मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १६ बिहीबार १८:५१:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

अर्थशास्त्रका विद्यार्थीलाई पुनले भने – नौ हजार मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने सम्भावना छ

त्रिविमा भिजिटर प्राेफेसर रूपमा वर्षमानले लिए 'क्लास'

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १६ बिहीबार १८:५१:००

माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले त्रिभुवन विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा कक्षा लिएका छन्। उनले त्रिविको केन्द्रीय अर्थशास्त्र विभाग, कीर्तिपुरमा अध्ययनरत विद्यार्थीलाई आज भिजिटिङ प्रोफेसरका रूपमा कक्षा लिएका हुन्। 
त्यसक्रममा उनले नेपालको बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागि वातावरण बन्दै गएको बताए। विद्युतको बजारका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउने तयारी भइरहेको भन्दै उनले अहिले सानो मात्रामा भारतको बजार खुलेको र निकट भविष्यमै बंगलादेशको बजारसमेत नेपालका लागि खुल्ने विश्वास व्यक्त गरे। 

उनले भारतीय लगानीकर्ता कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर) ले उत्पादन गर्नेमध्येको पाँच सय मेगावाटबराबरको बिजुली बंगलादेश पुगेको खण्डमा त्यसले नेपालको थप बिजुली लैजानका लागिसमेत मार्ग खुल्ने बताए। 

जिएमआरको म्याद पटक–पटक किन थपिएको भनेर प्रश्न पनि उठ्ने गरेको उल्लेख गर्दै उनले बंगलादेशको बजार खुल्ने विश्वासका साथ सरकारले दीर्घकालीन हित हेरेर निर्णय गरेको स्पष्ट गरे। 

विश्वव्यापी बोलपत्रका माध्यमबाट जिएमआरले नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मेवारी पाएको हो। आयोजनाको म्याद पटक-पटक थप भए पनि थप प्रगति हुन सकेको छैन। पछिल्लोपटक पनि सरकारले थप दुई वर्ष म्याद थप गरेको छ। 

जिएमआरले पाँच सय मेगावाट बिजुली बंगलादेश निर्यातका लागि विद्युत् खरिद सम्झौताको तयारी भइरहेको जनाएको छ। उपमहासचिव पुनले भारतको अर्को कम्पनी सतलजले निर्माण गरिरहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाले पनि विद्युत् निकासीका लागि थप वातावरण बनाउने भएकाले सरकारले दीर्घकालीन हितका साथ काम गरिरहेको बताए। 

सो कम्पनीले पनि बिजुली निर्यातका लागि पूर्वाधार निर्माण गरिरहेको छ। ती आयोजनाको बिजुली भारत निर्यात हुन थालेपछि नेपाल सरकारले पनि आफ्नातर्फबाट कुरा गर्न थप सहज हुने र बहसका लागि समेत सहज हुने उपमहासचिव पुनको भनाइ छ। 

‘भारतीय कम्पनीको लिने, हाम्रो किन नलिने भन्ने प्रश्न उठछ। त्यसबाट हामीलाई फाइदा हुन्छ,’ उनले भने । हाल नेपाल विद्युत् प्राधिकरणले तीन सय ६४ मेगावाटबराबरको बिजुली निर्यात गरिरहेको सन्दर्भ जोड्दै पूर्वऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका पुनले निजी क्षेत्रलाई पनि बिजुली व्यापारका लागि मार्ग प्रशस्त गर्न लागिएको बताए।  

उनले बंगलादेशले सन् २०४० सम्म नौ हजार मेगावाटबराबरको बिजुली लैजाने सहमति गरेको उल्लेख गरे। नेपालमा उत्पादित बिजुली आन्तरिक खपतका लागि नै प्रयोग गरिने उनको भनाइ छ। व्यापार घाटा घटाउन तथा पेट्रोलियम पदार्थको खपत घटाउनका लागि विद्युतीय सवारीसाधनको प्रयोग नै उपयुक्त हुने उनले जोड दिए। 

यस्तै, प्राकृतिक स्रोतको अधिकतम उपभोग गर्ने लक्ष्यका साथ सरकारले जलविद्युत् आयोजनामा पूर्ण क्षमताअनुसार विकास गर्ने कार्य ‘क्यू’ को क्षमतालाई घटाइएको उनले बताए। वर्षायामको बिजुलीको बजार उपलब्ध हुने अवस्था देखिएपछि कानुनी प्रबन्धमा सुधार भएको पूर्वमन्त्री पुनको भनाइ छ।