मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ चैत ९ शनिबार २०:१६:००
Read Time : < 1 मिनेट
समाचार

विप्लव समूहका नाै नेता कार्यकर्ता पक्राउ, चार जना भैंसेपाटी र बसुन्धारा बम विस्फोटमा संलग्न

Read Time : < 1 मिनेट
२०७५ चैत ९ शनिबार २०:१६:००

काभ्रेबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका नौँमध्ये चार कार्यकर्ता ललितपुरस्थित भैंसेपाटी र काठमाडाैंस्थित बसुन्धारामा भएको बम विस्फोटमा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीको विशेष अपरेशनले शनिबार बिहान ‘विप्लव’ नेतृत्व नेकपाका मध्यमाञ्चल कमाण्डर हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित नौँ जनालाई पक्राउ गरेकाे थिए । उनीहरुमध्ये केहीलाई महानगरीय प्रहरी परिसर ललितपुर र केहीलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । पक्राउ परेकामध्ये चार जना भैंसेपाटी र बसुन्धरामा भएको बम विस्फोटमा प्रत्यक्ष संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो । 

गत १० फागुनमा भैसेपाटीमा रहेकाे एनसेल टावरअगाडि भएको विस्फोटमा ४९ वर्षीय प्रताप गुरुङकाे मृत्यु भएकाे थियाे भने, २६ वर्षीय प्रतीक्षा खड्का र २५ वर्षीय उरुषा मानन्धर गम्भीर घाइते भएका थिए । त्यस्तै गत २४ फागुनमा बसुन्धरास्थित वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घर शक्तिशाली बम विस्फोट भएको थियो । साे विस्फाेटमा कुनै मानवीय क्षति भएको थिएन् । 

प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तम सुवेदीले पक्राउ परेकामध्ये चार जना दुवै विस्फोटमा प्रत्यक्ष संलग्न रहेको अनुसन्धानबाट खुलेको बताए । उनीहरुलाई सम्बन्धित परिसरमै राखेर अनुसन्धान गरिरहेकाे उनले बताए ।

एसएसपी सुवेदीलेभने,‘पक्राउ परेका विप्लव समूहका नौँ कार्यकर्तामाथि विशेष तवरले अनुसन्धान भइरहेको छ, अनुसन्धानबाट चार जना भैंसेपाटी र बसुन्धारामा भएको विस्फोटमा संलग्न भएको खुलेको हाे, घटनाको थप विवरण थप अनुसन्धानपछि मात्रै खुल्ला ।’