१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असोज २५ मंगलबार १६:४३:००
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कर्णालीवासीका दुःख : पहिरो पन्छाउँदै जोखिम यात्रा (फोटोफिचर)

Read Time : > 1 मिनेट
२०७९ असोज २५ मंगलबार १६:४३:००

दसैँ सुरु भएसँगै कर्णाली प्रदेशमा भारी वर्षा भयो। वर्षाले दसैँ त राम्रोसँग मनाउन दिएन नै, दसैँ सकेर कर्मथलो फर्कनेहरूका लागि जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था कायमै छ। 

कर्णाली राजमार्गअन्तर्गत दरबारे भिरमा सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध छ। अहिले दैलेख सदरमुकाम दैलेख बजार हुँदै मध्यपहाडी सडकमार्फत कर्णाली प्रदेशको राजधानी सुर्खेत झर्नुपर्ने बाध्यता छ। एउटा मात्र विकल्पका रूपमा रहेको दैलेख–सुर्खेत सडकखण्डमा पनि ५० भन्दा बढी स्थानमा पहिरो झरेको छ।

दसैँ सकिएसँगै कर्मथलो फर्कने कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला, कालीकोट र दैलेखका यात्रुलाई सहजै गन्तव्यमा पुर्‍याउनका लागि दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालयका प्रमुखसहितको टोली सडकमा खसेको पहिरो खुलाउन व्यस्त छ।

सोमबार दैलेख–सुर्खेत खण्डको डुगेश्वर बजारनजिक ठूलो पहिरोसँगै सडक भासियो । पहिरो पन्छाउँदै सडक सञ्चालन गर्न सुरक्षा निकायको टोली, सडक विभाग र स्थानीय पालिकाको डोजर प्रयोग गरेर २० स्थानमा झरेको पहिरो हटाएपछि सोमबार बिहानैदेखि अवरुद्ध सडक साँझबाट सञ्चालनमा आएको थियो।

दैलेख खण्डको चुप्रा बजार, माथिल्लो डुगेश्वर खण्ड, जिरो प्वाइन्ट, घोडावास खण्डलगायत २० भन्दा बढी स्थानमा पहिरो गएको छ। अहिले पहिरो पन्छाउने र सडक सञ्चालन गर्ने काम तीव्र पारिएको छ। सडक भासिएका स्थानमा नालीमा ढुंगा बिच्छ्याउँदै वैकल्पिक मार्ग निर्माण गरिएको भए पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता कायमै छ।

कर्णाली राजमार्ग र दैलेख–सुर्खेत सडकखण्डका कतिपय स्थानमा सडक भासिएका छन् भने कतिपय स्थानमा ठूलाठूला पहिरो झरेका छन्। सडक पुनर्निर्माण गर्न प्रदेश र संघ सरकारले करोडौँ रकम तत्कालै विनियोजन गर्नुपर्ने आवश्यकता देखिएको छ।