मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ भदौ २७ सोमबार ०७:५०:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

दोर्दी करिडोर : १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा

Read Time : > 1 मिनेट
२०७९ भदौ २७ सोमबार ०७:५०:००

निजी क्षेत्रका आयोजनाको बिजुली खेर नजाने

लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । प्रसारण लाइन सञ्चालनमा आएसँगै दोर्दी करिडोरमा निजी क्षेत्रले निर्माण गरेका चार जलविद्युत् आयोजनाको ७२ मेगावाट विद्युत् कीर्तिपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ ।  

नेपाल विद्युत् प्राधिकरणले लमजुङको बेँसीसहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइनमा आइतबारबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको हो । १३२/११ केभी कीर्तिपुर सबस्टेसन यसअघि आंशिक रूपमा सञ्चालनमा आइसकेको थियो, अब सबस्टेसन पनि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ ।  

प्रसारण पूर्वाधार अभावमा ती आयोजनाको विद्युत् खेर जाने अवस्थाको अन्त्य भएको दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलले बताए । ‘प्रसारण लाइन अभावमा विद्युत् जोड्न नपाउने हो कि भन्ने चिन्ता र चासो निजी लगानीकर्ताहरूलाई थियो, अब लाइन सञ्चालनमा आएपछि कुनै पनि आयोजनाको बिजुली खेर जाँदैन,’ उनले भने ।  

दोर्दी खोलामा निर्माण भएको जलविद्युत् आयोजनाहरूको विद्युत् दोर्दी करिडोर प्रसारण लाइनमार्फत उदीपुर सबस्टेसनमा जोडिनेछ । उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि आयोजनाहरूको विद्युत् वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्यमर्स्याङ्दी विद्युतगृहको स्विचयार्डमा जोड्ने व्यवस्था गरिएको छ । यसका लागि निर्माणाधीन २२० केभीे मर्स्याङ्दी करिडोरको करिब ६ किलोमिटर लाइनलाई प्रयोगमा ल्याइएको छ ।

करिब ८५ करोड रुपैयाँ अनुमानित लागत रहेको दोर्दी करिडोर प्रसारण लाइन सरकारको लगानीमा निर्माण गरिएको हो । प्रसारण लाइनको लम्बाइ १० किलोमिटर छ । आयोजनाले नै कीर्तिपुरमा १३२ केभीको सबस्टेसन निर्माण गरेको हो । 

प्रसारण लाइनमा २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ए, १२ मेगावाटको दोर्दी खोला– १ र ८.६३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजना जोडिनेछन् ।