मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ६ सोमबार ०६:५९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

निहारिकासँग तीनबुँदे सहमति १७ दिनपछि तोडिन् अनशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ६ सोमबार ०६:५९:००

न्यायको माग गर्दै आमरण अनशन बस्दै आएकी निहारिक राजपुत ‘सोनाली’सँग फेरि तीनबुँदे सहमति गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आइतबार तीनबुँदे सहमति गरेसँगै निहारिकाले १७ दिनपछि आमरण अनशन तोडेकी छिन् । 

उनको मागअनुसार उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दाको डिएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालातर्फबाट सरकारी वकिलले माग गर्ने, डिएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने र उनले १७ दिनदेखि गरिरहेको आमरण अनशन आइतबारको मितिबाट अन्त्य गर्ने सहमति भएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’को उपस्थितिमा सहमति भएको हो । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले पनि रोहवरमा बसेर सहमतिमा हस्ताक्षर गरेका छन् । आफूमाथि अन्याय भएको भन्दै उनी लामो समयदेखि आन्दोलनरत छिन् ।

आफूलाई साथीकै दाइ धनुषा क्षीरेश्वरनाथ नगरपालिका– ३ का २३ वर्षीय शिवराज श्रेष्ठले नसालु पदार्थ पिलाएर बलात्कार गरेको, तर जिल्ला अदालत धनुषाले सफाइ दिएको उनको उनको भनाइ छ । हाल सो मुद्दा उच्च अदालतमा विचाराधीन छ ।

गत २७ साउनमा उनलै राष्ट्रपति कार्यालय शीतलनिवासअगाडि नै आत्मदाह प्रयास गरेपछि प्रहरीले उनलाई शिक्षण अस्पतालमा राखेको छ । त्यहाँ पनि उनले आमरण अनशन जारी राखेकी थिइन् । आफ्ना बच्चासमेत शिवराजकै भएकाले डिएनए परीक्षण गर्नुपर्ने उनको मुख्य माग छ । तर, अदालतले आदेश नदिँदा डिएनए परीक्षण हुन सकेको छैन । आरोपी शिवराजलाई धनुषा प्रहरीले अभद्र व्यवहार मुद्दामा पक्राउ गरी थुनामा राखेको छ ।