मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ असोज १० सोमबार ११:०२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

माओवादी धनकुटामा विद्रोह

पोलिटब्युरो सदस्य, जिल्ला इन्चार्जसहित अधिकांशले छाडे पार्टी

Read Time : < 1 मिनेट
२०७९ असोज १० सोमबार ११:०२:००

माओवादीका पोलिटब्युरो सदस्य हेमराज भण्डारीसहित धनकुटाका थुप्रै माओवादीका नेताहरूले पार्टी छाडेका छन् । आइतबार पत्रकार सम्मेलन गरेर उनीहरूले पार्टीबाट सामूहिक राजीनामा दिएको घोषणा गरे । पोलिटब्युरो सदस्य भण्डारी, प्रदेश कमिटी सहसचिव ऋषिराम ढुंगाना, जिल्ला संयोजक डिल्लीराम राईसहितका नेताले पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् । 

जिल्ला संयोजक राईले पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजकसहित जिल्ला समन्वय समितिका सबैले पदबाट राजीनामा दिएको दाबी गरे । आगामी प्रतिनिधिसभा निर्वाचनमा भण्डारीले उम्मेदवारी नपाउने देखिएपछि उनकै पहलमा नेताहरूले सामूहिक राजीनामा दिएको बताइएको छ ।

भण्डारीलाई माओवादी धनकुटाले प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाबाट उम्मेदवार सिफारिस गरेको थियो । तर, गठबन्धनका क्रममा धनकुटा माओवादीको भागमा नपर्ने सम्भावना देखिएपछि भण्डारीले केही दिनअघि काठमाडौं गएर प्रचण्डलाई भेटेका थिए । धनकुटा इन्चार्जसमेत रहेका भण्डारीले आफूलाई पार्टीको हँसिया–हथौडा चिह्नमा उम्मेदवार बन्न दिन प्रचण्डलाई आग्रह गरेका थिए । भण्डारीले नयाँ पत्रिकासँग भने, ‘सकारात्मक प्रतिक्रिया नआएपछि मैले १५ दिनअगाडि नै अध्यक्षलाई राजीनामा बुझाएको थिएँ ।’

भण्डारीसहितका नेताहरूको उपस्थितिमा शनिबार जिल्ला समन्वय समितिको बैठक बसेको थियो । बैठकले सामूहिक राजीनामा दिएर भण्डारीलाई स्वतन्त्र रूपमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । पत्रकार सम्मेलनमा नेता भण्डारीले राजीनामा दिएर पार्टीको बन्धन तोडेकाले अब जनताको हितका लागि स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरे । 

धनकुटा नगर अध्यक्ष हेमचन्द्र किराँतीले जिल्लाका सातै पालिकाका अध्यक्ष, सचिवसहित जिल्ला समन्वय समितिको संयुक्त बैठकले सामूहिक राजीनामा दिने निर्णय भएको जानकारी दिए । प्रदेश कमिटी सदस्य तिलकप्रसाद राईले पनि पार्टी निर्णयअनुसार नै सामूहिक राजीनामा गरिएको बताए । ‘पार्टीले जहिले पनि हँसिया–हथौडालाई उपेक्षा ग¥यो । त्यसैले गठबन्धनमा कांग्रेसलाई सहयोग गर्न नसकिने निष्कर्षसहित पार्टीबाट सामूहिक राजीनामा दिएका हौँ,’ उनले भने ।