१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी बैंकक
२०७९ असोज २७ बिहीबार ०८:५३:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

भ्रष्टाचार अभियोगमा  सुकीलाई २६ वर्षको जेल   

Read Time : < 1 मिनेट
एजेन्सी, बैंकक
२०७९ असोज २७ बिहीबार ०८:५३:००

सेनाशासित म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई थप दुई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । सुकीको पहिलेको सजायमा अहिलेको सजाय थपिँदा जेल सजाय २६ वर्ष पुगेको छ । सेनाले ७७ वर्षीया सुकीलाई गत वर्षको फेब्रुअरी १ मा निर्वाचित सरकारबाट सत्ता हत्याएदेखि जेलमा राखिरहेको छ । यद्यपि उनले आफूमाथि लगाइएका आरोप अस्वीकार गरेकी छिन् ।

नेतृ सुकीमाथि लागुऔषध तस्करीको अभियोगमा दोषी ठहरिएका कुख्यात माउङ वेइकबाट पाँच लाख ५० हजार अमेरिकी डलर घुस लिएको आरोप लगाइएको थियो । सन् १९९१ को नोबेल शान्ति पुरस्कार विजेता नेतृ सुकीविरुद्ध सेनाले लगाएका आरोपमा भ्रष्टाचारका मुद्दा सबैभन्दा बढी छन् । नेतृ सुकीलाई भ्रष्टाचारविरोधी ऐनअन्तर्गत १२ थान मुद्दा लगाइएका छन् । ती प्रत्येकमा उनलाई १५ वर्षसम्मको जेल सजाय र जरिवाना हुन सक्छ ।

यसअघि उनलाई अवैध रूपमा सञ्चार सामग्री आयात गरी राखेको, कोरोना भाइरसविरुद्धका प्रतिबन्ध उल्लंघन गरेको, देशको गोपनीयतासम्बन्धी कानुन उल्लंघन गरेको, देशद्रोह गरेको, चुनावमा धाँधली गरेकोलगायत भ्रष्टाचारका पाँच आरोपमा दोषी ठहर्‍याएपछि २३ वर्षको जेल सजाय सुनाइएको थियो । आगामी वर्ष हुने निर्वाचनमा उनलाई भाग लिनबाट रोक्ने प्रयासमा सेनाले ती आरोप लगाएको विश्लेषण गरिन्छ ।