मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७५ चैत १२ मंगलबार ०९:३१:००
Read Time : > 1 मिनेट
विश्व

भारतीय र पाकिस्तानी मन्त्रीको ट्विटरमा वाक्युद्ध

हिन्दू किशोरीको अपहरणपछि बलजफ्ती धर्म परिवर्तन र विवाह प्रकरण

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ चैत १२ मंगलबार ०९:३१:००

दुई हिन्दू किशोरीको अपहरण, जबर्जस्ती धर्म परिवर्तन र विवाहको विषयलाई लिएर भारत र पाकिस्तानका दुई मन्त्रीबीच वाक्युद्ध चलेको छ । किशोरीको अपहरणबारे भारतीय विदेशमन्त्री सुष्मा स्वराजले इस्लामावादस्थित भारतका उच्चायुक्तसँग सोधपुछ गरेपछि स्वराज र पाकिस्तानी सूचनामन्त्री चौधरी फब्बाद हुसेनबीच ट्विटरमा वाक्युद्ध चलेको हो ।

‘किशोरी अपहरणबारे मैले इस्लामावादस्थित भारतीय उच्चायुक्तसँग प्रतिवेदन पठाउन भनेकी छु,’ पीडित हिन्दू किशोरीबारे चासो व्यक्त गर्र्दै विदेशमन्त्री स्वराजले ट्विट गरेकी छिन् । त्यसको जवाफमा पाकिस्तानी सूचनामन्त्री चौधरी फब्बाद हुसेनले भनेका छन्, ‘म्याम ! यो पाकिस्तानको आन्तरिक विषय हो, म तपाईंलाई यो विश्वस्त पार्न चाहन्छु कि यो अल्पसंख्यकमाथि अन्याय हुने मोदीको भारत होइन, बरु इमरान खानको नयाँ पाकिस्तान हो । भारतका अल्पसंख्यक समुदायको सवालमा पनि तपाईंले यत्तिकै चासो दिनुहुनेछ भन्ने मलाई आशा छ ।’

मन्त्री हुसेनले आफ्नो देशको राष्ट्रिय झन्डाको सेतो रंगले अल्पसंख्यकलाई प्रतिनिधित्व गरेको र उनीहरू आफूलाई प्यारो लागेको बताएका छन् । हुुसेनको जवाफमा विदेशमन्त्री स्वराजले दुई हिन्दू किशोरीको अपहरण र उनीहरूको जबर्जस्ती धर्म परिवर्तनबारे आफूले इस्लामावादस्थित भारतीय उच्च आयुक्तबाट रिपोर्ट मात्र मागेको जवाफ दिएकी थिइन् । ‘रिपोर्टले तपार्इंलाई चिडचिडापन ल्याएको छ । यसले केबल तपाईँको दोषी अन्तरात्मा देखाउँछ,’ स्वराजले ट्विट गरेकी छिन् ।

के भएको थियो ?
होलीको अघिल्लो दिन सिन्ध प्रान्तको घोटकी जिल्लाका दुई किशोरीलाई घरबाटै एउटा ‘शक्तिशाली’ मानिसको समूहले अपहरण गरेको थियो । १३ वर्षीया रविना र १५ वर्षीया रिना अपहरणमा परेका थिए । अपहरणलगत्तै दुवै हिन्दू किशोरीको मुस्लिम परम्पराअनुसार विवाह गरेको एउटा भाइरल भिडियो सार्वजनिक भएको थियो ।

अर्को एक भिडियोमा किशोरीहरूले आफूहरूलाई कसैले बन्धक बनाएको नभई स्वेच्छाले धर्म परिवर्तन गरेको बताएका छन् । पाकिस्तानी पत्रिका द एक्सप्रेस ट्रिब्युनका अनुसार किशोरीहरूलाई बलजफ्ती विवाह गरेर धर्म परिवर्तन गरिएको थियो । किशोरीका दाइ सलमान दासका अनुसार हतियारसहित गएका ६ जनाको समूहले किशोरीलाई जबर्जस्ती अपहरण गरेका थिए । तीमध्ये तीनजनालाई चिनेको बताएका छन् । इमरान खानले दिए अनुसन्धानको निर्देशन

 इमरान खानले दिए अनुसन्धानको निर्देशन
सिन्ध प्रान्तमा किशोरीहरूको कथित अपहरण, विवाह र धर्म परिवर्तनबारे पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि चासो देखाएका छन् । छानबिन गरी घटनाको सत्यतथ्य पत्ता लगाउन प्रधानमन्त्री खानले निर्देशन दिएको सूचनामन्त्री हुसेनले बताएका छन् । ‘प्रधानमन्त्री खानले सिन्ध प्रान्तका मुख्यमन्त्रीलाई किशोरी अपहरणबारे सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका छन्,’ हुसेनले ट्विट गरेका छन् । त्यस्ता घटना आगामी दिनमा नहुने वातावरण बनाउन पनि प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताएका छन् । 

 पन्जाब पुगे किशोरी
पाकिस्तानको निजी टेलिभिजन च्यानल जिओ टिभीका अनुसार सुरक्षाको माग गर्दै किशोरीहरू पन्जाब प्रान्तको एउटा अदालतमा पुगेका छन् । किशोरीहरूलाई धर्म परिवर्तन गराइएको र विवाहपछि पन्जाब पु-याइएको पाकिस्तानका अधिकारवादी जिब्रन नसिरले बताएका छन् ।अपहरणमा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति किशोरीको विवाह गराइदिने धर्मगुरु हुन सक्ने सो समाचार संस्थाले अनुमान गरेको छ । पाकिस्तानको सिन्ध प्रान्तमा ठूलो संख्यामा हिन्दू धर्मावलम्बी बसोवास गर्छन् । सरकारको एक तथ्यांकअनुसार पाकिस्तानमा ७५ लाख हिन्दू बसोवास गर्छन्, तीमध्ये अधिकांश सिन्ध प्रान्तमा छन् ।

पीडित कापिता मर्माहत
आफ्ना छोरीको अपहरणपछि पीडितका वृद्ध बाबु विक्षिप्त बनेको भिडियो ट्विटरमा भाइरल बनेको छ । भिडियोमा ती बाबुले सार्वजनिक बाटोमा बसेर आफैँलाई थप्पड हान्दै आफ्ना छोरीहरूलाई सुरक्षित रूपमा फिर्ता पठाइदिन अथवा आफूलाई गोली हानिदिन भनिरहेको देखिन्छ । एक व्यक्ति ट्विट गर्छन्, ‘यी वृद्धले आफ्नो अनुहारमा होइन, समाजको अनुहारमा झापड हानिरहेका छन् ।’