१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ असोज ९ आइतबार ०९:४६:००
Read Time : > 3 मिनेट
समाचार प्रिन्ट संस्करण

दसैँअगावै प्रत्यक्षको उम्मेदवार टुंग्याउने एमालेको तयारी

सम्भावित उम्मेदवारको प्रोफाइल अध्ययन र सूक्ष्म ‘क्रस–चेकिङ’ गर्दै नेतृत्व

Read Time : > 3 मिनेट
२०७९ असोज ९ आइतबार ०९:४६:००

दसैँअगावै प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्ने गरी आन्तरिक गृहकार्यलाई तीव्रता दिएको छ । १६ असोजभित्र समानुपातिकतर्फको उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यतालिकाअगावै संघ र प्रदेशका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरू पनि टुंगो लगाउने गरी एमालेले आन्तरिक गृहकार्यलाई तीव्रता दिएको हो ।

उपमहासचिव प्रदीप ज्ञवालीले प्रत्यक्षतर्फका उम्मेदवार छनोटका लागि केन्द्रीय सचिवालयको बैठकको मिति तय भइनसके पनि दसैँअगावै टुंग्याउने गरी अनौपचारिक गृहकार्य चलिरहेको बताए । नाम छिटो टुंगो लगाउन संघ र प्रदेश दुवैतिरका प्रत्यक्षतर्फका सम्भावित उम्मेदवारहरूको संख्या घटाएर बढी लोकप्रिय उम्मेदवारहरूको प्रोफाइल अध्ययन गर्ने, तलबाट आएका सिफारिसको प्राथमिकता र डेलिगेसनका क्रममा आएका सुझावको ‘क्रस चेकिङ’लगायतको काम भइरहेको उनको भनाइ छ ।

‘सचिवालयको बैठकको मिति तय भइसकेको छैन, तर हामी दसैँअगावै प्रत्यक्षको उम्मेदवार टुंग्याउने तयारीमा छौँ,’ ज्ञवालीले नयाँ पत्रिकासँग भने, ‘त्यसका लागि आएका नाम साँघुरो बनाउन स्क्रिनिङ गर्ने, सम्भावित उम्मेदवारहरूको योग्यता, क्षमताका सम्बन्धमा प्रोफाइलको अध्ययन गर्ने काम भइरहेको छ ।’ उनले उम्मेदवारहरूको लबिङका लागि आएका डेलिगेसनले दिएका सुझावलाई पनि पार्टी नेतृत्वले क्रस चेक गर्नेलगायतको काम भइरहेको पनि बताए ।

एक सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये एमालेका ५७ जना प्रत्यक्षतर्फका उम्मेदवार निर्वाचन क्षेत्रबाट एकल रूपमा सिफारिस भएका छन् । त्यस्तै, अरू थप ५० वटा निर्वाचन क्षेत्रबाट दुईजनाको मात्र नाम सिफारिस भएको छ भने अरू क्षेत्रबाट भने तीनजना उम्मेदवार सिफारिस भएका छन् । शनिबार धनुषामा आयोजित आमसभामा ओलीले केही दिनभित्रै प्रत्यक्षतर्फका उम्मेदवार छनोट गरिसक्ने बताए । ‘समानुपातिक उम्मेदवार टुंगो लगाउँदै छौँ, केही दिनभित्र प्रत्यक्षतर्फका उम्मेदवार पनि टुंगो लगाउँछौँ,’ ओलीले भने ।

केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले उम्मेदवार छनोटका लागि सकभर १२ असोजभित्रै केन्द्रीय सचिवालय बैठक बस्ने र त्यसलगत्तै प्रत्यक्षतर्फका उम्मेदवारको नाम टुंगो लगाउने गरी तयारी अगाडि बढिरहेको बताए । एकल सिफारिसमा परेका उम्मेदवारहरूको नाम तलमाथि हुने कम सम्भावना रहेकाले सचिवालयले निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अलग–अलग सिफारिसलाई मुख्य आधार मानेर उम्मेदवार छनोट गर्ने एमालेको तयारी छ ।

‘मुख्यतया, तलबाट सिफारिसका क्रममा आएका सुझावको प्राथमिकता हेरेर केन्द्रीय सचिवालयले प्रत्यक्षका उम्मेद्वार छनोट गर्नेछ,’ विष्टले भने, ‘त्यसलगत्तै निर्वाचनको घोषणापत्र सार्वजनिक गरेर पार्टी चुनावी प्रचारका लागि जनताको घरदैलामो पुग्नेछ ।’ समानुपातिकतर्फ सबै नयाँलाई अवसर दिएको एमालेले प्रत्यक्षतर्फ भने चुनाव जित्ने सम्भावना भएका लोकप्रियलाई टिकट दिने मापदण्ड मुख्य मापदण्ड बनाएको छ । 

अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले प्रत्यक्षतर्फका उम्मेदवारका सम्बन्धमा सातवटै प्रदेशका इन्चार्ज र अध्यक्षहरूबाट ‘ब्रिफिङ’सँगै सुझाव पनि लिइसकेका छन् । मधेस प्रदेशमा भने उमाशंकर अरगरिया, कपिलवस्तुबाट बृजेशकुमार गुप्ता, बारा वा पर्साबाट सर्वेन्द्र खनालसहित चुनाव जित्ने सम्भावना भएका कतिपय नवप्रवेशीहरूलाई पनि प्रत्यक्षतर्फ उम्मेदवार बनाउने सम्भावना छ । ‘जनताका बीचमा राम्रो छवि भएको, लोकप्रिय पार्टीबाट सांसद पद छाडेर आउनुभएका केही साथीहरूलाई पनि पार्टीले प्रत्यक्षबाट उम्मेदवार बनाउने सम्भावना छ,’ उपमहासचिव ज्ञवालीले भने । 

५७ जना उम्मेदवार सर्वसम्मत सिफारिस
एमालेमा अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्बाङ, महासचिव शंकर पोखरेल, उपहासचिव प्रदीप ज्ञवालीसहित धेरैजसो पदाधिकारी क्षेत्रबाटै सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । उपमहासचिव पृथ्बीसुब्बा गुरुङ भने लमजुङबाट प्रदेश निर्वाचन क्षेत्र ‘ख’बाट गण्डकी प्रदेशका लागि सिफारिस भएका छन् ।

प्रदेश १ मा झापा– रविन कोइराला, ५ बाट केपी ओली, इलाम १ बाट महेश बस्नेत, २ बाट सुवास नेम्बाङ सर्वसम्मत सिफारिस भएका छन् । मोरङ २ बाट ऋषिकेश पोखरेल, मोरङ ३ बाट भानुभक्त ढकाल, ४ बाट विनोद ढकाल, सुनसरी १– जयकुमार राई, ३ बाट भगवती चौधरी, धनकुटाबाट राजेन्द्र राई, सोलुखम्बुबाट मानवीर राईको नाम एकल सिफारिस भएको छ ।

मधेस प्रदेशमा पर्सा ३ बाट राजकुमार गुप्ता, बारा २– बलवीर चौधरी, ४ बाट देवनारायण चौधरी सर्वसम्मत सिफारिस भएका छन् । रौतहट ३ बाट प्रभु साह, सर्लाही २ बाट राजनारायण साह, धनुषा ३ बाट जुली महतो, ४ बाट रघुवीर महासेठ, सिराहा ३ बाट लीलानाथ श्रेष्ठ, महोत्तरी ४ बाट दीपनारायण यादवको नाम एकल सिफारिस भएको छ ।
बागमती प्रदेशमा काभ्रे २ बाट गोकुल बाँस्कोटा, काठमाडौं २ बाट मणिराम फँुयाल, ३ बाट कृष्ण राई, ४ बाट राजन भट्टराई, ५ बाट ईश्वर पोखरेल सर्वसम्मत सिफारिस भएका छन् । नुवाकोट १ बाट बद्री मैनाली, चितवन ३ बाट रामप्रसाद न्यौपानेको नाम एकल सिफारिस भएको छ ।

गण्डकी प्रदेशबाट नवलपुर २ बाट तिलकबहादुर महत, म्याग्दी– हरिकृष्ण श्रेष्ठ, मनाङ– पाल्देन छोपाङ गुरुङको नाम एकल सिफारिसमा आएको छ । त्यस्तै, लुम्बिनीमा पाल्पा २– ठाकुर गैरे, गुल्मी १– प्रदीप ज्ञवाली, अर्घाखाँची– टोपबहादुर रायमाझी, प्युठान– सूर्य थापा, दाङ २– शंकर पोखरेल, कपिलवस्तु २– बृजेशकुमार गुप्ता, कपिलवस्तु ३– मंगलप्रसाद गुप्ता, रुपन्देही १– छविलाल विश्वकर्मा, रुपन्देही २– विष्णुप्रसाद पौडेल, रुपन्देही ४– कृष्णप्रसाद भुसाल, रुपन्देही ५– खिमलाल भट्टराई, रोल्पा–पूर्ण बुढा मगरको उम्मेदवारी निर्वाचन क्षेत्रबाटै सर्वसम्मत सिफारिस भएको छ ।

कर्णालीको डोल्पामा बम्दी क्वाँरा बोहोरा, हुम्ला दल रावल, मुगु मोहन बानियाँ, जुम्ला रतननाथ योगी, कालिकोट नागिन्द्र शाही र सल्यानबाट गुलाबजंग शाहको नाम सर्वसम्मत सिफारिस भएको छ । 

सुदूरपश्चिम प्रदेशमा दार्चुला गणेश ठगुन्ना, बैतडी दामोदर भण्डारी, डेडल्धुरा पठानसिंह बोहोरा, डोटी चक्र मल्ल, अछाम १ भीम रावल, अछाम २ यज्ञराज बोगटी, कैलाली ३ गौरीशंकर चौधरी, कैलाली ४ लेखराज भट्ट, कैलाली ५ नारदमुनि रानाको नाम एकल सिफारिस भएको छ ।

समानुपातिकका उम्मेदवार संशोधन गर्दै एमाले
समानुपातिक उम्मेदवारको नामावलीको अन्तिम टुंगो लगाइरहेको छ । निर्वाचन कानुनअनुसार सबै समूह मिलाएर बन्दसूचीमा रहेका नाम संशोधन गरेर बन्दसूचीलाई अन्तिम रूप दिन एमालेले शनिबार निर्वाचन आयोगसँग समय लिएको थियो । जसअनुसार नामावली संशोधनसहित अन्तिम रूप दिन उपमहासचिव विष्णु रिमाल, निर्वाचन विभागका उपप्रमुख नीरज आचार्य, सचिव केदार कोइरालासहितको एमाले टोली शनिबार मध्यरातसम्म निर्वाचन आयोगमा व्यस्त भएको थियो ।