मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १७ सोमबार १२:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डा. भट्टराई चुनावी दौडबाट बाहिरिए, चुनाव नलड्ने घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १७ सोमबार १२:४२:००

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभामा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई सम्बोधन गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले आगामी निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।

०६४, ०७० र ०७४ को निर्वाचनमा विजयी गराएका गोरखाली जनतालाई धन्यवाद दिँदै डा. भट्टराईले यसपटक निर्वाचनमा उम्मेदवार नबन्ने बताएका हुन् । उनले चुनाव नलड्नु भनेको राजनीति छाड्नु नभएको उल्लेख गर्दै आजीवन राजनीतिमै रहेर जनताको सेवा गर्ने बताएका छन् ।

आफ्नो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका र केही सुरु भएका आयोजना पूरा हुन बाँकी रहेका उनले बताए । 

बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहने भट्टराईको प्रतिबद्धता छ ।

०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउने–जाने र जनताको घरदैलोमा पुग्ने काम गरिराख्दा धेरै सिक्ने अवसर पाएको उनले बताए । आगामी दिनमा पनि निरन्तर सेवामा रहिरहने उनको भनाइ छ । 

 भट्टराईले लेखेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हाेइन । कतिपय मानिसले जानेर वा नजानेर त्यस्तो सोच्न र भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हाेइन ।’ 

उनले अगाडि लेखेका छन्, ‘म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु । पार्टीको काम र जनसेवामा म निरन्तर खटिइरहनेछु । म सबै गोरखाली दिदीबहिनी तथा दाज्युभाइलाई विश्वास दिलाउन चाहन्छु– मेरो ठाउँकमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीव्रता पाउनेछ ।’