मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असोज २० बिहीबार ०६:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

‘क्लिक केमेस्ट्री’ मा योगदान गर्ने तीन रसायनशास्त्रीले पाए नोबेल पुरस्कार

Read Time : < 1 मिनेट
२०७९ असोज २० बिहीबार ०६:४६:००

संयुक्त राज्य अमेरिकाका दुई र डेनमार्कका एक रसायनशास्त्रीले ‘क्लिक केमेस्ट्री’का लागि गरेको योगदानका लागि यस वर्षको नोबेल पुरस्कार प्राप्त गरेका छन्। 

अमेरिकी क्यारोलिन बर्टोजी र ब्यारी सार्पलेस तथा डेनमार्कका मोर्टेन मेल्डललाई ‘क्लिक केमेस्ट्री र बायोओर्थोगोनल केमेस्ट्री’को विकासका लागि सम्मान गरिएको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार समितिले बुधबार जनाएको छ।

यस वर्ष हालसम्म नोबेल पुरस्कार विजेता सात वैज्ञानिकमध्ये बर्तोजी एक मात्र महिला वैज्ञानिक हुन्। 

पुरस्कारको इतिहासमा विशेषगरी विज्ञान विषयहरूमा महिलाको प्रतिनिधित्व निकै कम हुने गर्छ। 

तीनजना विजेताले एक करोड स्विडिस क्रोना अर्थात् आठ लाख पाउन्डबराबरको पुरस्कार रकम बाँडेर लिनेछन्।

गत वर्षको पुरस्कार दुईजना रसायनशास्त्रीले संयुक्त रूपमा प्राप्त गरेका थिए।

सन् २००१ मा रसायनशास्त्रमा नोबेल पुरस्कार जितेका ८१ वर्षीय सार्पलेसका लागि यो दोस्रो नोबेल पुरस्कार हो। 

सन् १९०३ मा पहिलोपटक भौतिकशास्त्रको पुरस्कार जितेपछि सन् १९११ मा रसायनशास्त्रको पुरस्कार जितेकी पोल्यान्डमा जन्मिएकी फ्रान्सेली महिला मेरी क्युरीसहित अन्य चारजनाले मात्र दुईपटक नोबेल पुरस्कार जितेका छन्।

उनीपछि सन् १९५४ मा रसायनशास्त्र र सन् १९६२ मा शान्तिका लागि अमेरिकी लिनस पाउलिङले अवार्ड जितेका थिए।

अमेरिकाका जोन बर्डिनले सन् १९५६ र १९७२ मा भौतिकशास्त्रको पुरस्कार जितेका थिए भने बेलायतका फ्रेडरिक सेंगरले सन् १९५८ र १९८० मा रसायनशास्त्रको पुरस्कार जितेका थिए।