नेकपा माओवादी केन्द्रले नेता लेखनाथ न्यौपानेलाई टिकट नदिएपछि पार्टीभित्र र बाहिर व्यापक आलोचना सुरु भएको छ।
उनले पार्टीभित्र व्यक्तिवादी प्रवृति हाबी भएको आरोप लगाएका छन्। नेता न्यौपानेले पार्टीमा आफ्ना आसेपासे र आफ्नाहरुलाई टिकट दिन भएको चलखेलले आफू र आफूजस्ता नेताले टिकट नपाउने कुरा पहिल्यै थाहा भएको बताएका छन्।
पार्टी र नेतृत्वको कार्यशैलीप्रति खरो आलोचना गर्ने न्यौपानेले टिकट नपाउनुलाई माओवादी केन्द्रभित्र हाबी भएको निषेधको नीतिका रुपमा हेरिएको छ। उनले साेमबार बेलुका सामाजिक सञ्जालमा यसबारे लामो असन्तुष्टि पोखेका छन्।
उनले भनेका छन्, 'टिकट माग्न म कुनै नेताकोमा नजाने, दबाब एवं वातावरण निर्माणका लागि कसैलाई परिचालन गर्न हुँदैन भन्ने र टिकटका लागि मरिहत्ते नगर्ने एकातिर भने अर्कोतिर यो यो आधारमा तलाई टिकट दिंने निर्णय गरियो भनेर पार्टीले कहिल्यै नभन्ने मात्र होइन, निर्णय गर्ने ठाउँमा बसेकाहरु आफ्नो र आफ्नाहरुबारे बढी नै चलखेल गर्ने परिपार्टीमा मैले टिकट पाउन्न भन्नेमा ढुक्क थिएँ र भयो पनि त्यस्तै।'
उनले आफू टिकट चाहियो भनेर कुनै नेतालाई नभनेको बताएका छन्। ‘म चुनाव नलडी छोड्दिन, मलाई जसरी नि टिकट चाहिन्छ’ भनेर मैले कहिल्यै, कसैसँग भनिन र भन्ने छैन । टिकट नदिए पार्टी छाड्छु वा स्वतन्त्र उम्मेदवार उठ्छु भनेर कहिल्यै भनिन् र भन्ने छैन । टिकट लिनु र चुनाव लड्नु नै सबै र मुख्य कुरा होइन।
उनले पार्टी अध्यक्ष प्रचण्डले चुनाव क्षेत्र फेर्ने कुरामा पार्टीको कुनै संरचनाले संस्थागत छलफलको वातावरण बनाउन नसकेको आरोप लगाएका छन्। उनले लेखेका छन्, 'पार्टी संस्थागत रुपमा चलेको छैन, कसैले जित्नको लागि क्षेत्र बदल्दा, त्यस क्षेत्रका अरु सहयोद्धाहरुकोबारे के गर्ने ? भन्ने विषयमा छलफल नहुनु वा पार्टी बाहिरका मान्छेहरुसँग मिलाइएको चोचोमोचोलाई रंग भरीभरी क्रान्तिको कार्यदिशा भनेर प्रचार गर्नु पार्टीमा व्यक्तिवादी प्रवृति पुरै हाबी छ भन्ने विषय बुझ्न सकिन्छ।'
उनले पार्टी विधानअनुसार चल्दा, पार्टीभित्र संस्थागत निर्णय हुँदा र संस्थागत निर्णयको आधारमा कार्यविभाजन हुँदा पार्टीभित्र गुनासो, विभेद वा अन्यायमा परेको अनुभूति कसैले नगर्ने तर, पार्टीमा त्इसो हुन नसकेकोप्रति असन्तुष्टि पोखेका छन्।
उनले भनेका छन्, 'सामूहिक स्वार्थका लागि काम गर्ने हो भने यसमा व्यक्तिगत दौडधुप, रस्साकस्सी र रुवाबासी किन गर्ने ? तर सामूहिक कामका लागि जनता र कार्यकर्ताले निर्वाचित गर्ने अनि निर्वाचित सांसद वा मन्त्री वा लाभको पदमा जाने जो कोही पनि भ्रष्टाचारमा पुरै डुब्ने ? आन्दोलनको बलमा प्राप्त जिम्मा आफ्नै पैत्रिक सम्पत्ति वा निजी क्षमताको प्रतिफल ठान्ने ठालुहरु जसले पार्टीको बदनाम गरिरहेका छन्।'
नेता न्यौपानेले वैचारिक र सैद्धान्तिक बहस, संगठनात्मक विधि र पद्धति तथा पार्टीभित्रको सामन्ती संस्कृति, भ्रष्टाचार र आफन्तहरुका बारेमा मात्र सोच्ने तरिकाविरुद्ध पार्टीभित्र र समय अनुसार बाहिर पनि बोल्ने बताएका छन्।
उनले व्यक्तिगत असन्तुष्टि भएपनि आसन्न चुनावमा पार्टीका प्रतिनिधिलाई जिताउन कुनै कसर बाँकी नछोड्ने बताएका छन्। 'मंसिर ४ सम्म पार्टीका प्रतिनिधिहरुलाई जिताउन र समानुपातिक मत प्राप्त गर्ने काममा लागिन्छ । त्यसपछि फेरि वैचारिकरसैद्धान्तिकरसांस्कृतिक विषयको बहसमा मुटु छेड्नेगरी क्रियशील हुने हो', उनले लेखेका छन्।