मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २८ शुक्रबार १०:५८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी छानबिनमा निर्दाेष देखिएका व्यक्ति जेल चलान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २८ शुक्रबार १०:५८:००

पश्चिम नवलपरासीमा दुई भारतीय नागरिकलाई सुनियोजित रूपमा लागुऔषध मुद्दामा फसाउन प्रयास गरिएको घटनामा अदालतको आदेशले निर्दोष व्यक्तिमाथि थप अन्याय भएको छ । प्रहरीको समेत मिलेमतोमा नियोजित रूपमा फसाउन लागिएको प्रहरी छानबिनबाटै खुले पनि जिल्ला अदालत नवलपरासीले दुवैलाई थुनामा पठाएको छ। 

बरामदी मुचुल्कालाई आधार मानेर जिल्ला न्यायाधीश ईश्वरीप्रसाद भण्डारीले भारतीय नागरिक जितेन्द्र पासवान र रघुनाथ धोबीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन् । प्रहरीको बरामदी मुचुल्कामा उनीहरूकै साथबाट लागुऔषध बरामद भएको उल्लेख छ । प्रहरीले अनुसन्धानको गल्ती सच्याउन नमानेपछि निर्दाेष व्यक्तिहरूमाथि थप अन्याय भएको हो । 

पछि खुलेको घटना विवरणअनुसार पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले भारतीय नागरिक रामा गुप्तालाई योजनाबद्ध रूपमा प्रहरी प्रयोग गरी लागुऔषध मुद्दामा फसाएका थिए । पक्राउ परेका उनका सहयोगी रघुनाथ धोबीकै बयानबाट सो कुरा पुष्टि भइसकेको छ । प्रहरीको छानबिनले पनि उनीहरूलाई निर्दाेष देखाएको छ । तर, बरामदी मुचुल्कालाई आधार मानेर जिल्ला अदालत नवलपरासीले गुप्ताका सहयोगी पासवान र धोबीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । 

छानबिनका क्रममा दुई भारतीय निर्दाेष देखिएपछि प्रहरीले मुद्दा नचलाई उनीहरूलाई साधारण तारेखमा छाड्न जिल्ला सरकारी वकिल कार्यालयलाई प्रस्ताव गरेको थियो । सरकारी वकिलले त्यसका लागि बरामदी मुचुल्का सच्याउनुपर्ने बताएका थिए । तर, अनुसन्धान अधिकृत रहेका इन्स्पेक्टर धर्मराज खत्रीले मुचुल्का सच्याउन नमानेपछि उनीहरूलाई दुई महिना थुनामा राखेर मुद्दा दायर भएको थियो । 

योजनाबद्ध रूपमा नै उनीहरूलाई लागुऔषध मुद्दामा फसाउन खोजिएको देखिए पनि प्रहरीले सुरुवाती अनुसन्धानमा गरेको गल्तीका कारण निर्दाेष व्यक्तिहरू लामो समय थुनामा बसेर जेल चलान भएका छन् । अनुसन्धानको गल्ती सच्याउँदा प्रहरी अधिकारी नै कारबाहीमा पर्ने भएपछि निर्दाेष व्यक्ति फसेका हुन् । प्रहरी अनुसन्धानमा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले प्रतिशोधस्वरूप उनीहरूलाई लागुऔषध मुद्दामा फसाएको पुष्टि भइसकेको छ । फरार रहेका गुप्ताविरुद्ध पनि लागुऔषध मुद्दा दायर भएको छ ।

यस्तो थियो घटना विवरण
गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएका प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जीतेन्द्र पासवानलाई पक्राउ गरेको थियो । उनीहरूसँग दुई सय ७० सेट डाइजेपाम, नुरर्फिन र फेनारगन लागुऔषध बरामद भएको प्रहरीको दाबी थियो । तर, पछि प्रहरीकै संलग्नतामा पालिका अध्यक्षको योजनामा निर्दोष फसाइएको भन्दै आलोचना भएपछि प्रहरीले छुट्टै छानबिन गरेको थियो । 

घटना विवरण नै बनावटी भएको पाइएको थियो । तर, बरामदी मुचुल्का सच्याउन नमानेपछि पक्राउ परेकाहरूविरुद्ध मुद्दा दायर भएको थियो । कवाडीको व्यापार गर्ने गुप्तालाई कवाडी सामान किन्न बोलाएर योजनाबद्ध रूपमा लागुऔषध राखी पक्राउ गरिएको थियो । प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयको छानबिनमा पनि पक्राउ परेका गुप्ता र पासवान निर्दाेष देखिएका थिए ।