मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवराज मैनाली काठमाडाैं
२०७९ भदौ २५ शनिबार ०५:५३:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपालमा बालबालिकामा आत्महत्या प्रवृत्ति चिन्ताजनक

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७९ भदौ २५ शनिबार ०५:५३:००

सन्दर्भ : विश्व आत्महत्या रोकथाम दिवस 

पछिल्लो पाँच वर्षमा मात्र १७ सय ४२ बालिका र ११ सय ८ बालकले गरे आत्महत्या

नेपालमा बालबालिकामा आत्महत्या प्रवृत्ति डरलाग्दो रूपमा बढेको छ । प्रहरी तथ्यांकअनुसार हरेक दिन औसतमा दुई बालबालिकाले आत्महत्या गर्दछन् । आर्थिक वर्ष ०७८/७९ मा सात सय नौ बालबालिकाले आत्महत्या गरेका छन् । पछिल्लो पाँच वर्षमा दुई हजार आठ सय ३० बालबालिकाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ । 

बालबालिका आत्महत्या तथ्यांक निकै डरलाग्दो भएको र सबै पक्ष यसमा सचेत हुनुपर्ने प्रहरी अधिकारी तथा मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकाहरू बताउँछन् । आत्महत्या न्यूनीकरण अभियानमा सहयोग गर्दै आएका नेपाल प्रहरीका अवकाशप्राप्त डिआइजी पीताम्बर अधिकारी उमेर पुगेका व्यक्तिले डिप्रेसनका कारण, तर बालबालिकाले कुनै घटनाको तत्काल प्रतिक्रियास्वरूप आवेशमा आई आत्महत्या गर्ने गरेको बताउँछन् ।

डा. आशिष दत्त मनोचिकित्सक, नेपाल प्रहरी अस्पताल
‘पछिल्लो समय बालबालिका अत्यधिक समय गजेट र सामाजिक सञ्जालमा भुल्न थालेका छन्, सामाजिक सञ्जालमा अपरिचितसँग साथी बन्ने, कतिपय सानै उमेरमा प्रेम–सम्बन्धमा गाँसिने र समस्या आएपछि आत्महत्याका घटना पनि देखिएका छन्,’ उनी भन्छन्, ‘आफ्ना सन्तानले सामाजिक सञ्जालको प्रयोग कसरी गरिरहेका छन् भन्ने विषयमा अभिभावकले हेक्का राख्नु जरुरी छ ।’ 

यसमा अभिभावक सचेत हुनुपर्ने उनको भनाइ छ । ‘उमेर पुगेका व्यक्तिले डिप्रेसनका कारण, तर बालबालिकाले कुनै घटनाको तत्काल प्रतिक्रियास्वरूप आवेशमा आई आत्महत्या गर्छन् । आत्महत्या रोक्न सकिन्छ भन्ने धेरैलाई थाहा नै छैन, यो अहिलेको मुख्य समस्या छ,’ उनी भन्छन्, ‘जो आत्महत्याको जोखिम क्षेत्रमा छन्, उनीहरूलाई मनोसामाजिक परामर्शबाट रोक्न सकिन्छ । बालबालिकाको हकमा अभिभावक सचेत हुनुपर्छ ।’ 

नेपाल प्रहरी अस्पतालमा कार्यरत मनोचिकित्सक डा. आशिष दत्त बालबालिकामा आत्महत्या बढ्नुको एउटा कारण सामाजिक सञ्जालको गलत प्रयोगसँग समेत जोडिएको बताउँछन् । ‘पछिल्लो समय बालबालिका अत्यधिक समय गजेट र सामाजिक सञ्जालमा भुल्न थालेका छन्, सामाजिक सञ्जालमा अपरिचितसँग साथी बन्ने, कतिपय सानै उमेरमा प्रेम–सम्बन्धमा गाँसिने र समस्या आएपछि आत्महत्याका घटना पनि देखिएका छन्,’ उनी भन्छन्, ‘आफ्ना सन्तानले सामाजिक सञ्जालको प्रयोग कसरी गरिरहेका छन् भन्ने विषयमा अभिभावकले हेक्का राख्नु जरुरी छ ।’ 

राम्रोसँग अभिभावकत्व पाउन नसकेका बालबालिकाले आत्महत्या गर्ने गरेको डा. दत्तको अनुभव छ । ‘बालबालिकामा आएको व्यावहारिक परिवर्तनको ख्याल गर्नुपर्छ, उनीहरूमा अत्यधिक रिसाउने तथा मर्छु भन्ने घुर्की लगाउने बानी देखियो भन्ने तत्काल चिकित्सककहाँ लगेर उपचार गराउनुपर्छ,’ उनी भन्छन् । 

अभिभावकले सामान्य गाली गर्दा पनि कतिपयले आत्महत्या गरेका घटना छन् । परीक्षामा फेल हुँदा तथा प्रेम–सम्बन्धका कारण कतिपय बालबालिकाले आत्महत्या गरेका छन् । गत साता मात्र बानेश्वरमा एक बालक र एक बालिकाको पाँच तलाबाट खसेर मृत्यु भएको थियो । प्रारम्भिक अनुसन्धानमा प्रेम–सम्बन्धका कारण उनीहरूले संयुक्त रूपमा आत्महत्या गरेको हुन सक्ने प्रहरी आकलन छ । 

आत्महत्या गर्नेमा बालिका धेरै 
नेपालमा समग्रमा आत्महत्या गर्नेमा महिलाभन्दा पुरुष धेरै छन् । तर, कम उमेरमा भने बालकको तुलनामा बालिकाको संख्या दोब्बर छ । गत आर्थिक वर्षमा दुई सय ५६ बालकले आत्महत्या गर्दा बालिकाको संख्या चार सय ५६ छ ।

त्यस्तै, आर्थिक वर्ष ०७७/७८ मा चार सय ७० बालिका तथा दुई सय ९४ बालकले आत्महत्या गरेका थिए । आर्थिक वर्ष ०७६/७७ मा दुई सय ५१ बालक र चार सय नौ बालिका, ०७५/७६ मा एक सय ८९ बालका र दुई सय ७० बालिका, ०७४/७५ मा एक सय १८ बालक र एक सय ३७ बालिकाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ । बालिकाको आत्महत्यादर धेरै रहेको र यो अध्ययनको विषय भएको प्रहरी अस्पतालका मनोचिकित्सक डा. आशिष दत्त बताउँछन् । 

समग्रमा भने आत्महत्या गर्नेमा पुरुषको संख्या धेरै छ । गत आर्थिक वर्षमा दुई हजार दुई सय ६१ महिलाले आत्महत्या गर्दा पुरुषको संख्या तीन हजार आठ सय ६० छ । अघिल्लो आर्थिक वर्षमा आत्महत्या गर्ने महिलाको संख्या दुई हजार चार सय ४९ तथा पुरुषको संख्या तीन हजार नौ सय २८ थियो । नेपालमा औसतमा दैनिक १८ जनाले आत्महत्या गर्ने प्रहरी तथ्यांक छ । 

विश्वभरि नै आत्महत्या ठूलो समस्या बनिरहेको छ । वर्षमा सात लाख तीन हजार व्यक्तिले आत्महत्या गर्ने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । हरेक वर्ष १० सेप्टेम्बरमा आत्महत्या रोकथाम दिवस मनाउने गरिएको छ । शनिबार नेपालसहित विश्वभरि आत्महत्या रोकथाम दिवस मनाइँदै छ । 

नेपाल प्रहरीका पूर्वडिआइजी पीताम्बर अधिकारी आत्महत्याका कारणबारे सूक्ष्म अनुसन्धान नहुँदा पनि नेपालमा समस्या रहेको बताउँछन् । ‘आत्महत्या गर्ने व्यक्तिको शरीरको अटोप्सी हुन्छ, तर मनोवैज्ञानिक अटोप्सी हुँदैन,’ उनी भन्छन्, ‘आत्महत्या कसरी गर्‍यो भन्नेसँगै किन गर्‍यो भनेर पनि प्रहरी र चिकित्सकले सँगै अनुसन्धान गरेर कारण पत्ता लगाउँदा रोकथाममा सहज हुन्छ ।’