मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ५ आइतबार ०६:३६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘विदेशी मुद्राको सञ्चिति बढाउन कृषि उत्पादनको निर्यात बढाऔँ’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ५ आइतबार ०६:३६:००

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रा सञ्चितिमा देखिएको समस्या समाधान गर्न कृषि उत्पादनको निर्यात बढाउनुपर्ने बताएका छन् । नेपाल कुचो संघको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशनलाई शनिबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले मुलुकमा देखिएको विदेशी मुद्रा सञ्चितिको समस्या समाधान गर्न कृृषिउपजको उत्पादन तथा निर्यात बढाउनुपर्नेमा जोड दिएका हुन् ।

‘कृषिउपजको उत्पादन तथा निर्यात बढाउन सकियो भने मात्र हाम्रो आर्थिक गतिविधि चलायमान हुन्छ । यसले एकातर्फ हाम्रो आयात प्रतिस्थापन गर्न सहयोग पुग्छ भने अर्कोतर्फ निर्यात बढाई विदेशी मुद्रा सञ्चितिमा समेत सहयोग पुग्छ,’ उनले भने, ‘त्यसैले हामीले कृषि उत्पादन र त्यसको निर्यातमा जोड दिनुपर्छ ।’ 

उनले कृषिको विकास तथा यस क्षेत्रको समस्या समाधान गर्न महासंघले काम गरिरहेको समेत बताए । ‘कुचो एवं अम्रिसोको यस क्षेत्रबाट मात्रै औपचारिक तथा अनौपचारिक रूपमा लगभग चार अर्ब रुपैयाँको निर्यात भएको भन्ने सुनेको छु । यसलाई अझ बढाउन आवश्यक छ,’ उनले भने, ‘तपाईंहरूले यस क्षेत्रका समस्याहरू लिखित रूपमै तयार गरेर आउनुभयो भने महासंघ र महासंघको वरिष्ठ उपाध्यक्षका रूपमा मैले नेपाल सरकार तथा सरोकारवाला निकायसँग छलफल गरी तपाईंहरूका समस्या समाधान गर्न तयार रहनेछु ।’

वरिष्ठ उपाध्यक्ष ढकालले नेपाल अहिले रेमिट्यान्समा आश्रित रहेको बताउँदै कृषि, पर्यटन तथा जलविद्युत् क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए । उनले रेमिट्यान्स र आयातमा आधारित अर्थव्यवस्थालाई क्रमशः उत्पादनमा आधारित बनाउँदै लगिनुपर्ने बताए । ‘कृषिउपजलाई निर्यात गर्ने, पर्यटनलाई प्रवर्द्धन गर्ने र जलविद्युत् उत्पादन गरी निर्यात गर्नेजस्ता तीनवटा मात्र काममा फोकस गर्न सकेमा नेपालले अहिलेको जस्तो रेमिट्यान्स क्षेत्रको मात्र भर पर्नुनपर्ने हुन्छ,’ उनले भने ।

महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले कुचो तथा अम्रिसो क्षेत्रका व्यवसायीको समस्या तथा चुनौती समाधानका लागि ऐक्यबद्धता जनाए । कुचो संघका अध्यक्ष राजकुमार कार्कीले नेपालबाट वार्षिक ७० करोड रुपैयाँबराबरको कुचो निर्यात हुने गरेको जानकारी दिए ।

कुचो व्यवसायी संगठित, कार्यसमिति सर्वसम्मत
कुचो उत्पादक तथा निर्यातकर्ताहरू पहिलोपटक संगठित भएका छन् । काठमाडौंमा शनिबार सम्पन्न नेपाल कुचो संघको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशनले २७ सदस्यीय पहिलो कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । संघको अध्यक्षमा राजकुमार कार्की निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा खेम पोखरेल तथा उपाध्यक्षहरूमा मातृका घिमिरे, रवीन्द्र खड्का र सुवास बोलखे निर्वाचित भएका हुन् ।

त्यस्तै, महासचिवमा धनपति पोखरेल तथा सचिवहरूमा राजीव रौनियार र सुशील गौतम एवं कोषाध्यक्षमा रुस्मा खतिवडा निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष कार्कीले कुचोको उत्पादन तथा निर्यात वृद्धिका लागि व्यवसायीका समस्या समाधानमा सामूहिक पहल गरिने बताए ।