मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ भदौ २८ मंगलबार ०९:२२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

श्रीलंकाले हात पार्‍यो एक लाख ५० हजार डलर

Read Time : > 1 मिनेट
२०७९ भदौ २८ मंगलबार ०९:२२:००

श्रीलंकाले पाकिस्तानलाई २३ रनले हराउँदै एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । दुबईमा आइतबार सम्पन्न फाइनलमा श्रीलंकाले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर एक सय ७० रनको बलियो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा पाकिस्तान २० ओभरमा एक सय ४७ रनमा समेटियो । श्रीलंकाको जितमा प्रामोद लियागामागेले ३४ रन खर्चेर चार विकेट लिए । श्रीलंकाको जितमा श्रीलंकाका वानिन्डु हसरंगा म्यान अफ दी सिरिज भए । उनले प्रतियोगितामा नौ विकेट लिनुका साथै ६६ रन जोडेका थिए । च्याम्पियन श्रीलंकाले एक लाख ५० हजार डलर र उपविजेता पाकिस्तानले ७५ हजार डलर पाएका छन् । श्रीलंकाले एसिया कप १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा जित्यो । 

रिजवान सर्वाधिक रनकर्ता
उपविजेता पाकिस्तानका मोहमद रिजवान प्रतियोगिताकै सर्वाधिक रनकर्ता बनेका छन् । उनले ६ खेलमा सर्वाधिक दुई सय ८१ रन जोडेका थिए । उनको स्ट्राइक रेट ११७.५७ रह्यो । यसैगरी, भारतका विराट कोहलीले पाँच खेलमा दुई सय ७६ रन जोडे । प्रतियोगितामा उनले अफगानिस्तानविरुद्ध शतकीय इनिङ्स खेलेका थिए । यसैगरी, अफगानिस्तानका इब्राहिम जार्दान तेस्रो स्थानमा छन् । उनले पाँच खेलमा एक सय ९६ रन बटुले । श्रीलंकाका भानुका राजपाक्षेले ६ खेलमा एक सय ९१ रन जोडे । 

भुवनेश्वर धेरै विकेट लिने
सुपर चारबाट बाहिरिएको भारतका भुवनेश्वर कुमार प्रतियोगिताकै सर्वाधिक विकेट लिने बलर बनेका छन् । उनले पाँच खेलमा सर्वाधिक ११ विकेट हात पारे । उनको इकोनोमी ६.५ रह्यो । प्रतियोगितामा भुवनेश्वरले ५÷४ को उत्कृष्ट बलिङ स्पेल गरेका थिए । यसैगरी, श्रीलंकाका वानिन्डु हसरंगा दोस्रो सर्वाधिक विकेट लिने बलर बनेका छन् । उनले ६ खेलमा नौ विकेट हात पारे । पाकिस्तानका मोहमद नवाज तेस्रो स्थानमा छन् । उनले ६ खेलमा आठ विकेट झारे । पाकिस्तानकै सादाव खानले ६ खेलमा आठ विकेट हात पारे । 

भानुका म्यान अफ दी म्याच
श्रीलंकालाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका श्रीलंकाका भानुका राजपाक्षे फाइनलका म्यान अफ दी म्याच भएका छन् । उनले पाँच हजार डलर पाएका छन् । उनले कमजोर श्रीलंकाको इनिङ्स उकास्दै ४५ बलमा ६ चौका र तीन छक्काको सहयोगमा ७१ रन बनाएका थिए । यसैगरी, श्रीलंकाकै वानिन्डु हसरंगाले म्यान अफ दी सिरिज हुँदै १५ हजार डलर पाएका छन् ।