१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असोज ९ आइतबार १२:४४:००
Read Time : > 6 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

दुईवटा फ्लाइट सँगै भए सेवा प्रवाहमा सकस हुन्छ (अर्थवार्ता)

Read Time : > 6 मिनेट
२०७९ असोज ९ आइतबार १२:४४:००

भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए) सञ्चालनमा आएको चार महिना पूरा भइसकेको छ । ३१ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको विमानस्थलमा कुवेतको जजिरा एयरवेजले मात्र एउटा अन्तर्राष्ट्रिय उडान भर्छ । आन्तरिकतर्फ उडान राम्रै भए पनि चौबीसै घन्टा खुला रहने अन्तर्राष्ट्रिय विमानस्थल २१–२२ घन्टा सुनसान रहने गर्छ । एयरपोर्टको टर्मिनल भवन पूर्ण रूपमा उडान सुरु नहुँदै साँघुरो भइसकेको छ । एकै समयमा दुईवटा फ्लाइट भएको खण्डमा यात्रु व्यवस्थापनमा सकस नै हुने देखिन्छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएका समस्या, सरकारका योजना, मार्केटिङलगायत विषयमा केन्द्रित रहेर जिबिआइएका प्रवक्ता सुवास झासँग नयाँ पत्रिकाका नवीन अर्यालले गरेको कुराकानी :

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको चार महिना भइसक्यो । तर, एयरपोर्ट त पूरै सुनसान देखिन्छ नि !
एयरपोर्ट, रेल–वे स्टेसनहरूमा यात्रु आउने र जाने वेला भिडभाड हुन्छ । यात्रु आउने जाने क्रम रोकिएपछि सुनसान नै हुन्छन् । जहाज आउने वेलामा मात्र यात्रुको आउजाउ हुने हो । जहाज आउँदा यात्रुसँगै भिजिटर पनि आउँछन् । र, एयरपोर्टमा चहलपहल हुने हो । 

यात्रु नआउँदा सुरक्षाकर्मी र कर्मचारी मात्र हुन्छन् । सुनसान नै हुन्छ । भैरहवा एयरपोर्टमा बिहान ६ बजे जजिराको जहाज आउँछ । बिहान ३ बजेदेखि नै यात्रु आउन थाल्छन् । यात्रु बोकेर जहाज ६ः४५ बजे उडेपछि एयरपोर्ट सुनसान हुन थाल्छ । यति ठूलो एयरपोर्टमा एउटा मात्र जहाज उडान गर्दा सुनसान देखिएको हो । अब बिस्तारै अरू अन्तर्राष्ट्रिय वायुसेवाले पनि उडान गर्दै छन् । यात्रु र जहाजको चहलपहल पनि बढ्दै जाला । 

चौबीसै घन्टा खुल्ने विमानस्थल करिब २० घन्टाभन्दा बढी सुनसान हुन्छ ?
हामी एयरपोर्टमा चौबीसै घन्टा सेवा दिन तयार हुन्छौँ । तर, अन्तर्राष्ट्रियतर्फ एउटा मात्र हुने भइरहेकोले २०–२१ घन्टा सुनसान नै हुन्छ । तर, आन्तरिक उडानतर्फ त चाप नै छ । बिहान साढे पाँच बजेदेखि बेलुका ९–१० बजेसम्म उडान हुन्छ । त्यो समयमा आन्तरिक यात्रा गर्ने यात्रु र फ्लाइटको चाप नै हुन्छ । दैनिक एक हजार यात्रु आउँछन्, एक हजार यात्रु नै जान्छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवाको चाप छ, तर जिबिआइए कहिले अन्तर्राष्ट्रिय वायुसेवा आउलान् भनेर कुरिरहेको छ । यस्तो अवस्था किन सिर्जना भयो ?
हामी पनि त्यही सोचिरहेका छौँ, किन वायुसेवा आउन चाहिरहेका छैनन् ? यो विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई आकर्षित गर्न ल्यान्डिङ, पार्किङ, नेभिगेसन, ग्राउन्ड ह्यान्डलिङ सेवामा छुट दिएका छौँ । एउटा न्यारोबडीले प्रत्येक उडानमा अढाई लाख बचत गर्न सक्छ । यहाँ उडान–अवतरण गर्न पनि सहज छ । 

तर, हामी आशावादी छौँ । कुनै पनि वायुसेवाले नयाँ विमानस्थलबाट उडान गर्दा पर्याप्त तयारी गर्नुपर्ने हुन्छ । दीर्घकालीन योजना बनाउनुपर्छ । रुट क्लियरेन्स, टिकट बुकिङ, सम्पर्क अफिस, यात्रुको संख्यालगायतको अध्ययन तथा योजना बनाउनुपर्ने हुन्छ । त्यसैले पनि तुरुन्तै भैरहवा उडान गर्न वायुसेवाले चासो नदेखाएका होलान्, योजना बनाइरहेका होलान् । निकट भविष्यमै भैरहवाबाट धेरैले उडान थाल्ने आशा लिएका छौँ । भैरहवामा केही समस्या पनि छन् । ती समस्या पनि क्रमशः समाधान गर्दै जानेछौँ ।

त्यस्ता के समस्या छन् ?
यहाँबाट उडान गर्ने श्रमिक यात्रुले भिसा प्रोसेस, श्रम स्वीकृति र स्वास्थ्य जाँचका लागि काठमाडौं धाउनुपर्छ । ग्राउन्ड ह्यान्डलिङ, अध्यागमन, भन्सारमा पर्याप्त साधन र कर्मचारी छैनन् । भन्सारमा भएको एउटा एक्सरे मेसिन पनि पटक–पटक बिग्रिने गरेको छ । यात्रु कक्ष, भिजिटर कक्षको विस्तार गर्नुपर्नेछ । बिजनेस क्लासका फ्लाइटका लागि बिजनेस लाउन्ज छैन, राति उडान हुँदा यात्रु बोक्ने सवारीसाधन छैनन् । हामीले सम्बन्धित सबै निकायसँग यी समस्या तत्काल समाधान गर्न पहल गरिरहेका छौँ । 

भैरहवाबाट उडान गर्दा त यात्रुले सस्तो टिकटमै उड्न पाउँछन् होइन ?
अहिलेसम्म जजिराले मात्र उडान गरिरहेको छ । जजिराले काठमाडौंभन्दा भैरहवाबाट यात्रु बोक्दा प्रतिटिकट ७–८ हजार सस्तोमा सेवा दिइरहेको छ । यदि श्रम स्वीकृति, स्वास्थ्य जाँच, भिसा प्रोसेसलगायत कामका लागि काठमाडौं जानुनपरे यात्रुलाई धेरै सस्तो पर्ने देखिन्छ । 

वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति, स्वास्थ्य जाँच, भिसा प्रोसेसका लागि काठमाडौं नै जानुपर्ने बाध्यता छ । भैरहवाबाट किन सेवा दिन सकिएन ?
हामी एयरपोर्ट सञ्चालक मात्र हौँ । हामीले दिनुपर्ने सम्पूर्ण सेवा दिइरहेका छौँ । श्रम, इमिग्रेसन, भन्सार, स्वास्थ्य, भिसालगायतका काम हाम्रो क्षेत्रभित्र पर्दैनन् । यो सेवा सम्बन्धित निकायले नै दिनुपर्ने हुन्छ । हामीले भैरहवाबाट पनि सेवा प्रवाह गर्न सम्बन्धित निकायमा पटक–पटक पत्राचार पनि गरिरहेका छौँ । भैरहवाबाट उड्ने यात्रुलाई काठमाडौं धाउनुपर्ने बाध्यताबाट मुक्ति दिन ताकेता गरिरहेका छौँ । 

सरकारी काम कहिले भन्नेबित्तिकै भएको थियो र ! उहाँहरूले पनि तयारी गर्दै हुनुहुन्छ । यहाँबाट सेवा प्रदान गर्ने भनेपछि अफिस, कर्मचारीलगायत सेटअप मिलाउनुपर्ने होला । अब यी सेवाहरू पनि क्रमशः भैरहवामै उपलब्ध हुनेमा विश्वस्त छौँ । श्रमको कार्यालय बुटवलमा छ, उसैले पनि श्रम स्वीकृतिको काम गर्न सक्छ । यात्रुलाई बढीभन्दा बढी सेवा सुविधा दिनका लागि हामीले को–अर्डिनेसनको काम गरिरहेका छौँ । 

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु गर्नेबित्तिकै सरकारले अन्तर्राष्ट्रिय बजारमा मार्केटिङ पनि गर्नुपथ्र्यो होला । तर, यहाँ त विमानस्थल सञ्चालनमा आएको चार महिना पुग्दासम्म पनि मार्केटिङमै चुकिरहेको देखिन्छ । विमानस्थलमा दिइएका छुट सुविधा पनि क्यानले अन्तर्राष्ट्रिय जगत्लाई जानकारी गराउनुपर्ने होला नि !
विमानस्थल ठ्याक्कै कहिलेबाट सञ्चालनमा आउँछ भन्ने निक्र्योल नहुँदै अन्तर्राष्ट्रिय बजारमा मार्केटिङ गर्दा तोकिएको समयमा सम्पन्न नभए नराम्रो सन्देश जान सक्थ्यो । त्यही भएर पनि निर्माणसँगै मार्केटिङ हुन नसकेको हो । तर, तपाईंले भनेजस्तै विमानस्थलको मार्केटिङ र प्रचार प्रसारमा कमजोरीचाहिँ भएकै हो । त्यो कमजोरी महसुस गरेर अहिले पब्लिसिटीको काम सुरु भएको छ । अब आक्रामक ढंगले मार्केटिङमा लाग्नेछौँ । 

अझै पनि नयाँ गन्तव्यमा मार्केटिङ गरेको त देखिँदैन । बरु, क्यानले काठमाडौं आइरहेका वायुसेवालाई कम्तीमा एउटा उडान भैरहवाबाट गरिदेऊ भनेर ताकेता गर्न थालेको छ होइन र ?
अन्तर्राष्ट्रिय वायुसेवाले काठमाडौं मात्र चिन्छन् । भैरहवालाई चिनाउन बाँकी छ । पहिल्यैदेखि चलेको विमानस्थलमा बढी विश्वास पनि हुन्छ । त्यहाँ जोखिम पनि कम हुन्छ । तर, नयाँ विमानस्थलमा उडान गर्दा जोखिम बढी हुने गर्छ । त्यहाँ अफिस सेटअप गर्नुप¥यो, यात्रु पनि पाउनुप¥यो । नयाँ विमानस्थलमा आउँदा सेफ्टी, सेक्युरिटी, मार्केटिङको एसिस्मेन्ट गर्नुपर्छ । त्यो गर्दा फिजिबल देखियो भने मात्रै उडान गर्ने हुन् । 

हामीले पनि मार्केटिङ गर्दा आँखा नपुगेकै हो । वायुसेवाले पनि दीर्घकालीन अध्ययन गर्न थालेकाले केही समय ढिला भएको हो । अब त वायुसेवा आकर्षित हुन लागेका हुन् कि जस्तो देखिन्छ । जजिराले दैनिक उडान गर्न थालेको छ । १३ कात्तिकदेखि हंगेरीको विज एयर आउँदै छ । फ्लाई दुबई र एयर अरेबिया पनि आउने तरखरमै छन् । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पनि भैरहवाबाट उडान गर्ने नै छन् । 

तपाईंहरू श्रम गन्तव्य देशका उडानमै सन्तुष्ट रहने कि नेपालमा पर्यटक भिœयाउने गरी त्यस्ता देशमा मार्केटिङ गरी वायुसेवा कम्पनी ल्याउने ?
हाम्रो उद्देश्य सबै प्रकारका देशबाट उडान ल्याउने हो । सिंगो विश्वलाई गौतमबुद्धको जन्मभूमि लुम्बिनीसँग जोड्न चाहन्छौँ । विश्वका बुद्धिस्ट पर्यटक लुम्बिनी आउनुपर्छ । बौद्धमार्गी बढी भएका देशमा उडान गर्न प्रयासरत छौँ । श्रीलंका, चीन, कोरिया, जापान, भियतनाम, कम्बोडिया, थाइल्यान्डजस्ता देशलाई लुम्बिनीमा सीधै जोड्न खोज्दै छौँ । मध्यपूर्व र पश्चिमा मुलुकबाट पनि प्रशस्त उडान र पर्यटक ल्याउन सकिन्छ । 

भैरहवामा धार्मिक, सांस्कृतिक, प्राकृतिक र स्वास्थ्य पर्यटनको राम्रो सम्भावना छ । भारतको बोर्डर नजिकै छ । अझ पश्चिमतर्फको हवाई प्रवेश रुट पाइयो भने वायुसेवा कम्पनीलाई भैरहवा उडान धेरै सस्तो पर्न जान्छ । तराईको एयरपोर्ट पहाडको भन्दा सहज पनि हुन्छ । देशको विकासका लागि पर्यटनको ठूलो महŒव छ । श्रमका लागि बाहिरिने यात्रुको आर्थिक भार कम गर्न सकियो भने त्यो पनि राम्रो हुनेछ । 

सन् २०२२ भित्र भैरहवाबाट कति अन्तर्राष्ट्रिय वायुसेवाले उडान गर्लान् भन्ने अपेक्षा छ ?
जजिराले दैनिक उडान सुरु गरेको छ । १३ कात्तिकदेखि विज एयर आउँदै छ । यस्तै, काठमाडौंमा दैनिक तीनवटा भन्दा बढी उडान गर्ने वायुसेवाले विन्टर सिजनदेखि कम्तीमा एउटा उडान भैरहवाबाट गर्नेमा आशावादी छौँ । त्यो भयो भने यहाँको गतिविधि पनि बढ्ने, वायुसेवालाई पनि सस्तो पर्ने, यात्रुले पनि सहज सुविधा पाउँछन् । भैरहवा उडान काठमाडौंभन्दा झन्डै अढाई लाख सस्तो पर्छ । वायुसेवालाई पनि सञ्चालन खर्च कम पर्नेछ । 

अहिले नेपाल एयरलाइन्स, हिमालय, कतार, फ्लाई दुबई, एयर अरेबियाले दैनिक तीनभन्दा बढी उडान गर्छन् । हामीले देशकै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा र निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई कम्तीमा एउटा फ्लाइट भैरहवाबाट गरिदिनुस् भनेका छौँ । तर, ठ्याक्कै यतिले गर्छन् भन्न अहिले सकिँदैन । 

देशको राष्ट्रिय ध्वजावाहक एयरलाइन्सले सुरुकै दिनदेखि उडान गरेर अरू वायुसेवाहरूलाई आकर्षित गर्नुपर्ने होइन र ?
गर्नुपर्ने त हो । तर, नेपाल एयरलाइन्सका जहाज कम, गन्तव्य धेरै छन् । आन्तरिक व्यवस्थापनमा पनि समस्या होला । फेरि ग्राउन्ड ह्यान्डलिङ र फ्लाइट दुवै सँगसँगै पूर्वाधार र कर्मचारीमा ठूलो लगानी गर्नुपर्ने अवस्था छ । चलिरहेको गन्तव्य छाडेर तुरुन्तै नयाँ एयरपोर्टमा जाँदा ‘रिस्क’ हुने हो कि भनेर अध्ययन गरेरै योजना बनाउँदै छन् होला । हिमालय एयरलाइन्सको पनि काठमाडौंबाट धेरै कनेक्सन छ । 

नेपाल एयरलाइन्स सरकारी भएकाले भैरहवाबाट उडान गर्न अनुरोध गर्न सुहाउँछ । तर, निजी वायुसेवालाई निर्देशन दिन सकिँदैन । यहाँ दैनिक चार फ्लाइट भए मुबिलिटी पनि बढ्थ्यो । आर्थिक गतिविधि पनि बढ्थे । जति धेरै जहाज आउँछन्, त्यति धेरै प्रचार प्रसार पनि हुने हो । अहिले संक्रमणकालीन अवस्थामा छौँ । बल्ल चार महिना हुँदै छ, अहिले नै धारणा बनाउने अवस्था छैन । 

अहिलेको टर्मिनल भवन, कर्मचारी र पूर्वाधारले कति फ्लाइट धान्न सक्छ ?
हरेक घन्टा–घन्टामा जहाज आएमा दिनको ३० वटा फ्लाइट आरामले धान्न सक्छौँ । तर, एकैचोटि दुईवटा जहाज आए भने समस्या हुन्छ । यहाँ पार्किङ क्षमता पाँचवटा जहाजको छ । एउटा वाइडबडी र चारवटा न्यारोबडी पार्किङ गर्न मिल्छ । तर, टर्मिनल भवनको संरचना भने एउटा उडानलाई मात्र धान्नेछ । अराइभल कक्ष धेरै सानो भयो । डिपार्चर कक्ष पनि एउटा फ्लाइटलाई मात्र पर्याप्त छ । दुईवटा फ्लाइट भएमा एकैपटक सेवा दिनुपरे टाइट हुन्छ । 

दैनिक तीनवटा फ्लाइट भए विमानस्थल सञ्चालन खर्च उठ्छ । अहिले घाटामै चलाइरहेका छौँ । अब दुईवटा उडान निश्चित भयो । अर्को थपियो भने मात्रै पनि सञ्चालन खर्च उठ्छ । टर्किस र कतार एयरवेजले पनि भैरहवा उड्दैनौँ भनेका छैनन् । तर, श्रम गन्तव्य मुलुकमा उड्ने यात्रुलाई भन्दा वल्र्डवाइड उड्ने यात्रुका लागि धेरै फेसिलिटी चाहिन्छ । कतार र टर्किस एयरमा विश्वभरिका यात्रु उड्ने हुँदा अहिले उनीहरूको आवश्यकताअनुसारको सेवा सुविधा उपलब्ध छैनन् । 
त्यो सुविधा नदिई उनीहरूले भैरहवाबाट उडान नगर्ने, हामीले उनीहरू आउने पक्कापक्की नभई ती सुविधा अतिरिक्त खर्च गरेर राख्ने कि नराख्ने भन्ने दोधार भइरहेको छ । 

किन यति साँघुरो टर्मिनल भवन बनाउनुभयो ? अर्को ठूलो टर्मिनल नबनाईकन भैरहवामा अन्तर्राष्ट्रिय उडानहरू आकर्षित गर्न कठिन रहेछ है ?
अर्को टर्मिनल बनाउने योजनामै छ । गुरुयोजना पनि तयार भइसकेको छ । तर, त्यो टर्मिनल नबने पनि अहिलेकै टर्मिनलमा पनि त्यो सुविधा दिन सकिन्छ । तर, एकपटकमा एउटा मात्र फ्लाइट ह्यान्डल गर्न सकिन्छ । यदि घन्टाको एउटा उडान भए दैनिक २५–३० वटा वायुसेवालाई सहजै सेवा दिन सकिन्छ । कहिलेकाहीँ एकैपटक दुईवटा फ्लाइट आए जेनतेन थेगौँला । तर, दैनिक दुईवटा फ्लाइट एउटै समयमा भए म्यानेज गर्न सकिँदैन । 

भारतले पश्चिमतर्फको प्रवेश रुट नदिने नै भएको हो ?
नदिने भनेको छैन । छलफलकै क्रममा छ । हामीले सबै तहबाट प्रयास गरिरहेका छौँ । उनीहरूले पनि दिन्छौँ भनेको सुनेका छौँ । तर, नदिँदै के भन्न सकियो र ! यदि पश्चिमतर्फ प्रवेशबिन्दु पाइएमा वायुसेवालाई सहज पनि हुने थियो । यस विषयमा भारतसँग कूटनीतिक पहल भइरहेको छ ।