मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रोहितराज पराजुली
२०७५ चैत १२ मंगलबार १९:१०:००
Read Time : < 1 मिनेट
समाचार

गण्डकी प्रदेश सभा लेखा समितिले दोहोरो इन्धनबारे छानविन गर्न समिति

Read Time : < 1 मिनेट
रोहितराज पराजुली
२०७५ चैत १२ मंगलबार १९:१०:००

गण्डकी प्रदेश सभाअन्तर्गतको सार्वजनिक लेखा समितिद्वारा मन्त्रीहरुले लिएको दोहोरो इन्धन सुविधाबारे छानविन गरी सुझाव दिन समिति गठन गरेको छ । 
समितिका सभापती कुमार खड्काको अध्यक्षतामा मंगलबार बसेको बैठकले नेकपाका सांसद रामजी बराल संयोजक, कांग्रेसका मेखलाल श्रेष्ठ र नेकपाकी प्रभा कोइराला सदस्य रहेको समिति गठन गरेको हो ।  

मन्त्रालयहरुबाट आएको कागज पत्र र थप अध्ययन गरी सुझाव पेश गर्न समितिलाई १५ दिनको समय दिइएको छ । प्रदेश सरकारले निर्धारण गरेको सुविधाबाहेक मन्त्रालयबाट तेल लिएको देखिएपछि छानविन हुने भएकाे हो । मुख्यमन्त्रीले मासिक २ सय ५०, मन्त्री १ सय ५०, राज्यमन्त्री र सहायक मन्त्रीले १ सय २५ लिटर इन्धन पाउने प्रदेश सरकारले निर्णय गरेको छ । 

मन्त्रीहरुले तेल सुविधा बापतको नगद लिई मन्त्रालयबाट तेल हाल्ने गरेको पाइएपछि छानविन गर्न समिति गठन गरिएको हो । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म सुविधाबाहेक मन्त्रालयबाट पाँच हजार दुई सय ६८ लिटर तेल लिएको देखिन्छ । पाँच जना मन्त्रीले इन्धनमा दोहोरो सुविधा लिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले दुई हजार ४८ लिटर, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले एक हजार तीन सय ५१ लिटर, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले सात सय १ लिटर तेल मन्त्रालयवाट राखेका छन् । 

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमाले पाँच सय ५ लिटर र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पाँच सय ३० लिटर तेल लिएको मन्त्रालयले समितिलाई पठाएको पत्रमा उल्लेख छ ।