मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७९ भदौ १० शुक्रबार ०९:१४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विराटनगरका मेयरले सार्वजनिक गरे सयदिने श्वेतपत्र 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ भदौ १० शुक्रबार ०९:१४:००

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जिम्मेवारी सम्हालेको एक सय दिनमा श्वेतपत्र सार्वजनिक गरेका छन् । आगामी दिनमा पारदर्शी र प्रभावकारी रूपले काम गर्नका लागि भन्दै प्रमुख कोइरालाले उपप्रमुख  शिल्पा कार्की, वडाध्यक्ष, सदस्य र कार्यकारी समितिको सहभागितामा बिहीबार  श्वेतपत्र सार्वजनिक गरेका हुन् । निर्वाचनपछि एक सय दिन कार्यभार पूरा गरेका प्रमुख कोइरालाले हालसम्म आफ्नो कार्यकाल अलमलमै बिताएका छन् । उनी र उनका जनप्रतिनिधिले एक सय दिनभित्र ठोसखाले कुनै उपलब्धि दिन सकेका छैनन् । 

विराटनगर महानगरका मेयर कोइराला र उपमेयर शिल्पा कार्कीले ९ जेठमा पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण गरेको सय दिन पुगेको अवसरमा श्वेतपत्र जाारी गर्दै विगतका कामलाई समीक्षा गर्दै आगामी दिनमा प्रभावकारी काम गर्न महानगरको आर्थिक अवस्था, कर्मचारी र पहिले भएका र आगामी दिनमा गरिने कार्यभारबारे आमनागरिकलाई थाहा दिन सबै विवरणसहित श्वेतपत्र सार्वजनिक गरेको मेयर कोइरालाले बताए । 

उनले गरेको श्वेतपत्रमा पहिले महानगरमा नियम मिचेर कर्मचारी भर्ना गर्दा  ६ सय नाैजनाको जम्बो टोली बने पनि काम हुन नसकेको, बेरुजु बढेको, तर अझै महानगरलाई दक्ष कर्मचारी अभाव रहेको खुलासा गरेका छन् । यसैगरी महानगरपालिकाको स्वामित्वमा रहेको जग्गा मिचिएकाले  सार्वजनिक तथा खुला स्थान, पार्क र उद्यानहरूका लागि जग्गाको कमी भएको औँल्याएका छन् । 

श्वेतपत्रमा उल्लेख गरिएअनुसार महानगरमा सरसफाइमा पर्याप्त उपकरण नभएको, भएकाहरू पनि बिग्रिएर थन्किएको विगत पाँच वर्षमा ८३ वटा ऐन, नियम, कार्यविधि, दिग्दर्शन, निर्देशिका जारी गरिएको, तर कार्यान्वयन हुन नसकेको उनले बताए । करदाताको खर्च भए पनि महानगरमा बारुण यन्त्र सेवा प्रभावकारी हुन नसक्दा आर्थिक भार मात्र थपिएको मेयर कोइरालाले खुलासा गरेका छन् । गत पाँच वर्षमा वित्तीय स्रोतको अनुमान र यथार्थबीच ठूलो अन्तर देखापरेको र राजस्व संकलन न्यून भएको उनको भनाइ छ ।   

यसैगरी विकास निर्माण कार्यमा उपभोक्ता समिति र ठेकेदारहरूबीच मिलेमतो भएको, अधिकांश निर्माणकार्य अधुरो रहेको जारी श्वेतपत्रमा उल्लेख छ ।  मेयर कोइरालाले आवधिक योजना तथा क्षेत्रगत योजनाहरू तर्जुमाविना सञ्चालन गरिँदा  विकासका ठोस उपलब्धिहरू हासिल हुन नसकेको र महानगरको शैक्षिक र स्वास्थ्य  सेवा पनि चुनौतीपूर्ण बनेको बताएका छन् ।   श्वेतपत्रमा विपत् व्यवस्थापनसम्बन्धी स्थायी सबल संयन्त्रको स्थापना नसकेको र फोहोरमैलाको दिगो व्यवस्थापन अझै चुनौतीपूर्ण रहेको बताएका छन् । उपभोक्ताहित भित्री सडक निर्माण, शौचालय व्यवस्थापन, ढल निकास, ठूला आयोजनाहरू पनि अलपत्र हुँदा  सञ्चालन पनि हुन नसकेको श्वेतपत्रमा बताइएको छ । 

श्वेतपत्रमा यस्तो छ मेयर कोइरालाको प्रतिबद्धता 
श्वेतपत्र जारी गर्दै मेयर कोइरालाले आगामी दिनमा योजनाबद्ध विकास, स्रोतको कुशल विनियोजन तथा परिचालन गरेर प्रभावकारी काम गर्ने बताए । उनले आन्तरिक राजस्वमा वृद्धि गर्ने  छरितो तथा कार्यमूलक प्रशासनिक संरचनाको व्यवस्था गर्ने  गुणस्तरीय शिक्षा तथा स्वास्थ्यलाई बढाउने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने संस्थागत क्षमताको विकास, गर्दै  आर्थिक अनुशासनलाई पालना गराउने प्रतिबद्धता जनाएका छन् । यसैगरी  फोहोरमैलाको दिगो व्यवस्थापन, सामुदायिक विकास, विपत् व्यवस्थापनको सबल संयन्त्र स्थापना गराउने र भएका पूर्वाधार तथा सम्पत्तिहरूको मर्मतसम्भार गर्दै पारदर्शी तथा जनउत्तरदायी सेवा दिने प्रतिबद्धता जनाएका छन् ।