिल्मको बजार बिस्तारमा फाइदा पुर्याउँछ भन्ने मलाई लाग्छ। प्रेमगीत–३ ले आफू हिँड्ने गोरेटो आफैँ खनेको छ। त्यस गोरेटोलाई हाइवेमा विकास गरेर नेपाली सिनेमालाई तीव्र गतिमा विश्वभर फैलाउन हामी सबै एकजुट हुनुको विकल्प छैन। हामीसँग सकारात्मक हुन सकिने धेरै ठाउँहरू छन्। राम्रो सपना देख्नैपर्छ।