
नेपाल महिला चेम्बरले ३४ महिलालाई डिजिटल मार्केटिङ तालिम दिएको छ । सूचना प्रविधिको विकाससँगै वस्तुको उत्पादन, प्रवद्र्धन एवं बजारीकरणमा सहयोग पुर्याउन तालिम प्रदान गरिएको जनाएको छ ।
नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरले आयोजना गरेको तालिम एक साता चलेको थियो । चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिलालाई देशको आर्थिक क्रियाकलापमा सहभागी गराउन तालिम आयोजना गरिएको बताइन् । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ ।
महिला उद्यमशीलता विकास गर्न चेम्बरले यसअघि फोटोग्राफी, मैनबत्ती बनाउने तथा बेकरी तालिमको आयोजना गरिसकेको जनाएको छ । महिला चेम्बरकी महासचिव लिमा अधिकारीले आर्थिक रूपमा सम्पन्न नभएसम्म महिलाको अधिकार सुनिश्चित नहुने भएकाले उनीहरूको क्षमता अभिवृद्धिमा काम गरिरहेको बताइन् । सूचना प्रविधिमा महिला नामक संस्थाकी अध्यक्ष गुणकेशरी प्रधानले महिला सशक्तीकरणका लागि नेपाल महिला चेम्बरसँग सहकार्य गरिएको बताइन् ।