मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नतासा लेनार्ड
२०७९ असोज २४ सोमबार ०९:३७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

इटालीमा फासीवादी महिला प्रधानमन्त्रीको उदय

एक फासीवादी नेतृले समाजको कठोर वर्ग संरचना कायम राखिराख्छिन् र श्रमिक वर्गका महिलाको वर्ग उत्थान गर्न सक्दिनन्

Read Time : > 2 मिनेट
नतासा लेनार्ड
२०७९ असोज २४ सोमबार ०९:३७:००

यस महिनाको सुरुवातमा हिलारी क्लिन्टनले इटालीकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा निर्वाचित हुन गइरहेकी जर्जिया मेलोनीको चुनावबारे लज्जास्पद टिप्पणी गरेकी छिन् । अमेरिकी पूर्वविदेशमन्त्री क्लिन्टनले ‘पहिलो महिला प्रधानमन्त्रीको निर्वाचनले मुलुकलाई विगतबाट विच्छेद गराई नयाँ दिशातर्फ लग्ने र यसो हुनु निःसन्देह राम्रो संकेत हो’ भनेकी थिइन् । इटालीमा बेनिट्टो मुसोलिनीको अधिनायकवादी शासनकालदेखिकै उग्रदक्षिणपन्थी पहिचान बनाएको फासीवादी पार्टी ब्रदर्स अफ इटालीकी नेतृ मेलोनीलाई इंगित गर्दै दिइएको यो अभिव्यक्तिपश्चात् क्लिन्टनले कडा आलोचना व्यहोरेकी छिन् ।

गत आइतबार आमचुनावमा विजयी भएकी मेलोनीले उग्रदक्षिणपन्थी गठबन्धनको नेतृत्व गरेकी छिन् । र, यस गठबन्धनले इटालीको संसद्का दुवै सदनमा भारी बहुमत ल्याएको छ । क्लिन्टनले भनेझैँ महिला नेतृत्व नभएको इटालीको इतिहासमा मेलोनीको छनोटले विच्छेद ल्याए पनि इतिहासकार रुथ बेन–घियात यो विच्छेदलाई ‘इटालीको इतिहासकै अँध्यारो कालखण्डकै निरन्तरता’ हो भन्दै द एटलान्टिक (पत्रिका)मा लेखेकी छिन् । यो निरन्तरता यथार्थ हो, किनभने द ब्रदर्स अफ इटालीको जरो इटालीको नवफासीवादी सामाजिक आन्दोलनसँग जोडिएको छ । 

क्लिन्टनले भनेझैँ एक महिलाको नेतृत्वले अन्य महिलाका लागि नेतृत्वको ‘ढोका खोल्छ’ भन्नु हास्यास्पद हो । यो थप हास्यास्पद तब हुन्छ जब नेतृत्वमा जाने भनिएकी महिला एक त्यस्तो फासीवादी हुन्छिन् जो गर्भपतनको अधिकारमा रोक लगाउन, आप्रवासी महिलालाई पूर्ण रूपमा इटालीको राजनीतिमा प्रतिबन्ध लगाउन र रोजगारीमा महिलाका लागि छुट्याइएको आरक्षण हटाउन चाहन्छिन् । इटालीका धेरै मिडियाले मेलोनीको उग्रदक्षिणपन्थी राष्ट्रवादलाई समाचार बनाएर प्रस्तुत गरे पनि कैयौँ अंग्रेजी मिडियाले भने इटालीको पहिलो महिला प्रधानमन्त्री भनेर मात्रै समाचार लेखेका थिए ।

मेलोनी र उनको पार्टीको भडकाउ एवं घृणायुक्त आप्रवासीविरोधी, राष्ट्रवादी, नश्लभेदी र यौनिक एवं लैंगिक अल्पसंख्यकविरोधी मतलाई हेर्दा महिला नेतृको उनको हैसियतलाई बेवास्ता गरिनुपर्छ भन्ने तर्क गलत सुनिँदैन । यद्यपि, स्त्रीत्वलाई बेवास्ता गर्दा उनको राजनीतिक विचारका केही महत्वपूर्ण पक्ष छुट्न जान्छन् । 

मेलोनी श्वेत महिला हुनु उनको पहिचान फासीवादसँग बाझिने विषय भने होइन । सामान्यतया, श्वेत महिला ऐतिहासिक रूपमा श्वेत सर्वोच्चताका सक्रिय प्रवर्तक रहेका छन् र यो प्रवृत्तिले विशेषतः नश्लभेदी र गर्भपतनविरोधी मतलाई प्रोत्साहन गरिरहेको देखिन्छ ।इटालीमा यसअघि कहिल्यै महिला प्रधानमन्त्री नभएको सत्य हो, तर विश्वभरिका कैयौँ प्रतिक्रियावादी शक्ति समूहका प्रमुख पदमा श्वेत महिला हुनु अस्वाभाविक भने होइन ।

सन् १९७० को दशकमा गर्भपतन र समान अधिकारविरोधी आन्दोलनकी पुरातनपन्थी नेतृ फिलिस स्लाफ्लीलाई नै लिऊँ, उनले परम्परागत पत्नीको रूपमा भूमिका निर्वाह गरिन् र अन्य महिलालाई घरको चौघेरा ननाघ्न प्रोत्साहित गरिन् । यी तथ्यका बाबजुद पनि स्लाफ्लीका राजनीतिक लक्ष्यलाई कुनै क्षति भएन अर्थात् उनी एक शक्तिशाली पुरातनपन्थी कार्यकर्ता थिइन् । र, यही तथ्य मेलोनीमा पनि लागू हुन्छ । एक फासीवादी नेतृले समाजको कठोर वर्ग संरचना कायम राखिराख्छ र श्रमिक वर्गका महिलाको वर्ग उत्थान गर्न सक्दैन । स्त्रीत्व र प्रजनन अधिकारमा पहरेदारी गर्न मेलोनीझैँ अमेरिकी कांग्रेसमा रहेका लरेन बोएबर्ट, मार्जोरी टेलर ग्रिनजस्ता उग्रदक्षिणपन्थीले आपूm आमा र महिला भएको दलील पेस गर्छन् ।

मेलोनीले इटालियन (श्वेत) महिलाको सुरक्षा गर्ने भन्दै विषालु आप्रवासीविरोधी मनोवृत्तिको औचित्य पुष्टि गर्न आप्रवासीले यौन हिंसा ‘आयात’ गर्छन् भन्ने भाष्य फैलाएकी छिन् । श्वेत सर्वोच्चतालाई समर्थन गर्ने उनको पार्टीको स्पष्ट गर्भपतनविरोधी नीतिले मूल इटालियनको न्यून जन्मदरलाई बढाई ‘जातीय प्रतिस्थापन’ गर्ने लक्ष्य राखेको छ र यस्तै उद्देश्यलाई अमेरिकामा ‘महान् प्रतिस्थापन’ भन्ने गरिन्छ । मेलोनीको उग्रदक्षिणपन्थी गठबन्धनले थप कठोर गर्भपतनका नियम देशभरि लागू गर्ने अनुमान गरिएको छ । इटालीमा सन् १९७८ देखि गर्भपतनको अनुमति दिइएको भए पनि धेरै क्षेत्र विशेषतः ब्रदर्स अफ इटालीले शासन गरिरहेको क्षेत्रमा पहिलेदेखि नै गर्भपतनको सेवामा पहुँच पाउन गाह्रो थियो ।

यसैबीच नाजी राज्यको झल्को दिनेगरी मेलोनीको सामाजिक सहायता नीति मुख्यतया इटालियन परिवारलक्षित छन् र आप्रवासी तथा लैंगिक एवं यौनिक अल्पसंख्यकलाई जानाजान छुटाइएको छ । यस अर्थमा बेन–घियातको भाषामा भन्ने हो भने मेलोनीमा मुसोलिनीको शुद्ध नश्लको ‘सन्तान उत्पादन’को उत्कट चाहना देख्न सकिन्छ । मेलोनीले इटालीको लैंगिक एवं यौनिक अल्पसंख्यक जनसंख्यामाथि आक्रमण गर्नु न त संयोग हो न त अचम्मको विषय हो । इटालीको पहिलो महिला प्रधानमन्त्री अमेरिकाका रिपब्लिकन पुरातनपन्थीझैँ लैंगिक भूमिकाको कडा पक्षपोषक हुन् । ब्रदर्स अफ इटालीलगायत अन्य दक्षिणपन्थी पार्टीले गत वर्ष यौनिक एवं लैंगिक अल्पसंख्यकविरुद्ध हुने हिंसालाई हिंसा भड्काउने अपराध करार गरिनुपर्छ भनेर ल्याइएको विधेयकका विपक्षमा मतदान गरेका थिए ।

मेलोनीले ‘लैंगिक विचारधारा’को निरन्तर आलोचना गरिरहेकी छिन् । स्मरण रहोस्, लैंगिक विचारधारा लैंगिक एवं अल्पसंख्यकद्वेषीले यौनिकता एवं लैंगिकताको भिन्नतालाई अस्वीकार गर्दै हियाएर प्रयोग गरिने शब्दावली हो । यही गर्मीयाममा मेलोनी ‘प्राकृतिक’ परिवारलाई स्वीकार र यौनिक एवं लैंगिक अल्पसंख्यकलाई अस्वीकार’ भन्ने वक्तव्य दिएकी थिइन् । त्यतिमात्र नभई उनले यौनिक पहिचानलाई मात्र स्विकार्ने र लैंगिक पहिचानलाई अस्वीकार गर्ने पनि भनेकी थिइन् । उनी उल्लिखित स्वीकार्यतालाई संस्कृति मान्छिन् र अस्वीकार्यतालाई अवसानको गर्त मान्छिन् । लैंगिक विविधतामाथि आक्रमण गर्नु फासीवादको मूल मर्म हो । र, यही आक्रमण ब्रदर्स अफ इटालीकी नेतृले गरिरहेकी छिन्, यसलाई फासीवाद किन नमान्ने ?
(लेनार्ड पत्रकार एवं स्तम्भकार हुन्, उनी न्यु स्कुल फर सोसल रिसर्चमा अध्यापन गर्छिन्) – द इन्टर्सेप्टबाट