१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ८ आइतबार १२:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेकपाको स्थायी समिति बैठक : राजनीतिक प्रतिवेदनमाथिको छलफल सकियो

अध्यक्षद्वय ओली र प्रचण्डले बैठकमा उठेका प्रश्नको आजै जवाफ दिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ८ आइतबार १२:०१:००

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ । 

पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा ८ दिनयता जारी पार्टी स्थायी समितिको आइतबार बिहान बसेको बैठकमा नेता प्रदिप ज्ञवालीले पनि आफ्नो विचार राखेपछि अध्यक्षद्वय ओली र प्रचण्डले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको हो । छलफलमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ आजै अपरान्ह बस्ने पार्टी स्थायी समिति बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले दिनेछन् । अध्यक्षद्वयको कार्यव्यस्तताका कारण प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिन अपरान्ह ४ बजे पुनः बैठक बोलाइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

४५ सदस्यीय स्थायी समिति बैठकमा बोल्ने धेरैजसो नेताहरुले पार्टी एकीकरणको कामलाई अझै पूर्णता दिन नसकेको भन्दै पार्टी नेतृत्वको र जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।  केही नेताहरुले विवादास्पद ‘एशीया प्यासिफिक सम्मेलन’मा भाग लिएको भन्दै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आत्माआलोचना गर्नुपर्ने माग समेत गरेका थिए ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले मापदण्ड समेत तय नगरी पार्टी प्रदेश कमिटी गठन गरिएकोमा आपत्ति जनाउँदै सच्याउन माग गरेका थियो भने अर्का वरिष्ठ नेता झलनाथ खनालले अध्यक्षद्वय ओली र प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन पार्टीको उचाई अनुसार नआएको उल्लेख गर्दै पुनर्लेखन गर्न माग गरेका थिए । अपरान्ह पुनः बस्ने स्थायी समिति बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि प्रस्तुत राजनीतिक प्रतिवेदन पारित हुने वा परिमार्जन गर्ने भन्ने विषयमा टुंगो लाग्ने वरिष्ठ नेता खनालले बताए ।