मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ असोज १० सोमबार १९:३२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा चाडपर्वलक्षित बजार अनुगमन

Read Time : > 1 मिनेट
२०७९ असोज १० सोमबार १९:३२:००

नेपालीको महान चाड बडादसैँ नजकिँदै गर्दा लमजुङमा बजार अनुगमनलाई तीव्रता दिइएको छ।

दसैँ–तिहारमा हुन सक्ने कृत्रिम अभाव, म्याद गुज्रेका अखाद्य वस्तु र अस्वाभाविक मूल्यवृद्धिलाई नियन्त्रण गर्न घरेलु कार्यालय लमजुङको नेतृत्वमा बजार अनुगमन गरिएको हो।

घरेलु कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापा भन्छिन्, ‘लमजुङका व्यवसायीले बजार अनुगमन समितिको सुझाब नमान्दा उपभोक्ता मारमा परेका छन्।’ 

उनका अनुसार हरेक स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति गठन भए पनि काम गर्न सकिरहेका छैनन्।

घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा सदरमुकाम बेसीँसहर बजारमा आइतबार १४ वटा पसलमा अनगुमन गरिएको थियो । अझै पनि केही होटेल तथा पसल करदाता सेवा कार्यालयमा दर्ता हुन सकेका छैनन् । मिति नाघेका उपभोग्य वस्तु खुलेआम किनबेच भइरहेको छ। 

बेसीँसहरमा गरिएको अनुगमनका क्रममा पापड, सुजी , चाउमिन , चामलको पिठो , ज्वनो , बिस्कुट, सुर्तीलगायतका म्याद सकिएका सामान जफत गरिएको छ। लेबलिङ नभएको खाद्यवस्तुलाई लेबलिङ गर्न निर्देशन दिइएको घरेलु कार्यालयका प्रमुख थापाले बताइन्। 

दोर्दीमा ठुलो परिणाममा सुर्तीजन्य पदार्थ बरामद

दोर्दी गाउँपालिकाको केन्द्र नौथर सेरामा सोमबार बजार अनुगमन भएको छ । अनुगमनका क्रममा ठूलो परिमाणमा सुर्तीजन्य पदार्थ बरामद गरिएको छ। 

खाद्यान्न पसल, होटेल, फेन्सी पसल, टेलरिङ सेन्टर, तरकारी तथा फलफूल पसल, फ्रेस हाउसलगायत १८ वटा पसलमा अनुगमन गरिएको थियो । अनुमतिपत्रबिना नै सुर्तीजन्य पदार्थ बिक्री गर्दै आएका दुईवटा पसलबाट ठूलो परिमाणमा सुर्तीजन्य पदार्थ बरामद गरिएको घरेलु कार्यालयका प्रमुख मिता थापाले बताइन्। 

उनका अनुसार एउटै पसलबाट बिजुली चुरोट १२ बन्डल, खुकुरी चुरोट ८ बन्डल, गोल्डेन झिलिमिली सुर्ती ३१ पोका, सुपर पावर सुर्ती ३ पोका, मेघदुत १ पोका र मेघाश्री ४६ पोका बरामद गरिएको छ। 

यसका साथै म्याद गुज्रेका सामानसमेत बरामद गरिएको छ भने एक केक सप, एक टेलरिङ सेन्टर, एक किराना पसल र एक फ्रेस हाउस बिनादर्ता सञ्चालन गरिरहेको भेटेपछि ती चारैवटा पसल बन्द गरिएका छन्।