मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ६ सोमबार
  • Saturday, 23 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ ६ सोमबार oo:२६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अक्षरामा ‘बनौँ संस्कारी’ पाठ्यक्रम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ ६ सोमबार oo:२६:oo

अक्षरा स्कुलले बनौँ संस्कारी पाठ्यक्रम सुरु गरेको छ । यही पाठ्यक्रममा सहयोग पुग्ने पुस्तक पनि शुक्रबार विमोचन गरिएको छ । वरिष्ठ चिकित्सक डा. भगवान कोइराला, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराई र पुस्तकका लेखक डा. राजु अधिकारीले संयुक्त रूपमा विमोचन गरे । 

पुस्तकबारे चर्चा गर्दै डा. कोइरालाले पछिल्लो समय आधारभूत मानवीय मूल्य बिर्संदै गएको बताए । संस्कार बिर्सेकैले यस्तो भएको भन्दै उनले न्यूनतम मानवीय मूल्य बिर्संदै गएको चर्चा गरे । ‘अहिले विज्ञान छ । प्रविधि छ । भौतिक विकास पनि छ । यी सबै चाहिन्छ । तर, यसका साथमा मानव मूल्य पनि चाहिन्छ,’ उनले भने, ‘मानव मूल्य छैन भने हाम्रो जीवनको पनि कुनै मूल्य हुँदैन ।’ कोइरालाले पुस्तकमा एक सय एक गुण हुनुपर्नेमा जोड दिए पनि सबै कार्यान्वयन गर्न गाह्रो हुने भन्दै पाँचवटा मात्रै गुण धारण गरे भने जीवन सफल हुने प्रतिक्रिया दिए । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले सबैले आफ्ना नानीबाबु असल होउन् भन्ने चाहने, तर कसरी असल बनाउन सकिन्छ भन्नेमा ध्यान नदिने गरेको बताए । ‘हामी स्कुलको परीक्षामा राम्रो अंक ल्याएर पास गर्छाैँ, तर जीवनको परीक्षामा भने फेल भइराखेका छौँ,’ उनले भने, ‘असज समाज र असल व्यक्ति निर्माण गर्ने नै शिक्षाले हो ।’ उनले संसार बदल्ने हो भने पहिला आफू बदलिनुपर्ने र त्यसका लागि संस्कार जान्नुपर्ने जिकिर गरे । 

स्कुलकी डाइरेक्टर प्रिन्सिपल भट्टराईले संस्कारयुक्त शिक्षा दिनकै लागि १२ वर्षअघि स्कुलको स्थापना गरेको बताइन् । उनले भनिन्, ‘हाम्रो विद्यालयको मिसनसँग यो पुस्तक मिल्ने रहेछ । त्यही भएर हामीले यसलाई सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्ने निष्कर्ष निकालेका हौँ ।’ उनले अब संस्कारको बेग्लै पाठ्यक्रमसमेत बनाउने तयारी भइरहेको बताइन् । 

लेखक अधिकारीले शिक्षा छ, संस्कार छैन भने व्यक्तित्वमा सुवास नआउने चर्चा गरे । जतिसुकै व्यस्त भए पनि अभिभावकले बालबालिकालाई क्वालिटी टाइम र संस्कार दिनैपर्नेमा लेखक अधिकारीले जोड दिए ।
 
अक्षरा स्कुल संस्कारण नाम दिइएको पुस्तकमा संस्कारको सुगन्ध, संस्कारी व्यक्ति यस्ता हुन्छन्, संस्कारी हुनुको अर्थ र महत्व, असल सन्तान नै अमूल्य सम्पत्ति, संस्कारयुक्त शिक्षा आजको आवश्यकता, चरित्र र शिक्षाको शिलान्यास, संस्कारी व्यक्तिको शान र पहिचान, नैतिकता र चरित्र, नागरिक कर्तव्य, सदगुण र शिष्टाचार, बनौँ संस्कारीजस्ता विषय पुस्तकमा समेटिएका छन् ।