मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १६ बिहीबार ०९:०८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मुक्तिनाथ कृषि कम्पनीले एकैसाथ  आठवटा सहायक कम्पनी खोल्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १६ बिहीबार ०९:०८:००

कृषिचक्रलाई आवश्यक पर्ने सबै आवश्यकता सहायक कम्पनीमार्फत पूरा गरिने

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नो चौथो स्थापना दिवसको अवसर पारेर कृषि क्षेत्रमा विशिष्टीकृत वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्यसहित एकैपटक आठवटा सहायक कम्पनी सञ्चालनमा ल्याएको छ । मुक्तिनाथ सिड बैंक लिमिटेड, मुक्तिनाथ फर्टिलाइजर बैंक लिमिटेड, मुक्तिनाथ नर्सरी बैंक लिमिटेड, मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेड, मुक्तिनाथ हर्बल बैंक लिमिटेड., मुक्तिनाथ फुड बैंक लिमिटेड, मुक्तिनाथ एग्रो मेसिनरी कम्पनी लिमिटेड र मुक्तिनाथ ट्रेडिङ लिमिटेडको एकै दिन उद्घाटन गरिएको हो । 

कृषि क्षेत्रको समग्र विकासका लागि वित्तीय र गैरवित्तीय सेवा प्रदान गरी कृषिचक्र बनाउने उद्देश्यले मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको जनाइएको छ । स्थापनाकालदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक साझेदार, कम्पनी तथा फर्म, कृषक समूह, सहकारीसँग सहकार्य गर्दै कृषिको मूल्य शृंखला विकासका लागि व्यवस्थापकीय भूमिका निर्वाह गर्ने प्रयत्न गरिरहेको कम्पनीले जनाएको छ । 

कम्पनीले स्थापनाको चार वर्षमा विशेष गरी नेपालको कृषि क्षेत्रमा विद्यमान समस्या, भइरहेका प्रयास, व्यावसायिक अवसर र समग्र कृषि क्षेत्रको विकासमा समग्र निजी क्षेत्र र कम्पनीले गर्नुपर्ने लगानीका क्षेत्र पहिचान तथा स्पष्ट मार्गचित्र तयार गरेको दाबी गरेको छ । साथै, कम्पनीले आफ्नो उद्देश्यअनुसार हाल कृषकहरूलाई आवश्यक मल, बिउ, किरा नियन्त्रक, औजार–उपकरणजस्ता गुणस्तरीय उत्पादनका साधनका साथै कृषि परामर्श सेवा, अनुसन्धान, विकास र प्रविधि प्रसारको साथै कृषि उत्पादनको खरिद सुनिश्चितता गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरणसम्बन्धी कार्य गर्दै आइरहेको जनाएको छ ।

हालसम्म कम्पनीले ६२ वटा जिल्लामा विभिन्न व्यावसायिक साझेदारका माध्यमबाट कम्पनीको वस्तु तथा सेवा प्रवाह गरेको जनाइएको छ । जसका लागि पोखरा, बुटवल र चितवनमा प्रादेशिक कार्यालय सञ्चालनमा रहेको र यो वर्ष इटहरी, चन्द्रनिगाहपुर, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालय स्थापनाको अन्तिम चरणमा पुगेको जनाइएको छ ।

कम्पनीले स्थापना गरेको सहायक कम्पनीहरूमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत र सर्वसाधारणबाट २० प्रतिशत लगानी रहने उल्लेख गरेको छ । हरेक सहायक कम्पनीले कृषि र सम्बन्धित क्षेत्रका लागि विशिष्टीकृत वस्तु तथा सेवाको उपलब्ध गराउने जनाइएको छ ।

जसमा बिउ बैंकले गुणस्तरीय बिउ प्रवर्द्धन, मल बैंकले मलको दिगो मल व्यवस्थापन, नर्सरी बैंकले जुनसुकै समयमा रोपणका लागि आवश्यक तयारी बिरुवा उपलब्धता, लाइभस्टक बैंकले पशुपन्छीजन्य उत्पादनको उत्पादकत्व वृद्धि, हर्बल बैंकले प्राकृतिक अर्थतन्त्रको विकास, फुड बैंकले देशको संवृद्धिका लागि, मेसिनरी कम्पनी नेपाल उपयोगी औजार उपकरण उत्पादन, र ट्रेडिङ कम्पनीले एकैठाउँबाट कृषक र उपभोक्तालाई आवश्यक सामग्रीको वितरणका कार्य गर्ने कम्पनीले जनाएको छ ।