मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण २२ मंगलबार
  • Tuesday, 05 March, 2024
रोहितराज पराजुली नयाँ पत्रिका
२०७९ असोज २७ बिहीबार ०८:३६:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दीपक मनाङेलाई दलहरूको ‘वाकओभर’

Read Time : > 3 मिनेट
२०७९ असोज २७ बिहीबार ०८:३६:००

मनाङ (ख)बाट प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित

कांग्रेस, एमालेजस्ता ठूला दलले नै ‘वाकओभर’ दिएपछि गुन्डागर्दीको छविबाट राजनीतिमा उदाएका राजीव गुरुङ उर्फ दीपक मनाङे मनाङ (ख)मा प्रदेश सभा सदस्यका लागि निर्विरोध निर्वाचित भएका छन् । एमालेको अघोषित समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे लामाले बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएका हुन् । 

स्वतन्त्र उम्मेदवारी दिएका मनाङेविरुद्ध कांग्रेसले उम्मेदवार नै उठाएन भने लामाले एमालेकै अघोषित प्रस्तावमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, बुधबार एमालेकै निर्देशनमा उनले उम्मेदवारी फिर्ता लिएर मनाङेलाई निर्विरोध बन्ने बाटो खोलिदिएका हुन् । अन्य दलले उम्मेदवार नै नउठाएको र लामाले पनि स्वतन्त्र उम्मेदवारी फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए । 

एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले स्थानीय नेता–कार्यकर्ताकै समझदारीमा आफ्नो पार्टीका उम्मेदवार (दोर्जे लामा)ले उम्मेदवारी फिर्ता लिएको बताए । ‘स्थानीय साथीहरूको समझदारीमा हाम्रो पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको हो । मेरो विचारमा शक्ति सन्तुलन मिलाउन तथा निर्वाचनमा जाँदा हार्ने देखेर पार्टीका उम्मेदवारले फिर्ता लिएको हुनुपर्छ, यो मेरो व्यक्तिगत अनुमान हो,’ उनले भने, ‘उम्मेदवारी फिर्ता लिने सम्बन्धमा प्रदेश कमिटीसँग आधिकारिक रूपमा कुनै सल्लाह भएको छैन । प्रतिनिधिसभा र प्रदेशको उम्मेदवारलाई टिकट दिने र राखेको उम्मेदवारी फिर्ता लिने काम केन्द्रले नै गर्ने भएकाले माथिबाटै निर्णय गरेर उम्मेदवारी फिर्ता गराइएको होला ।’

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पनि स्थानीय नेता–कार्यकर्ताको रायको आधारमा गठबन्धनबाट मनाङ (ख)मा कुनै उम्मेदवार नउठाएको बताए । ‘स्थानीय साथीहरूको रायको आधारमा गठबन्धनमा रहेका दलहरूले कुनै उम्मेदवार नउठाएका हुन् । जिल्लाबाट साथीहरूले गरेको भावनाको कदर गर्दै प्रदेश समितिले केन्द्रमा ‘स्थानीयको निर्णयअनुसार गर्न’ भनेर परामर्श दिएको हो,’ उनले भने, ‘हामीले राजनीति गर्ने जिल्लाका कार्यकर्तालाई हेरेर हो । उनीहरूको भावनाअनुसार अघि बढ्नुपर्छ भनेर राय सल्लाहअनुसार नै गठबन्धनले केन्द्रबाटै उम्मेदवार नउठाउने निर्णय गरेको हो ।’ 

मनाङको प्रदेश सभा (ख) सत्तागठबन्धनको भागबन्डामा कांग्रेसको भागमा परेको थियो । कांग्रेस मनाङका सभापति शंकर गुरुङले सबैको सहमतिमै सत्तागठबन्धनबाट मनाङेलाई समर्थन गरिएको बताए । आफ्नै समर्थनमा जितेको र मन्त्री बनाउँदा पनि आफ्नै सरकार ढाल्ने मनाङेलाई एमालेले समर्थन गरेको एमाले मनाङका अध्यक्ष कप्ली गुरुङले बताए । गण्डकी सरकारमा बहालवाला युवा तथा खेलकुदमन्त्री रहेका मनाङे ०७४ मा पनि मनाङ (ख)बाटै प्रदेश सांसद निर्वाचित भएका थिए । 

गण्डकीमा मनाङेको संसदीय यात्रा सधैँ विवादित, तर ठूला दलमाथि जहिल्यै निर्णायक

१४ माघ ०७५ : १० मंसिर ०७४ मा भएको पहिलो चरणको निर्वाचनमा मनाङ ‘ख’बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित मनाङेले १४ महिनापछि प्रदेश सभा सदस्यको शपथ लिन पाएका थिए । ज्यान मार्ने कसुरमा जेलमा रहेका उनी ६ पुस ०७५ मा सर्वोच्च अदालतको आदेशले धरौटी र तारेखमा रिहा भएका थिए । अदालतको आदेशपछि धरौटीमा रिहा भएका उनले १२ पुसमा शपथका लागि प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए ।

शपथ समारोहमा उपसभामुख सिर्जना शर्मा, तत्कालीन नेकपा नेतृत्वको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, नेकपा संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी र नेकपाका सांसद कृष्णा थापा र संसद् सचिवालयका कर्मचारी उपस्थित रहेका थिए । प्रदेश सभामा रहेका चार दलमध्ये सत्तारूढ दल नेकपाबाहेक प्रमुख प्रतिपक्षी दल कांग्रेस, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टीका सांसदहरूले शपथको विरोध गरेका थिए । 

१५ माघ ०७५ : शपथ खाएको भोलिपल्ट भारतीय नम्बर प्लेट (बिहार राज्यको) बिआर ०६ पिडी ७५२९ नम्बरको गाडी चढेर संसद् परिसरमा प्रवेश गरे । भारतीय नम्बरको गाडी परिसरभित्र रहेको सूचना पाएलगत्तै संसद् सचिवालयका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले सो गाडीलाई परिसरबाहिर लैजान सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए । पौडेलको निर्देशनको करिब १० मिनेटपछि गाडीलाई बाहिर निकालिएको थियो । 

१८ असार ०७६ : तत्कालीन नेकपामा प्रवेश । पार्टी फुटेपछि स्वतन्त्र रहेको घोषणा ।

७ माघ ०७६ : मुख्यमन्त्री कपको उद्घाटनअघि एन्फा कास्कीका अध्यक्ष, एन्फा गण्डकीका उपाध्यक्ष एवं प्रतियोगिता आयोजक समितिका कोषाध्यक्षसमेत रहेका मिलन गुरुङमाथि प्रतियोगिता स्थलमा हातपात । अध्यक्ष गुरुङलाई मनाङेले सुरुमा छातीमा हानेर धकेलेका थिए, दोस्रोपटक लात्तीले खुट्टामा हानेका थिए भने तेस्रोपटक गालामा थप्पड हानेका थिए । गृहजिल्ला मनाङबाट आएको टोलीलाई प्रतियोगिता सुरु हुनअघिदेखि होटेलमा बस्ने व्यवस्था नगरेको तथा खेल अभ्यासका लागि मैदान उपलब्ध नगराएको भन्दै हातपात गरेका थिए । 

८ माघ ०७६ : पिटाइ खाएका मिलन गुरुङले मुलुकी फौजदारी संहिता, २०७४ को दफा ११८ विपरीतको कसुरमा मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दरखास्त दर्ता गरे । 

९ माघ ०७६ : मनाङे पक्राउ परे ।

१२ माघ ०७६ : पक्राउ परेको चार दिनपछि ६ हजार धरौटी राखेर तारेखमा छुटे । 

१६ वैशाख ०७८ : एमाले नेता तथा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री नियुक्त भए । 

२७ जेठ ०७८ : पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारबाट राजीनमा दिए ।

२९ जेठ ०७८ : वर्तमान मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेतृत्वको सरकारमा विनाविभागीय मन्त्री नियुक्त । 

२९ जेठ ०७८ : पोखरेलद्वारा मनाङेलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी । 

कात्तिक ०७८ : मनाङेले सहयोगी एवं स्वकीय रोनित गुरुङलाई कार्यवाहक मन्त्री र प्रवक्ताको जिम्मा दिए । गुरुङले मन्त्रीको कुर्सीमा बसेर फोटो खिचेको सार्वजनिक नै गरेपछि आलोचना भयो ।

२३ चैत ०७८ : आफ्नै मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझालाई मन्त्रीको कार्यकक्षमा थर्मसको बिर्को र लात्ती प्रहार गरे । त्यसको केही महिनाअघि मन्त्रालयका एक उपसचिवलाई आफ्नै कार्यकक्षमा पेपरवेट (सिसाको डल्लोले) प्रहार गरेका थिए ।

एमाले गण्डकीका अध्यक्ष नवराज शर्मा भन्छन्–शक्ति सन्तुलन मिलाउन खोजिएको होला 
स्थानीय साथीहरूको समझदारीमा हाम्रो पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको हो । मेरो विचारमा शक्ति सन्तुलन मिलाउन तथा निर्वाचनमा जाँदा हार्ने देखेर पार्टीका उम्मेदवारले फिर्ता लिएको हुनुपर्छ । उम्मेदवारी फिर्ता लिने सम्बन्धमा प्रदेश कमिटीसँग आधिकारिक रूपमा कुनै सल्लाह भएको छैन । प्रतिनिधिसभा र प्रदेशको उम्मेदवारलाई टिकट दिने र राखेको उम्मेदवारी फिर्ता लिने काम केन्द्रले नै गर्ने भएकाले माथिबाटै निर्णय गरेर उम्मेदवारी फिर्ता गराइएको होला । 

कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा भन्छन्–स्थानीय साथीहरूको रायका आधारमा उम्मेदवार नउठाएको हो
स्थानीय साथीहरूको रायको आधारमा गठबन्धनमा रहेका दलहरूले कुनै उम्मेदवार नउठाएका हुन् । जिल्लाबाट साथीहरूले गरेको भावनाको कदर गर्दै प्रदेश समितिले केन्द्रमा ‘स्थानीयको निर्णयअनुसार गर्न’ भनेर परामर्श दिएको हो । हामीले राजनीति गर्ने जिल्लाका कार्यकर्तालाई हेरेर हो । उनीहरूको भावनाअनुसार अघि बढ्नुपर्छ भनेर राय–सल्लाहअनुसार नै गठबन्धनले केन्द्रबाटै उम्मेदवार नउठाउने निर्णय गरेको हो ।