‘अल्कालाइन’ पानी खुवाउने नाममा करिब दुई वर्षअघि तुलसीपुरमा दुईवटा संस्था साझेदारीमा आए। काठमाडौंमा केन्द्रीय कार्यालय रहेको डिजिटल टेक्नोलोजी रेजुलेशन र परिवर्तन सप्लायर्सले सहकार्य गरेर तुलसीपुर–७ स्थित झमरे र आसपासका गाउँमा समूह बनाए। समूहका प्रत्येक ६० जनाले ८/८ हजारका दरले पहिलो किस्ता बुझाए। उनीहरुलाई १५ वर्षपछि एकलाख २० हजारको बीमा पनि गरिदिने र नियमित पानी खुवाउने आश्वासन दिइएको थियो।
पहिलो किस्ता तिरेपछि लक्ष्मी इन्स्योरेन्सको बीमाको पोलिसी पनि आउने र दैनिक पाँच लिटर पानी खुवाउने आश्वासन थियो भने पहिलो आठ हजार रुपैयाँ तिरेपछि बाँकी १४ किस्ता ती संस्थाले नै तिरिदिने बताएका थिए। तर, ६० जनाबाट आठ हजारका दरले पैसा लिएको भएपनि अहिलेसम्म ३८ जनाको मात्रै बीमा पोलिसी बनेको छ। त्यसबाहेक अन्यको पोलिसी पनि नबनाएको पीडित विनिता कुँवरले बताइन्। उनका अनुसार दुई/तीन महिना पानी खुवाएको भएपनि त्यसपछि पानी पनि खुवाउन छोडेपछि सबैले पैसा फिर्ता मागेका छन्। ‘बीमा पोलिसी पनि ३८ जनाको मात्रै भयो, पानी पनि २/३ महिना खुवाएपछि अहिले खुवाउन छोड्यो। पहिलो किस्ता भनेर आठ हजार पनि लगिसक्यो, तर ३८ जनाको मात्रै पोलिसी बनेको छ’,उनले भनिन्, ‘त्यही भएर हामीहरुले पानी पनि चाहिएन, बीमा पनि चाहिएन, पैसा फिर्ता चाहियो भनेर दबाव दिइरहेका छौं।’
‘अल्कालाइन’ पानी छान्नका लागि झुमरेमा मेसिन पनि ल्याइएको छ। त्यो मेसिनले केही समय काम ग¥यो। त्यसलाई पटकपटक मर्मत गर्छौं भन्ने आश्वासन पनि दिए। तर, लामो समय मर्मत नभएपछि अहिले थन्काएर राख्नुपर्ने अबस्था रहेको अर्का पीडित भावना केसीले बताइन्। ‘मेरो बुहारीका नाममा पैसा लिएका हुन्, हाम्रो पसल पनि भएकाले धेरै पानी उत्पादन भएपछि पानी लिएर बेच्ने पनि भनेका थिए,’ उनले भनिन्, ‘तर, अहिलेसम्म केही दिएनन्। अब हामीलाई केही चाहिएन, पैसा फिर्ता दिए हुन्छ।’
अल्कालाइन वाटर (क्षारीय पानी)मा सामान्य पानीमा भन्दा बढी पिएच स्तर हुन्छ। पिएच स्तर एक मापन एकाइ हो, जसले पानीमा अम्लीय र क्षारीय गुणको स्तरबारे जानकारी दिन्छ। क्षारीय पानीले शरीरमा हुने हानिकारक एसिडलाई बिस्तारै नस्ट गर्ने भएकाले क्यान्सरलगायतका दीर्घकालीन रोगहरु रोकथाममा मद्दत गर्छ।
उक्त मेसिनलाई १५ वर्षपछि समुदायमै दिने पनि उनीहरुको आश्वासन थियो। जापानी प्रविधिबाट निर्माण भएको त्यो मेसिनलाई त्यतीबेला साढे पाँच लाख रुपैयाँ लगानी गरेर ल्याइएको स्थानीय गेमलाल न्यौपानेले बताए। ‘त्यतीबेला पाँच लाख रुपैयाँ लगानी गरेर ल्याइएको हो,’ उनले भने, ‘दुई/तीन महिना त पानी पनि खुवायो, त्यसपछि अहिले यो मेसिनको फिल्टर बिग्रिएको भन्दै काठमाडौंबाट मगाउँदा ढिला भएको भने। पछि जापानबाट ल्याउनु पर्छ भनेको सात महिनाभन्दा बढि भयो, अहिलेसम्म पनि आएको छैन।’
सामाजिक परिचालकले पाएनन् तलब
यो कार्यका लागि उनीहरुले केही कर्मचारी पनि राखेका थिए। सामाजिक परिचालकको रुपमा झुमरेकी विनिता कुँवुर कार्यरत थिइन्। उनले नै ६० जनाको समूह बनाइन्। तर, त्यसबापत् पाउने तलब र अन्य सुविधा नपाएको उनको गुनासो छ। ‘सामाजिक परिचालकको १५ लाखको बीमा गरिदिने, मासिक १५ हजार तलब दिने कुरा थियो,’ उनले भनिन्, ‘तर, काम गर्दा उल्टै मेरो पैसा खर्च भएको छ, मैलै एक रुपैयाँ पनि पाएकी छैन।’ फिल्डमा जाँदा लागेको खर्च पनि नपाएको उनको गुनासो छ।
घर–घरमा पानी वितरण गर्नका लागि सोही ठाउँका कमल पुनको अटो रिक्सा पनि प्रयोग गरिएको थियो। तर, अहिलेसम्म अटो भाडासमेत नपाएको उनले गुनासो गरे। ‘मेरै अटो प्रयोग गरेर पानी ओसारपसार गरिएको हो,’ उनले भने, ‘तर, अहिलेसम्म त्यसवापतको पैसा पाएको छैन।’
तुलसीपुरमा मात्रै होइन, शान्तिनगरमा पनि त्यस्तै समस्या छ। शान्तिनगरमा टीकाराम बुढाथोकीले समूह बनाउने र किस्ताबापतको ८ हजार रुपैयाँ उठाएर संस्थालाई बुझाउने काम गरेका थिए। तर, अझैसम्म अधिकांशको पोलिसी आएको छैन।
संस्थाका प्रदेश प्रमुख निराजन विकले यो विषयमा आफूले केन्द्रीय कार्यालयमा जानकारी गराएको बताए। आफू पनि कर्मचारी भएको र पैसा फिर्ताका लागि पहल भइरहेको उनको जिकिर छ।