मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
वीर अस्पतालमा उपचारका लागि आएका बिरामीको भिड ।   तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२०७९ असोज २७ बिहीबार ०६:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दसैँलगत्तै उपत्यकाका अस्पतालमा बिरामीको चाप

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ असोज २७ बिहीबार ०६:०५:००

डेंगु नियन्त्रण नभएको र दसैँको वेला उपचार सेवा लिन नपाएकाहरू आएकाले चाप बढेको चिकित्सकको भनाइ

दसैँ सकिएलगत्तै उपत्यकाका अस्पतालहरूमा बिरामीको चाप बढेको छ । डेंगु, श्वासप्रश्वास, पत्थरी, ज्वरो, रुघाखोकीलगायत रोगका बिरामीको चाप बढेको हो । त्रिवि शिक्षण, वीर, सिभिल, पाटन, शुक्रराज ट्रपिकल र भक्तपुर अस्पताललगायत स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ । अस्पतालमा भिड बढेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले बताए । डेंगु नियन्त्रण नभएकाले अधिकांश ज्वरोका बिरामी र दसैँको वेला उपचार सेवा लिन नपाएकाहरू आएकाले पनि अस्पतालमा भिडभाड बढेको उनले बताए । ‘दसैँ सकिएलगत्तै अस्पतालमा भिड बढेको छ,’ अधिकारीले भने, ‘डेंगु नियन्त्रण नभएकाले पनि ज्वरोका बिरामीको संख्या बढेको छ ।’

उनका अनुसार बुधबार एक हजार पाँच सय बिरामीले त्रिवि शिक्षण अस्पतालबाट ओपिडी सेवा लिएका छन् । यसबाहेक दुई सय ५२ इमर्जेन्सीमा भर्ना भएका छन् । तीमध्ये अधिकांश डेंगु रोगसँग मिल्दाजुल्दा लक्षण देखिएका बिरामी भएकाले उनीहरूलाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । 

वीर अस्पतालमा पनि बिरामीको भिडभाड हुन थालेको छ । दसैँको वेला अत्यावश्यकबाहेक अन्य उपचार सेवा ठप्प भएकाले दसैँ सकिएपछि बिरामीको चाप बढेको अस्पतालले जनाएको छ । बुधबार एक हजार दुई सय बिरामीले ओपिडी सेवा लिएका छन् । त्यस्तै, डेढ सयले इमर्जेन्सी सेवा लिएका छन् । यहाँ पनि उपचारका लागि आउनेमध्ये अधिकांश डेंगुका लक्षण देखिएका बिरामी छन् । अस्पतालका मेडिकल स्टोर इन्चार्ज टीकाराम पनेरूका अनुसार बुधबार मात्रै २२ जना डेंगुका बिरामी भर्ना भएका छन् । 

बानेश्वरस्थित सिभिल अस्पतालमा पनि बुधबार सात सय बिरामीले ओपिडी सेवा लिए । दसैँ सकिएलगत्तै अस्पताल आउनेको भिडभाड बढेको अस्पतालका कार्यकारी निर्देशक विधाननिधि पौडेलले बताए । उनका अनुसार दसैँको वेलामा उपचार सेवा लिन नपाएकाहरू आउने क्रम बढेकाले पनि अस्पतालमा बिरामीको एकैपटक भिड लागेको हो । हाल यहाँ २३ जना डेंगुका विरामी भर्ना भएर उपचाररत छन् । ‘दसैँ बिदाका कारण कतिपय बिरामी अस्पताल आउन पाउनुभएन । दसैँ सकिएलगत्तै उहाँहरू अस्पताल आउनुभएको छ,’ उनले भने, ‘यसबाहेक डेंगुका लक्षण भएका बिरामी र श्वासप्रश्वासका बिरामीको संख्या पनि बढेको छ ।’

पाटन अस्पतालमा बिरामीको संख्या अप्रत्याशित
पाँच सय बेड क्षमता भएको पाटन अस्पतालका सबै बेड भरिएका छन् । बुधबार मात्रै एक हजार ५५० बिरामीले ओपिडी तथा इमर्जेन्सी सेवा लिएका छन् । भर्ना भइरहेका तथा विभिन्न बेडमा उपचाररत बिरामीको संख्या पाँच सय छ । अस्पताल स्रोतका अनुसार यसपटक दसैँपछि बिरामीको संख्या अप्रत्याशित बढेको छ । अझ डेंगुका बिरामीको चाप धेरै छ । डेंगुका ३८ बिरामी भर्ना भएका छन् । अस्पतालका निर्देशक डा. रवि शाक्यले डेंगुका बिरामीको संख्या बढेको बताए । उनका अनुसार दैनिक दुई सय डेंगुका बिरामी अस्पताल आउने गरेका छन् ।

पाटनमा न्युरो सर्जरी र मुटुसम्बन्धी उपचार ठप्प
पाटन अस्पतालमा अप्रेसन र एमआरआईको पालो कुर्ने बिरामी संख्या पनि धेरै छ । हाल पाटनमा न्युरो सर्जरीका बिरामीले उपचार सेवा पाउँदैनन् । मुटुसम्बन्धी उपचार सेवा पनि अहिले बन्द छ । मुटुसम्बन्धी समस्या लिएर आएका बिरामीलाई गंगालाल अस्पतालमा पठाउने गरिएको छ । त्यस्तै, दिनमा दुईजनाको मात्रै एमआरआई गरिन्छ । अप्रेसन र एमआरआईका बिरामीले महिनौँ कुर्नुपर्ने बाध्यता रहेको अस्पतालका एक चिकित्सकले बताए । ‘अस्पताल प्रशासनको लापरबाहीले न्युरो सर्जरी र मुटुसम्बन्धी उपचार सेवा बिरामीले पाउँदैनन्,’ ती चिकित्सकले भने, ‘एमआरआई सेवा लिन पनि महिनौँ कुर्नपर्ने बाध्यता छ, यही सेवा निजी अस्पताले एकदिनमै दिन सक्छन्, तर यहाँ महिनौँ कुर्नुपर्ने अवस्था छ ।’ अस्पतालका निर्देशक शाक्यले भने दैनिक १० जनासम्मलाई एमआरआई सेवा दिँदै आइरहेको दाबी गरे ।