मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मलेसियाको क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा यू–१७ राष्ट्रिय टोलीका खेलाडी र अफिसियल ।
रमेश सुवेदी काठमाडाैं
२०७९ असोज २५ मंगलबार ०७:२०:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फाको लापरबाहीले २५ घन्टा ट्रान्जिटमा खेलाडी

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
२०७९ असोज २५ मंगलबार ०७:२०:००

अखिल नेपाल फुटबल संघ (एन्फा)को लापरबाहीका कारण नेपाली यू–१७ राष्ट्रिय टोलीका खेलाडी र अफिसियल मलेसियाको क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा २५ घन्टा ट्रान्जिटमा बस्न बाध्य भएका छन् । एन्फाले हिमालयन एयरलाइन्सको एयर बस ३२० भियतनाम जाने र आउने व्यवस्था मिलाएको थियो ।

नेपाली युवा टोली भियतनाममा भएको एएफसी यू–१७ एसियन कप छनोट खेलेर नेपाल फर्केको हो । आइतबार चाइनिज ताइपेईविरुद्धको अन्तिम खेललगत्तै खेलाडी आराम नै नगरी सीधै सोमबार दिउँसो भियतनामबाट काठमाडौंतर्फ उडे । तर, ३१ सदस्यीय नेपाली टोलीले काठमाडौंसम्म पुग्न केल अन्तर्राष्ट्रिय विमानस्थलमा २५ घन्टाको ट्रान्जिट समय बिताउनुपरेको अवस्था छ । यसअघि भियतनाम जाँदा पनि नेपाली टोली केल अन्तर्राष्ट्रिय विमानस्थलमा १४ घन्टाको ट्रान्जिटमा परेको थियो । 

विमानस्थलमा खेलाडीहरू सामान्य स्टिलको सिट र रातो कार्पेटमा आराम गरिरहेका देखिन्छन् । खेलाडी तथा अफिसियलले त्यही रातो कार्पेटमै २५ घन्टा बिताउनेछन् । नेपाली टोलीका एक सदस्यले नयाँ पत्रिकालाई उपलब्ध गराएको तस्बिरमा सबैजसो खेलाडी कार्पेटमै सुतिरहेका देखिन्छन् । चिसोबाट बच्न खेलाडीसँग ओढ्ने कपडा छैन । उनीहरूले आफ्नो सामान्य ह्यान्डब्यागलाई नै सिरानी बनाएका छन् । चिसो भुइँमा पल्टिरहेका खेलाडी तथा अफिसियललाई एयरलाइन्सले एकपटक खाना खुवाएको छ । नेपाली टोलीको अवस्था देखेर एयरलाइन्सका अधिकारीले सामान्य म्याटको व्यवस्था गरेको छ । 

 सकसपूर्ण ट्रान्जिट
ट्रान्जिटमा रहेका खेलाडीले सकसपूर्ण ट्रान्जिट भएको प्रतिक्रिया दिएका छन् । ‘हामी भियतनामबाट चार घन्टाको हवाई यात्रापछि मलेसिया पुग्यौँ, तर यहाँ २५ घन्टा केएल विमानस्थलमै ट्रान्जिट बिताउनुपर्दा अचम्मित भएका छौँ,’ टोलीका एक सदस्यले नयाँ पत्रिकासँग भने, ‘हामी सबै चिसो भुइँमा बसेका छौँ ।’ नेपालको प्रतिनिधित्व गरी राष्ट्रको झन्डा अंकित ट्र्याकसुटमा सिट र भुइँमा लहरै बस्नुपर्दा लाजमर्दो भएको ती खेलाडीले बताए । ‘यहाँको वातावरण लाजमर्दाे छ,’ उनले भने, ‘अहिलेसम्म यति लामो ट्रान्जिट बस्नुपरेको थिएन ।’

एन्फाले यू–१७ एसिया कप छनोटमा सहभागिता हुन किनेको टिकट रद्द भएको थियो । समयमै भियतनाम पुग्न तत्कालै एन्फाले हिमालयन एयरलाइन्सको एयर बस ३२० को टिकट व्यवस्थापन गर्‍यो । भियतनाम जाँदा १४ घन्टा र फर्कँदा २५ घन्टाको ट्रान्जिट समयबारे एन्फाले हेक्का नै राखेन । 

 एन्फालाई नै थाहा छैन ट्रान्जिटको समय
यद्यपि, भियतनाम जाने र आउने सबै व्यवस्था एन्फाले नै मिलाएको हो । भियतनाम जाँदा र फर्कंदा क्वालालम्पुर विमानस्थलमा नेपाली टोली कति समयसम्म ट्रान्जिटमा रहने एन्फाका अधिकारीलाई कुनै जानकारी रहेनछ । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले नेपाली टोली २५ घन्टाको ट्रान्जिट रहेको थाहा पाउँदा अन्योलमै परे । ‘हो र ? खेलाडी र अफिसियल केल विमानस्थलमा २५ घन्टाको ट्रान्जिटमा बसेका छन् ?,’ प्रतिप्रश्न गर्दै अध्यक्ष नेम्वाङले भने, ‘यस्तो हुनुनपर्ने थियो ।’ टिकट अभावका कारण भियतनाम जाँदा १४ घन्टाको ट्रान्जिटबारे आफूलाई जानकारी भएको उनले बताए । एन्फा अध्यक्ष नेम्वाङले टिकट रद्द भएकाले यस्तो घटना भएको उनको भनाइ छ । ‘हामीले सुरुमै टिकट पाएनौँ, टेन्डरबाट टिकट आह्वान गरेका थियौँ,’ उनले टिकट व्यवस्थापनबारे बताए, ‘मैले बुझेसम्म टिकटको समस्या हो, फ्लाइट रद्द भएपछि अर्काे बुक गरिएको थियो ।’ 

 नेपाली खेलाडी भुइँमा, ताइपेईका खेलाडी होटेलमा
एन्फाको कमजोर व्यवस्थापन यो पहिलोपटक होइन । खेलाडीले सुरुमा भियतनाम जाँदा १४ घन्टाको ट्रान्जिट सामना गरेका थिए । त्यसवेला पनि नेपाली खेलाडीले चिसो भुइँमै रात कटाएका थिए । एकातिर नेपाली खेलाडी विमानस्थलभित्र कठ्यांग्रिँदो चिसोमा सुतिरहेका थिए । त्यही समय नै १४ घन्टाकै ट्रान्जिटमा परेको चाइनिज ताइपेईका खेलाडी भने होटेलमा सुतेका थिए । ‘भियतनाम पुग्दासमेत हामी १४ घन्टाको ट्रान्जिटमा परेका थियौँ । हामी भुइँमा सुतिरहँदा मध्यरातमा मलेसिया आइपुगेकाताइपेईका खेलाडी होटेल पुगेका थिए,’ एक खेलाडीले भने, ‘एन्फाको खराब व्यवस्थापनका कारण हामी भुइँमै सुत्न बाध्य छौंँ ।’ 

नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले एन्फाकै लज्जास्पद व्यवस्थापनका कारण टोलीको तयारीसमेत राम्रो हुन नसकेको पुनः एकपटक बताएका छन् । खुला छनोटबाट श्रेष्ठले यू–१५ साफ च्याम्पियनसिपमा खेलाडी तयार पारेका थिए । खेलाडी छनोटमै व्यस्त भएका श्रेष्ठले साफमा समेत दुई हप्ताको तयारीपछि मैदान उत्रिएका थिए । श्रीलंकाबाट साफ च्याम्पियनसिपको उपविजेता भएर नेपाल फर्किएसँगै दुई हप्ताको अभ्याससमेत नगरी नेपाली टोली भियतनाम पुगेको थियो । मैदान अभावका कारण नेपाली टोलीले अभ्याससमेत राम्रोसँग गर्न नपाएको श्रेष्ठको गुनासो छ । छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ३–० ले पराजित भयो । दोस्रो खेलमा नेपाल आयोजक भियतनामसँग ५–० र चाइनिज ताइपेईसँग ४–२ अन्तरले पराजित भएको थियो ।