मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नारायण रिजाल
२०७५ चैत ९ शनिबार २१:४७:००
Read Time : < 1 मिनेट
समाचार

दुई जिल्ला जोड्ने देशकै लामो झोलुङ्गे पुलको शिलान्यास

Read Time : < 1 मिनेट
नारायण रिजाल
२०७५ चैत ९ शनिबार २१:४७:००

बागलुङको बाँगेचौरदेखि पर्वतको पाङ अदुवाबारी जोड्ने देशकै लामो झोलुङ्गे पुलको शिलान्यास भएको छ । दुई जिल्ला जोड्ने पुलको लम्बाई ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर उचाइको हुनेछ । 

पुल निर्माणका लागि शनिबार राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले शिलान्यास गरेका हुन् । करिब डेढ दशकदेखि निर्माणका लागि चर्चा हँुदै आएको पुल आगामी दुई वर्षमा निर्माण हुने छ ।

करिब ८ करोड लागत 

पुल निर्माणमा लठ्ठा तान्ने मेसिन नेपालमा नभएकाले काम हुन नसकेको स्थानीय पूर्वाधार विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताए । ‘पुल लामो भएकाले काम हुन सकेको थिएन, चीनबाट आवश्यक मेसिन ल्याउने प्रक्रिया भएको छ,’ उनले भने । पुल निर्माणका लागि कम्पनी थानी/विएलटी/हिमशिखर जेभीले करिब ८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

दुई जिल्लाको बलियो सम्बन्ध बनाउने 

बागलुङ नगरपालिका–१ देखि पर्वतको कुश्मा नगरपालिका–१ पाङको अदुवारी जोड्ने पुलले दुई जिल्लाको सम्बन्धलाई बलियो बनाउने विश्वास लिएको छ । ‘निर्वाचनको बेला चुनावी नारा बनाएका थियौँ, अहिले निर्माण हुने भएको छ,’ बागलुङ नगरप्रमुख जनकराज पौडेलले भने, ‘निर्माण सम्पन्न भएपछि दुई जिल्लाको वारपार मात्रै नभई आर्थिक विकासमा सहयोग हुने छ ।’

पुलले दुई जिल्लाको सम्बन्ध मात्र नभई आर्थिक सम्बन्धलाई बलियो बनाउने कुश्मा नगरपालिकाकी उपमेयर सीता काफ्ले लामिछानेले बताइन ।