१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अनिल यादव नयाँ पत्रिका
२०७९ भदौ ११ शनिबार ०८:१५:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नाम मुछिएपछि सिआइबी पुगे केकी र आर्यन

Read Time : > 4 मिनेट
अनिल यादव, नयाँ पत्रिका
२०७९ भदौ ११ शनिबार ०८:१५:००

नर्वे भिसाका लागि पर्यटन बोर्डको कागजात किर्ते गरेको प्रकरणमा आफ्नो नाम मुछिएपछि तीन कलाकार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को सम्पर्कमा पुगेका छन् । अभिनेता आर्यन सिग्देल, अभिनेत्री केकी अधिकारी र निर्देशक दीपकप्रसाद आचार्यले शुक्रबार महाराजगन्जस्थित ब्युरोको कार्यालयमै पुगेर आफ्नो नामको दुरुपयोग भएको भन्दै जाहेरी दिएका छन् ।

‘आफ्नो नामको दुरुपयोग भएको भन्दै यसको सत्यतथ्य छानबिन होस् भनेर उनीहरूले जाहेरी दिएका छन्,’ सिआइबी प्रमुख एआइजी उत्तमराज सुवेदीले भने, ‘यो घटनाको अन्तर्य र नियतबारे अहिले नै केही भन्न सकिन्न । हाम्रो छानबिन सुरु भइसकेको छ । चाँडै निष्कर्षमा पुग्नेछौँ ।’ दुई साताअघि नर्वेजियन दूतावासमा ‘ब्लु बर्ड एच डी’ नामक चलचित्र निर्माण कम्पनीमार्फत ‘तिम्रो नजर’ नामक फिल्मको सुटिङ प्रयोजनका लागि भन्दै १४ जना व्यक्तिको भिसा माग गरिएको थियो । जसमा भिसा उपलब्ध गराइदिन आग्रहसहित नेपाल पर्यटन बोर्डकोे सिफारिसपत्र थियो । 

आर्यन सिग्देल
दुईवटा म्युजिक भिडियो सुटिङ गर्न जाने भनेर मसँग पासपोर्ट मागिएको हो । मलाई गुमराहमा राखेर पराजुलीले पासपोर्टको दुरुपयोग गरेको रहेछ । 

सिफारिसपत्रमा शंका लागेपछि दूतावासले अघिल्लो साताको बुधबार प्रमाणीकरणका लागि बोर्डलाई इमेल लेखेको थियो । उक्त पत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीको हस्ताक्षर, बोर्डको लेटरप्याड र छाप किर्ते गरेको पाइएपछि बोर्डले सिआइबीलाई गहिरिएर अनुसन्धान गर्न पत्राचार गरेको थियो  । 

भिसा आवेदनमा केकी, आर्यन र दीपकबाहेक अरू नाम कला क्षेत्रका लागि अपरिचित नाम छन् । प्रारम्भिक अनुसन्धानमा फिल्मको निर्माता बनेर भिसा आह्वान गरेका रोशन पराजुलीले सुटिङको बहानामा फिल्म प्राविधिक बनाएर अन्य व्यक्तिलाई नर्वे पुर्‍याउन खोजेको देखिए पनि पराजुली पक्राउ पर्न नसकेकाले प्रहरी ठोस निष्कर्षमा पुग्न सकेको छैन ।

भिसा आवेदनमा फिल्मको एडमिन–फाइनान्स हेडका रूपमा विक्रम बस्नेत, हेड मेकअप आर्टिस्टका रूपमा रीता सापकोटा खनाल, कोरियोग्राफरका रूपमा माजोहित अन्सारी, ड्रेस डिजाइनर दीपेन भुजेल, क्यामरापर्सनका रूपमा सरोज गुरुङ, सहनिर्माताका रूपमा भक्तबहादुर राना मगर, सहायक निर्देशकका रूपमा टेसबहादुर रन्टिजा, सिनेमाटोग्राफरका रूपमा राजु गुरुङ, प्रोडक्सन कन्ट्रोलरका रूपमा लक्ष्मण आचार्य र प्रमुख लाइट म्यानका रूपमा मीनराज गुरुङको भिसा माग गरिएको छ । 

निर्माता भनिएका रोशन पराजुलीले यसअघि चर्चित भारतीय गायक मिका सिंहको स्वरमा आर्यन सिग्देलदेखि पल शाह र दुर्गेश थापालाई अभिनय गराई ‘बोतलको बिर्को’ बोलको म्युजिक भिडियो निर्माण गरेको देखिन्छ । युट्युबमा यो गीत अहिलेसम्म १० लाखभन्दा बढीपल्ट हेरिएको छ । 

केकी अधिकारी
रोशन पराजुली भन्ने व्यक्तिलाई मैले अहिलेसम्म चिनेको छैन । मेरो नाम आपराधिक प्रयोजनका लागि प्रयोग गरिएको रहेछ भने दोषीमाथि कडा कारबाही होस् ।

कलाकार भन्छन्– दोषीलाई कारबाही होस्
भिसा माग गर्ने १४ जनाको सूचीमा देखिएकी अभिनेत्री केकी अधिकारीले ‘तिम्रो नजर’ नाम गरिएको चलचित्रसँग आफ्नो कुनै पनि सम्झौता नभएको बताएकी छिन् । अभिनेत्री केकीले पराजुलीलाई नचिनेको पनि प्रतिक्रिया दिएकी छिन् । भिसा अप्लाईमा आफ्नो पासपोर्ट नम्बरसमेत गलत रहेको र आपराधिक प्रयोजनका लागि आफ्नो नामको दुरुपयोग भएको भन्दै केकी आफैँ अनुसन्धानको मागसहित सिआइबी कार्यालय पुगेकी हुन् । उनले गैरकानुनी क्रियाकलाप गरिएको रहेछ भने दोषीमाथि कडा कारबाहीको माग गरिन् ।

अर्का अभिनेता सिग्देलले भने आफूलाई गुमराहमा राखेर पराजुलीले पासपोर्टको दुरुपयोग गरेको बताएका छन् । ‘दुइटा म्युजिक भिडियो सुटिङ गर्ने भनेर पासपोर्ट दिएको थिएँ,’ उनले भने, ‘मसँग यसरी अरू मान्छे लाने कुरै गरेको थिएन । चार–पाँचजना युनिटको मान्छे मात्रै जाने कुरा गरेको थियो । तर, उसको धन्दै त्यस्तो रहेछ । अस्ति दिल्लीमा छु भन्थ्यो, अहिले सम्पर्कविहीन छ । ’

निर्देशकका रूपमा भिसा अप्लाई गरिएका दीपकप्रसाद आचार्यले भने आफूले करिब एक वर्षअघि निर्माता भनिएका पराजुलीलाई चिनेको, तर किर्ते प्रकरणबारे केही जानकारी नभएको बताए । उनले पराजुलीलाई पासपोर्टको फोटोकपी मात्रै दिएका रहेछन् । ‘मलाई दुईवटा म्युजिक भिडियो निर्देशनका लागि भनेर कुरा गरेको थियो, यहाँ त मैले सुन्दै नसुनेको फिल्मका लागि १४ जनाको भिसा मागेको रहेछ, म अचम्ममा छु,’ सिआइबीमा जाहेरी दिएर फर्केका उनले नयाँ पत्रिकासँग भने । 

सामान्यतः फिल्मका प्राविधिकहरू निर्माताभन्दा पनि निर्देशककै रोजाइमा चुनिने गर्छन् । तर, यो घटनामा प्राविधिक भनेर निवेदन दिइएका नामहरू नै निर्देशक आचार्यले ‘अहिलेसम्म नसुनेको’ बताए । यसले पनि पर्यटन बोर्डको कागजात किर्ते गर्नुमा मानव तस्करीको उद्देश्य नै देखिन्छ ।

मानव तस्करीमा यसअघि पनि तानिएका थिए कलाकार
कलाको आवरणमा कसरी गैरकलाकारलाई विदेश पुर्‍याउने गरिन्छ भन्ने यो घटना दूतावासको इमेलपछि सतहमा आएको प्रतिनिधि मात्रै हो । पछिल्लो समय सांस्कृतिक कार्यक्रम, अवार्ड समारोह, सुटिङलगायत बहानामा मनोरञ्जन वृत्तभित्र मानव तस्करीको ट्रेन्ड बढिरहेको छ । 

‘दुई–तीनजना स्थापित कलाकार लाने अनि अरू मान्छेलाई क्यामराम्यान, लाइटम्यानलगायत प्राविधिकको आवरण दिएर मानव तस्करी गर्ने ट्रेन्ड पहिलेदेखि नै भइरहेको हो । यसमा स्थापित कलाकारसम्म संलग्न छन् । चलचित्र क्षेत्र, दूतावास र प्रहरी सबै सचेत नहुने हो भने यो रोकिनेवाला छैन,’ चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले भने । 

दीपकप्रसाद आचार्य
फिल्मका निर्माता भनिएका रोशन पराजुलीलाई मैले एक वर्षअघि मात्र चिनेको हुँ । तर, किर्ते प्रकरणबारे केही जानकारी छैन ।

यसअघि २५ माघ ०७४ मा सुटिङको बहानामा मानव तस्करी गरेको आरोपमा सिआइबीले कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको थियो । डकुमेन्ट्री बनाउन भनेर उनले ११ जनालाई दक्षिण कोरिया लगेको र लाखौँ असुलेको अभियोगमा सिआइबीले मुद्दा नै दायर गरेको थियो । त्यतिवेला पनि काठमाडौंस्थित कोरियन दूतावासकै उजुरीका आधारमा खड्गीमाथि अनुसन्धान थालिएको थियो । 

खड्गीको दाबी भने मार्सल आर्टका गुरु ओयामाको नाममा डकुमेन्ट्री बनाउन आफूसहित १३ जनाको टोली कोरिया पुगेको भन्ने थियो । तर, आफू र सिनेमाटोग्राफर दिव्यराज सुवेदी फर्किए पनि बाँकी ११ जनाको अझै भिसा बाँकी छ भनेर नफर्किएको उनले स्विकारेका थिए । 

त्यतिवेला प्रहरीले भने प्रतिव्यक्ति १० देखि १५ लाख लिएर ११ जनालाई कोरिया पुर्‍याई उतै छाडेर आएको दाबी गरेको थियो । उक्त घटनापछि सिआइबीले विभिन्न आवरणमा नेपाली नागरिकको अवैध ओसारपसार हुने गरेको सूचनामा कलाकारदेखि नेतासम्मको नाम आएको भन्दै तीव्र अनुसन्धान गर्ने बताएको थियो । तर, खड्गीको मुद्दा अदालत पुगेपछि उनी छुटे । सिआइबीको अनुसन्धान पनि सेलाएको थियो । 

त्यस्तै, रेखा थापासँग ‘हिम्मतवाली’ फिल्ममा अभिनय गरेर चर्चा कमाएका सुदर्शन गौतम पनि दुई वर्षअघि मानव तस्करीको मुद्दामा जोडिए । दुर्घटनामा दुवै हात गुमाएका क्यानडावासी गौतमलाई पनि फिल्मको सुटिङ भन्दै कलाकार बनाएर तस्करीको बाटोबाट अमेरिका पुर्‍याइदिन्छु भन्दै तीन नेपाली युवतीबाट पैसा असुलेको आरोप लाग्यो । पीडित युवतीहरूको उजुरीका आधारमा उनीमाथि अनुसन्धान अघि बढ्यो । अनुसन्धानका क्रममा फिल्मको सुटिङ भन्दै ती युवतीलाई हाइटी पुर्‍याइएको खुल्यो । पानीजहाज बिग्रिएपछि हाइटी हुँदै समुद्री बाटोबाट अमेरिका पुर्‍याउने योजना असफल भयो । त्यसपछि बहामास भन्ने देशमा उनीहरू पक्राउ परेका थिए । अमेरिकी दूतावासको समन्वयमा त्यहाँबाट उनीहरू नेपाल फर्काइएका थिए । नेपाल फर्काइएपछि सुदर्शनको कर्तुतबारे उनीहरूले बेलीविस्तार लगाएका थिए । लगत्तै प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको थियो । तर, क्यानडाको पिआर लिएर गौतम नेपाल फर्किएनन् । 

०७६ वैशाखमा प्रहरीले गौतमविरुद्ध रेड कर्नर नोटिस नै जारी गरेको छ । तर, अहिलेसम्म उनी पक्राउ परेका छैनन् । बरु, एक साताअघि मात्रै उनी अभिनयमा फर्कने खबर बाहिरिएको छ । ‘एक्स–९’ नामक फिल्मका लागि उनीसँगै सौगात मल्ल, अनमोल केसी, पुष्प खड्का, अनुपविक्रम शाहीलगायत कलाकार अनुबन्धित भएको खबर छ । तर, ‘सुदर्शन’को सुटिङको अंश भने विदेशमै हुने बताइएको छ ।