मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असोज ८ शनिबार ०७:३५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

डा. केसीको स्वास्थ्य थप जटिल, शनिबार उनको समर्थनमा प्रदर्शन गरिँदै

Read Time : > 1 मिनेट
२०७९ असोज ८ शनिबार ०७:३५:००

 १२ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप कमजोर बनेको छ । उनको शरीरमा इलेक्ट्रोलाइट्सको मात्रा घट्दै गइरहेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । केसीले मुखबाट पानी र नसाबाट रिंगर ल्याक्टेटबाहेक कुनै पनि पदार्थ लिन अस्वीकार गर्दै आइरहेका छन् र धेरै दिनदेखि अनशन बन्दा शरीरमा मांसपेशी सुक्दै गएका छन् । उनको पिसाबमा पनि संक्रमण देखिएको छ । उनी हाल केसी अस्पतालको एनएक्स वानको डिलक्स क्याबिन बेड नम्बर ५०१ मा बसेका छन् । केसीका माग पूरा गर्ने सम्बन्धमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई पक्षबीच वार्ता बसे पनि उक्त वार्ता निष्कर्षविहीन बनेको छ । 

विगतमा भएका सहमति कार्यान्वयनलगायतका सातबुँदे माग डा. केसीले यसपटक राखेका छन् । डा. केसी र सरकारी पक्षबीच बिहीबार बैठक बसे पनि वार्ता निष्कर्षविहीन बनेको थियो । यो उनको २०औँ पटक अनशन हो । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार डा. केसीको स्वास्थ्य अवस्था कमजोर बनेको छ । ‘सरकारी पक्षले माग सम्बोधनको चासो देखाउनुभएको छैन,’ उनले भने, ‘त्यसले गर्दा उहाँको स्वास्थ्य अवस्था पनि निकै कमजोर बनेको छ ।’ 

केसीले प्रत्येक प्रदेशमा एक–एकवटा मेडिकल कलेज हुनुपर्ने, चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा हुँदै आएको हस्तक्षेप रोक्नुपर्ने, चिकित्साशास्त्रको निःशुल्क स्नातकोत्तर तहको कार्यक्रमका लागि सरकारले दिने बजेट रोक्न नहुने, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्नुपर्ने, सरकारले तोकेका निःशुल्क औषधि सबै स्वास्थ्य संस्थामा सहजै पाउने व्यवस्था मिलाउनुपर्ने, स्थानीय तहले बजेटको आधा हिस्सा शिक्षा र स्वास्थ्यमा खर्च गर्नुपर्ने, मापदण्डविपरीतका निजी अस्ताल बन्द गर्नुपर्नेलगायत माग राखेका छन् ।  

त्रिवि शिक्षण अस्पतालमा अनशनरत डाक्टर केसीको स्वास्थ्य उपचार र हेरचाहका लागि विशेषज्ञ डाक्टरसहितको पाँचजनाको कमिटी बनेको छ । उक्त उपचारसम्बन्धी कमिटीमा त्रिवि शिक्षण अस्पतालका प्रा.डा. प्रमेशसुन्दर श्रेष्ठ संयोजक छन् । सदस्यहरूमा मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटा, डा. सविन थपलिया, नर्सिङ सुपरभाइजर सुमिता तिवारी र त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारी छन् ।

आमरण अनशनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार काठमाडौंमा प्रदर्शन गरिने भएको छ । मध्याह्न १२ बजे विभिन्न क्षेत्रका व्यक्तिको उपस्थितिमा माइतीघर मण्डलामा प्रदर्शन गर्न लागिएको हो । १० दिनसम्म धनगढीमा अनशन बसेपछि स्वास्थ्य अवस्था जटिल र जोखिमपूर्ण बनेपछि केसीलाई बुधबार त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो ।