कांग्रेसका केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नम्बर २ का उम्मेदवार अर्जुननरसिंह केसीले यो निर्वाचन आफ्ना लागि अन्तिम भएको बताएका छन्।
नेपाल प्रेस युनियनले आज विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी कुनै पनि निर्वाचनमा आफू उम्मेदवार नहुने बताएका हुन्।
‘यो मेरो अन्तिम निर्वाचन हो। फेरि म लड्न पनि सक्तिनँ होला। योभन्दा अघिल्लो निर्वाचनमा अन्तिम भनेको रहेछ भने त्यो होइन, योचाहीँ अन्तिम हो,’ उम्मेदवार केसीले भने।
उनले पार्टीलाई लोकतान्त्रिक विधि तथा प्रक्रियामा अघि बढाउन र युवाको नेतृत्व पार्टीभित्र र बाहिर सुरक्षित गराउन निर्वाचनमा होमिएको बताए।
संसदमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा बोल्न सक्ने, जनताको समस्यालाई संसदमा प्रभावकारी रूपमा लैजान सक्ने आफू मात्र भएको नेता केसीको दाबी थियो।