कौशिक वासु
२०७५ चैत १२ मंगलबार ०६:३२:००
 कौशिक वासु

असमानताविरुद्ध धनी मानिस पनि लड्न सक्छन्

विश्व अर्थ :

जब धनाढ्य मानिसहरू वामपन्थीले उठाउँदै आएका ‘सम्पत्ति पुनर्वितरण’जस्ता विषयमा समर्थन गर्छन्, तब दक्षिणपन्थीहरू उनीहरूलाई पाखण्डीको उपमा दिन्छन् । यदि समानताबारे तपाईं यति चिन्तित हुनुहुन्छ भने आफ्नो आम्दानीको केही हिस्सा दिएर सुरुवात किन गर्नुहुन्न ? प्रतिप्रश्न प्रायः यही आउँछ ।

यस्तो किसिमको प्रतिक्रियाले पार्ने प्रभाव धेरै नै क्षतिग्रस्त हुन सक्छ । अधिकांश मानिस आफूलाई पाखण्डी सोच्न चाहँदैनन् । त्यसैले धनीसँग आफ्नो सम्पत्तिको केही हिस्सा दान दिएर असमानताविरुद्धको अभियानमा सहभागी हुने वा मौन बस्नेजस्ता दुईवटा विकल्प हुन्छन् । अधिकांशको प्राथमिकतामा दोस्रो विकल्प पर्छ । 

विश्वव्यापी असमानता असह्यस्तरमा पुगेका कारण यसलाई दुर्भाग्य नै भन्नुपर्छ । सम्पत्ति लामो समयसम्म परिवारभित्रै रहिरहन्छ । केही मानिस जन्मिँदै धनी भएर जन्मिने र केही भने गरिबका रूपमा धर्तीमा आउने भएकाले असमानता पनि वंशज बन्दै गइरहेको छ । 

यसको असमानता यति धेरै कुरूप छ कि यसबारेमा सोच्दा वा बोल्दा मात्रै पनि सही कदम चाल्ने माग आउँछ । तर, समाजको सबैभन्दा प्रभावशाली क्षेत्रलाई यस विषयमाथिको विरोध व्यक्त गर्नबाट रोकेर यो अधिकारले यस प्रक्रियाको पहिलो चरणमा नै बाधा उत्पन्न गरिदिएको छ । 

टोमस पिकेट्टी, फ्राक्वाँ बुर्गइग्नन, ब्राङ्को मिलानोभिक, टोकी अकिन्सन र अन्यले गरेका केही अनुसन्धानका कारण हाल हामीसँग असमानताबारेका प्रशस्त प्रमाणहरू उपलब्ध छन् । उदाहरणका लागि ग्लोबल कन्फेडेरेसन अक्स्फामको पछिल्लो समयमा सार्वजनिक भएको वार्षिक प्रक्षेपणसम्बन्धी प्रतिवेदनअनुसार विश्वव्यापी सम्पत्ति वितरणको सबैभन्दा तल्लोस्तरमा समावेश ३८ अर्ब मानिससँग भएको सम्पत्तिको आकार विश्वका २६ जना धनाढ्य व्यक्तिसँग भएको सम्पत्तिबराबर छ । यसैक्रममा अक्स्फामका अनुसार गत वर्ष विश्वका धनाढ्यको संयुक्त सम्पत्ति ९ खर्ब डलर अर्थात् प्रतिदिन २ अर्ब ५० करोड डलरले बढेको थियो । 

विश्वमा मात्रै नभई देशभित्रै पनि असमानता बढ्दो छ । सन् २०१८ को विश्वव्यापी असमानताको प्रतिवेदनअनुसार अमेरिका, चीन, रुस र भारतमा सबैभन्दा धेरै सम्पत्ति वृद्धि भएको देखिएको छ । 

पक्कै पनि निश्चित परिमाणको असमानता अर्थतन्त्र चलाउन आवश्यक र अपरिहार्य दुवै छ । तर, आज असमानताको स्तरले सो अपरिहार्यताको सीमा निकै नाघिसकेको छ । सम्पत्ति र आम्दानी असमानतालाई कसरी नाप्ने भन्ने कुरामा लामो समयदेखि विवाद चलिरहेको भए पनि यी दुवै उचाइमा रहेकोमा कुनै शंका छैन । कुनै विकसित राष्ट्रका ठूला सहरका सुकुम्बासी बस्तीमा हिँड्दा र गरिबहरूको दुःख र पीडा देख्दा र अन्य कुनै पनि राष्ट्रका धनीहरूको विलासी जीवनशैली नियाल्दा यस परिस्थितिलाई तत्काल सम्बोधन गर्न कति जरुरी छ भन्ने कुरा स्पष्ट हुन्छ । 

सो जरुरतप्रति ध्यान दिने अधिकार गरिबहरूसम्म मात्रै सीमित रहनु पनि उचित हुँदैन । दक्षिणपन्थी विचारबाट धनीहरूलाई चुप गराउने वामपन्थी प्रतिक्रिया पहिलोपटक सुन्दा तार्किक लाग्न सक्ने भए पनि यो गैरअनुक्रमिक हो । तपाईं एकदमै धनी भए पनि आफ्नो सम्पत्ति त्याग्न सक्नुहुन्न, तैपनि तपाईंलाई कमाउन र सम्पत्ति जोड्न अनुमति दिएको प्रणाली निष्पक्ष छैन भनेर सोच्न सक्नुहुन्छ । यस्तो अवस्थामा विरोधाभास र पाखण्ड भन्ने केही कुरा हुँदैन । 

यसमा विश्वका केही उत्कृष्ट विचारकहरूले समर्थन जनाएका छन् । राम्रो सिगार पिउने व्यक्ति समाजवादी हुनबाट वञ्चित हुन नहुने बेलायती दार्शनिक बट्र्रान्ड रसेलले तर्क राखेका छन् । र, अमेरिकी अर्थशास्त्री पउल स्याम्युसनले पनि सन् १९८३ मा प्रकाशित निबन्ध ‘माई लाइफ फिलोसोफी’मा यस्तै विचार प्रस्तुत गरेका थिए । दशकौँसम्म विश्वका सबै अन्डरग्र्याजुएट विद्यार्थीको पढाइमा आवश्यक अर्थशास्त्रसम्बन्धी पाठ्यपुस्तकको अभूतपूर्व सफलताका कारण उनी केही धनी बन्न सके । तर, उनी आफू राजनीतिक रूपमा कहाँ उभिएको छु भन्ने कुरामा स्पष्ट थिए ।

‘मेरो विचारधारा सरल छ, जसले कमजोरलाई समर्थन र असमानतालाई घृणा गर्छ,’ उनले लेखेका छन् । यसैक्रममा आफ्नो आम्दानी औसतस्तरभन्दा माथि उक्लिन थाल्दा आफूलाई कुनै ग्लानि नभएको उनले स्वीकार गरेका छन् । आफूले एकपक्षीय रूपमा आफ्नो सम्पत्ति दिन अस्वीकार गरे पनि पुनर्वितरण करको कुरा आउँदा आफूले आफ्नै आर्थिक हितविरुद्ध उभिएको पनि बताएका छन् । 

अधिक समृद्ध समानताको प्रयास गर्ने फ्रेडरिक एन्जल्स धनी व्यक्तित्वको लोकप्रिय ऐतिहासिक उदाहरण हुन् । इंग्ल्यान्डको म्यानचेस्टर क्षेत्र र अन्यत्र स्थानमा उनका पिताका ठूला टेक्सटाइल कारखाना थिए । युवा अवस्थामा छँदा फ्रेडरिक बालश्रम र श्रमिक वर्गको पीडा देखेर विरोधी बने ।

पछि गएर उनी आफ्ना मित्र कार्ल माक्र्सलाई सहयोग गर्न र यस्तो खालको नाफाको अन्त्य गर्न र आफ्ना पूर्वजको व्यवसाय सम्हाल्न काममा फर्किए । माक्र्सको प्रस्तावको वाञ्छनीयता र व्यावहारिकताका बारेमा जसले जे सुकै सोचे पनि समग्र समाजको समानतामा सुधार ल्याउने उनको तडप पक्कै पनि प्रशंसा गर्न योग्य छ । 

आज पनि आस भने बाँकी नै छ । अमेरिका र अन्य राष्ट्रका केही धनाढ्यहरूले वामपन्थीको व्यापक समर्थन र चरम असमानतामाथि अंकुश लगाउने लक्ष्यका लागि समर्थन व्यक्त पनि गरेका छन् । उनीहरू यो लक्ष्य हासिल गर्न आफूमाथि लाग्ने पाखण्डीको आरोप स्विकार्न पनि तयार हुन्छन्, जसले उनीहरूको कार्यलाई नैतिक रूपमा थप बलवान् बनाइदिन्छ ।  

आफ्नो आम्दानीको लाभ खुसीसाथ बाँड्ने प्रगतिशील व्यक्तिहरू प्रशंसनीय छन् । तर, उनीहरूले यो कदम चाले पनि र नचाले पनि अहिलेको सबैभन्दा ठूलो विश्वव्यापी मामिला बनेको चरम असमानता हो । त्यसैले यो असमानतासँग जुध्न सामूहिक कदम चाल्न आवश्यक रहेकोमा मौन रहन भने पाउँदैनन् ।

विश्व बैंकका प्रमुख अर्थविद् रहिसकेका कौशिक वासु भारत सरकारका पूर्वप्रमुख आर्थिक सल्लाहकार एवं कोर्नेल युनिभर्सिटी र ब्रुकिंग्स इन्स्टिच्युसनका नन रेसिडेन्टल वरिष्ठ फेलो हुन् ।

Project Syndicate 2019

नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य