मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १२ बुधबार २०:१६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

'नेपालले सन्तुलित कूटनीतिक अभ्यासमा जोड दिनुपर्छ'   

नेपालको छिमेक सम्बन्धबारे दुई पुस्तक सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १२ बुधबार २०:१६:००

नेपालको छिमेकी भारत र चीनसँग सम्बन्धबारे अनुसन्धानमा आधारित दुई पुस्तक बुधबार सार्वजनिक भएका छन्। 

सामाजिक समावेशीकरण तथा संघीयता केन्द्र (सेसिफ)द्वारा आयोजित ‘नेपालमा भूराजनीति र विदेशी संलग्नता’ विषयक सेमिनारमा पुस्तक सार्वजनिक गरिएको हो। 

‘समसामयिक सन्दर्भमा नेपाल–भारत सीमापार सम्बन्ध’ र ‘नेपालमा विदेशी संलग्नता र नेपाल–चीन सीमापार सम्बन्ध’ विषयक पुस्तक विमोचन भएको हो। पूर्वराजदूत तथा त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक रहेका डा विजयकान्त कर्ण र सेसिफका अनुसन्धाता अर्पण गेलालले दुवै पुस्तक सम्पादन गरेका हुन्। 

नेपालमा विश्वव्यापी शक्तिहरूको बढ्दो भूराजनीतिक प्रतिस्पर्धाका सम्भावना र चुनौतीहरूबारे छलफल गर्न आयोजित कार्यक्रममा पुस्तक बिमोचन गरिएको आयोजकले जनाएको छ। 

त्यसपछि आयोजित कार्यक्रममा सरोकारवालाहरूले नेपालले सन्तुलित कूटनीतिक अभ्यास गर्नुपर्नेमा जोड दिएका छन्। 

‘नेपालमा भूराजनीति र विदेशी संलग्नता’ विषयमा आयोजित पहिलो सत्रमा काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार डा अच्युत वाग्ले, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्ले, पत्रकार अजयभद्र खनाल र अनुसन्धाता अपेक्षा शाहले धारणा राखेका थिए।

छलफलमा क्षेत्रीय छिमेकीसँगको द्विपक्षीय व्यापार सम्बन्ध, नेपालको आन्तरिक तथा बाह्य सम्बन्धमा भूराजनीतिक प्रतिस्पर्धाको प्रभाव, भारतको क्षेत्रीय रणनीतिलगायतका विषयमा छलफल भएको थियो। 

योजना आयोगका पूर्वउपाध्यक्ष वाग्लेले भने, ‘हाम्रा नेताहरू दक्ष कर्मचारीतन्त्रका साथ अन्तर्राष्ट्रिय मञ्चमा नेपाली परिप्रेक्ष्यमा तयार भएर प्रस्तुत हुनुपछ। थोरै व्यक्तिको अतिरिक्त क्षमतामा राज्यको शिल्प सफल हुन सक्दैन।’ 

काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार वाग्लेले भारत, चीन र अमेरिकामा मात्रै नेपाल सीमित हुन नहुने बताए। उनले भने, ‘अमेरिका, भारत र चीन मात्र नभएर हामीले क्वाड, युरोपेली र अन्य उदीयमान शक्ति तथा विश्वका अन्य उदीयमान समीकरणहरू बुझ्नुपर्छ र हाम्रा दृष्टिकोण फराकिलो हुनुपर्छ।’ 

सेमिनारको दोस्रो सत्रमा नेपाल चीन सम्बन्धबारे छलफल भएको थियो। भूराजनीतिक घटनाक्रम, चीनको राष्ट्रिय तथा परराष्ट्र नीति, चीनको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ र ग्लोबल सेक्युरिटी इनिसिएटिभ र नेपालमा पूर्वाधारमा लगानीका विषयमा छलफल भएको थियो। 

पूर्वराजदूत डा दिनेश भट्टराई, अन्तर्राष्ट्रिय मामिलाविज्ञ डा निश्चलनाथ पाण्डे, अनुसन्धाता आभास्ना पाण्डे र पत्रकार अनुराग आचार्यले यस विषयमा धारणा राखेका गरेका थिए। डा. पाण्डेले भने, ‘हामी इतिहासकै निर्णायक निर्वाचनतर्फ अग्रसर हुँदा दक्षिण एसियाली क्षेत्रका प्रमुख शक्तिहरूको बक्सिङ रिङ बनेका छौँ। राजनीतिक अस्रिताको उपक्रम निर्वाचनपछि पनि देखिनेछ जसले हाम्रो परराष्ट्र नीतिलाई पनि प्रत्यक्ष रूपमा प्रभाव पार्नेछ।’