मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मानदत्त रावल
२०७५ पौष ८ आइतबार ११:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

दाङ बस दुर्घटना : ११ विद्यार्थीको मृत्युपछि जुम्ला शोकमग्न 

Read Time : < 1 मिनेट
मानदत्त रावल
२०७५ पौष ८ आइतबार ११:०८:००

दाङस्थित शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयबाट शैक्षिक भ्रमणमा गएको टोली चढेको बस शुक्रबार दुर्घटना हुँदा जुम्ला शोकमग्न छ । सो दुर्घटनामा परेर जुम्लाका ११ जनाले ज्यान गुमाएका छन् । चार जना घाइते छन् ।  शनिबार मृतक ११ जना मध्ये आठ जनाको शव नेपाली सेनाको हेलिकप्टरले जुम्ला पुर्याएको थियो । 

दुर्घटनामा परेर मृत्यु हुनेमा चन्दननाथ नगरपालिका – ६ की १६ वर्षीया कुशुम रावल, चन्दननाथ नगरपालिका – ३ का १७ वर्षीय हिम्मत बोहरा, कन्कासुन्दरी गाउँपालिका – ५ का २० वर्षीय वीरेन्द्र कडारा, हिमा गाउँपालिका – ५ की १७ वर्षीया शैलजा शाही, चन्दनथान – १० का १८ वर्षीय रुपेश शाही, चन्दननाथ – १० का १७ वर्षीय रितेन्द्र शाही, चन्दननाथ ५ का देवीप्रसाद उपाध्याय, तिला गाउँपालिका १ का जंगबहादुर बिक, चन्दननाथ – ३ का १८ वर्षका अर्जुन शाही, चन्दननाथ-१० का बिपना खत्री, तिला गाउँपालिका – ३ का रमेश उपाध्याय रहेका छन् ।

जुम्लाबाट फरेस्टी अध्ययनका लागि दाङ गएका विद्यार्थीको सपना अधुरै रह्यो । तिला गाउँपालिका – २ का कल्से रावत ठुलो मेहनतका साथ पढ्न पठाएको स्मरण गर्दै दुर्घटनामा परेर ज्यान गुमाएको खबरले निकै दुखी बनाएको बताउँछन् । उनका आफन्त पर्ने तिला गाउँपालिका – १ का जंगबहादुर बुढाको दुर्घटनामा निधन भएपछि अहिले गाउँ शोकमा छ ।

जंगबहादुर बुढाले जुम्ला सदरमुकाम खलंगाको रत्नचुडेश्वर माविमा शिक्षा संकायमा फारम भरेर अध्ययन गरिरहेका थिए  । तर फरेस्टी अध्ययनका लागि विज्ञापन खुलेको जानकारी पाएपछि उनी संकाय नै परिवर्तन गरेर दाङ पढ्न गएका हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख सिताराम रिजालले विमानस्थलमा शव आफन्तले बुझेको बताए ।