भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले कञ्चनपुरको सीमावर्ती गाउँका तीन मुक्त हलियाको घर निर्माणमा रोक लगाएको छ । विवादित सीमामा घर बनाएको भन्दै एसएसबीले भीमदत्त नगरपालिका ९ ब्रम्हदेबका तीन मुक्त हलियाका घर निर्माण कार्य रोकेको हो ।
दुई वर्ष अघि पनि एसएसबीले उक्त क्षेत्रमा नेपालीलाई घर निर्माण गर्न दिएको थिएन । एसएसबीले बलराम सार्की, मदन सार्की र खडक सार्कीको घर निर्माणमा रोक लगाएको हो ।
मुक्त हलिया पुर्नस्थापना कार्यक्रममार्फत घर निर्माण गरिरहेका तीनै जनालाई एसएसबीले घर बनाए भत्काइदिने चेतावनी दिएपछि उनीहरु समस्यामा परेका छन् ।
‘भएको पुरानो घर भत्काइदिए,’ मदन सार्कीले भने, ‘बनाउन लागेको एसएसबीले रोकिदियो, हाम्रो बस्ने ठाउँ समेत भएन ।’ घर बनाउँदै गर्दा १०÷१२ जना एसएसबी आएर रोकेको उनले बताए ।
भीमदत्त नगरपालिका ९ का वडाअध्यक्ष राम नाथले स्थानीय स्तरमा छलफल हुँदासमेत एसएसबीले घर निर्माण गर्न नदिएको बताए । उनका अनुसार संयुक्त सर्वेटिमबाट छिनोफानो नहुन्जेल घर निर्माण गर्न नदिने अडान एसएसबीले राखेको छ ।
सीमाको टुङ्गो लागेपछि उनीहरु त्यही बस्ने या अन्यन्त्र सार्ने विषयमा निश्चित हुने कन्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशिल बैधले बताए । बैद्यले भने, ‘आगामी २७ मार्चमा भारतमा हुने नेपाल–भारतका अधिकारको बैठकमा कुरा राख्ने छु ।’