Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सुवास भट्ट काठमाडाैं
२०७९ असोज ८ शनिबार ०७:०९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एकैजना नासुविरुद्ध छैटौँ मुद्दा

Read Time : > 2 मिनेट
सुवास भट्ट, काठमाडाैं
२०७९ असोज ८ शनिबार ०७:०९:००

सार्वजनिक सेवामा लामो समय गुजारेर अवकाश पाइसकेकालाई जीवनको उत्तरार्धमा भ्रष्टाचार मुद्दा खेप्नु व्यक्तिगत र सामाजिक प्रतिष्ठा सबै हिसाबमा सकसपूर्ण हुन्छ । तर, एकजना कर्मचारी अवकाश जीवनमा ६ वटा मुद्दा झेलिरहेका छन् । उनी हुन्, निजामती सेवामा ३० वर्ष बिताएका मदनकुमार गुप्ता । उनै गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । यो उनीविरुद्धको छैटौँ मुद्दा हो । ०७६ देखि उनी लगातार मुद्दा खेपिरहेका छन् । 

अति गरेपछि खति हुन्छ भनिन्छ । सरकारी सेवामा छँदा अनियमितताको उग्रता प्रदर्शन गरेका उनको थाप्लोमा अहिले पाँचवटा मुद्दाको भारी छ । उनी आफैँ पुर्पक्षका लागि हिरासतमा छन् । खरिदारबाट सरकारी सेवा प्रवेश गरेका गुप्ताले २९ वर्षको जागिरे अवधिमा अनियमितता गरेरै करिब १५ करोड बराबरको सम्पत्ति थुपारे । औसत परिवार चलाउन पनि मुस्किल हुने नासुको पदमा रहेरै उनले त्यति ठूलो परिमाणमा सम्पत्ति जोरजाम गरे । १० मंसिर ०७६ मा अख्तियारले उनीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनमा मुद्दा दायर गरेको थियो । सम्पत्ति विवरण केलाउँदा देखिएको १४ करोड ८१ लाखको अवैध आयलाई बिगो कायम गरेर अख्तियारले अदालतमा मुद्दा दायर गरेको थियो । ०७५/७६ को साउनदेखि १२ फागुनसम्म सिमरा मालपोतमा रहँदा मात्रै उनले राजस्वबापतको साढे चार करोड हिनामिना गरेको अख्तियारको दाबी छ । 

भ्रष्टाचार गरेर आर्जित सम्पत्तिबाट उनले परिवारका सदस्यका नाममा चार करोड आठ लाखको घर र ९० लाखको जग्गा किने, व्यवसायमा ७१ लाख लगानी गरे, २७ लाखको गाडी किने । छोराको विवाहमा ६१ लाख खर्च गरेका उनले ४३ लाख सापटी दिएको अख्तियारको दाबी छ । आफू र परिवारका सदस्यबाहेकका नाममा समेत घरजग्गा, सवारीसाधन खरिद, व्यवसायमा लगानी तथा बैंक मौज्दात राखे । अख्तियारले दायर गरेको मुद्दा विवरणबाट मालपोत बढी भ्रष्टाचार हुने अड्डामा पर्छ । एउटा मालपोतबाट अर्कोमा चक्कर लगाउँदै उनले करिब तीन दशक जागिर खाए । सरकारी कोषमा जम्मा गर्नुपर्ने मालपोत राजस्वमा व्यापक हिनामिना गरेर उनले खल्ती भरेका थिए ।

गुप्ताविरुद्ध अख्तियारले यसअघि ०७६ जेठ १ मा दुईवटा, ३ जेठमा एउटा, २ र ८ मंसिरमा एक–एकवटा मुद्दा दायर गरेको थियो । उनीविरुद्ध आयोगले कागजपत्र हिनामिना, राजस्व खाइमासेको र गैरकानुनी सम्पत्ति आर्जनलगायत अभियोगमा मुद्दा चलाएको छ । शुक्रबार भने अख्तियारले १२ लाख ३७ हजार ९ सय ६२ रुपैयाँ सेवाग्राहीबाट संकलित मालपोत राजस्व हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको छ । राजस्व रकम सरकारी कोषमा दाखिला नगरी हिनामिना गरेको भन्दै अख्तियारले त्यही रकमलाई बिगो कायम गरी मुद्दा दायर गरेको हो । 

 प्रदेश मन्त्रीकी पत्नीविरुद्ध मुद्दा 
शुक्रबार नै अख्तियारले प्रदेश मन्त्रीकी पत्नीविरुद्ध मुद्दा दायर गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारीकी पत्नी गीता सोडारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । कैलालीको धनगढी– ९ स्थित शिव माविमा राहत शिक्षकका रूपमा कार्यरत सोडारीविरुद्ध झुटा प्रमाणपत्र पेस गरी सरकारी सेवा प्रवेश र कार्यरत भएको अभियोगमा मुद्दा दायर भएको हो । बोर्ड अफ सेकेन्डरी इजुकेसन, दिल्लीबाट १० कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । 

शुक्रबार नै आयोगले अन्य पाँच मुद्दा विशेष अदालतमा दायर गरेको छ । सप्तरीको भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका पशु विकास अधिकृत शिवनारायण यादवउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा एक लाख ८० हजार र अर्को २१ हजारको गरी दुईवटा बिगो कायम गरेर मुद्दा दायर भएको छ । 

त्यस्तै, सार्वजनिक सम्पत्ति हिनामिनाको अभियोगमा सुर्खेतको साबिक घुमखहरे गाविसका तत्कालीन सचिव खड्कबहादुर रोकाया र देवीलाल सुनार, प्राविधिक सहायक खगेन्द्रप्रसाद उपाध्याय तथा उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर घर्तीविरुद्ध मुद्दा दायर गरेको छ । बाँकेको कोहलपुर नगरपालिका– ४ रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुली, कोषाध्यक्ष बिनुकुमारी पाण्डे र सचिव दिलमाया रानाविरुद्ध अर्को मुद्दा दायर भएको छ । 

यसैगरी डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दाहाल, सहायक वन अधिकृत टेकबहादुर रावल, एलिसा डिजाइन्स एन्ड बिल्डर्सका प्रोपाइटर लोकेन्द्र राना र कोटेश्वर दरबार निर्माण उपभोक्ता समितिका अध्यक्ष रुद्रबहादुर बस्नेत, उपाध्यक्ष ध्रुवकुमार सिंह, सचिव युवराज पोखरेल र कोषाध्यक्ष पदमाकुमारी बुढाविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । 

गैरकानुनी लाभको अभियोगमा भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका कार्यालय प्रमुख भीमबहादुर खत्री, नासु रुद्रसेन साहु, बढैयाताल गाउँपालिका वडा नं. ६ का सैजाद अली तेली र जैनव तेली, सोही वडाका वडाध्यक्ष रामहरष थारू र वडा नं. ८ निवासी अञ्जना दाहाललाई प्रतिवादी कायम गरेर अख्तियारले मुद्दा दायर गरेको छ ।