माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन लागेको बताएका छन्। उनले केही दिनअघि छलफलका क्रममा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउने अभिलाषा राखेको बुझेको उल्लेख गरे।
शुक्रबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रपतिसँग अब दोस्रोपटक विधेयक प्रमाणीकरण नगर्ने छुट नरहेको प्रस्ट पारे। प्रमाणीकरण नभए यो विषय अदालतमा जाने वा राष्ट्रपतिको राजीनामा आउने बताए।
‘केही दिनअघि उहाँसँग भेटेर कुरा गर्दा उहाँ यो विषयलाई ठूलै राजनीतिक विषय बनाउने मोडमा रहेको देखेको थिएँ। त्यसकारण (प्रमाणीकरण) नगर्ने सम्भावना पनि छ। त्यसो भए एउटा कुरा– अदालतमा इस्यु जान्छ, अदालतको फैसलापछि अघि बढ्छ। दोस्रो– उहाँले राजीनामा दिने हो,’ उनले भने।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले नागरिकता विधेयकको प्रस्ताव लैजाँदा सोच्दै नसोची प्रमाणीकरण गर्ने राष्ट्रपतिले अहिले सोही प्रस्ताव प्रमाणीकरण नगरेकोमा अध्यक्ष प्रचण्डले आक्रोश व्यक्त गरे। विधेयकबारे भ्रम फैलाउन आवश्यक नरहेको भन्दै उनले भने, ‘कसैले पनि भ्रम फैलाउन वा भ्रम पाल्न जरुरी छैन। किनभने हामीले अहिले गरेको कुरा यति मात्रै हो कि जन्मसिद्ध नागरिक बनेका बाबुआमाका छोराछोरीले वंशजको आधारमा नागरिकता पाउनुपर्छ। लाखौँको संख्यामा छन्, उनीहरूलाई नागरिकताविहीन बनाउन हुँदैन ।’