१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ७ मंगलबार १८:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खुँखार साहुकार जगदीश र लालबहादुर नवलपरासीबाट पक्राउ 

सिआइबीको हिरासतमा रहेका उनीहरुविरुद्ध अनुसन्धान हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ७ मंगलबार १८:१८:००

प्रहरीले नवलपरासी प्रतापपुर गापा–९ का खुँखार साहुकार ५५ वर्षीय जगदीश  कानू बानियाँसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने अर्का नवलपरासीकै लालबहादुर खड्का छन्। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)बाट खटिएकाे प्रहरी टोलीले उनीहरूलाई भारतबाट पक्राउ गरेको हो। पक्राउपछि दुवैलाई थप अनुसन्धानका लागि महाराजगन्जस्थित सिआइबीको हिरासतमा राखिएको छ। मिटरब्याज अपराध अध्ययनसम्बन्धी सरकारले गठन गरेको उच्चस्तरीय  कार्यादलका  संयोजक डा. भीष्मकुमार भुसालले जगदीशलाई पक्राउ गरिएको बताए।

उनले भने, ‘साहुकार जगदीश पक्राउ परेको सूचना मैले पाएको छु। यसकाे सबै अध्ययन तथा अनुसन्धान सिआइबीबाट भइरहेको छ। विस्तृत विवरण उहाँहरूले संकलन गर्नुभएको होला। अनुसन्धान प्रक्रिया निरन्तर अघि बढेको छ।’

पीडितले सिआइबीमा पेस गरेको विवरणअनुसार जगदीशले २७ ऋणीलाई विभिन्न मितिमा मात्रै ८७ लाख ७ हजार रुपैयाँ ऋण दिएका थिए। यसबापत उनले तीन करोड २० लाख १३ हजार ८ सय रुपैयाँ असुली गरिसकेका छन्। तर, उनले कुनै ऋणीको पनि दृष्टिबन्धकमा राखिएको जमिन फिर्ता गरेका छैनन्। बरु उनले उल्टै ऋणीसँग थप दुई करोड २६ लाख ५० हजार रुपैयाँ मागिरहेका छन्। उनीसँगै पक्राउ परेका अर्का साहुकार लालबहादुरले आठ लाख रुपैयाँ ऋण दिएर साढे ६ लाख असुली गरिसकेका छन्। उनले ऋणीसँग अझै १५ लाख मागिरहेको सिआइबीमा पेस गरेकाे विवरणले देखाउँछ।