१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दिवाकर पन्त
२०७५ चैत ९ शनिबार ०६:१३:००
Read Time : > 2 मिनेट
अर्थ

धुलोले लखेट्छ पर्यटकलाई

Read Time : > 2 मिनेट
दिवाकर पन्त
२०७५ चैत ९ शनिबार ०६:१३:००

शुक्रबार पाटन दरबार स्क्वायर घुम्न पुगेका अधिकांश पर्यटकले मास्क लगाएका थिए । काठमाडौं उपत्यकामा पाटन, भक्तपुर र वसन्तपुर दरबार स्क्वायर, पशुपति, बौद्ध, स्वयम्भू, चाँगुनारायणलगायत दर्जनौँ विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, धार्मिक, सांस्कृतिक महŒव बोकेका सम्पदाहरू छन् । जसले काठमाडौंलाई विश्वका घुम्न लायक सहरको सूचीमा पारेको छ । तर, दुर्भाग्य ! जब विदेशी पयर्टक काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिन्छन्, मास्क लगाउन बाध्य हुन्छन् ।

काठमाडौं उपत्यकाको वायु प्रदूषणको अवस्था विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डभन्दा झन्डै दोब्बर खराब रहेको छ । उपत्यकाको वायु प्रदूषणको अवस्था नेपाल सरकारले तोकेको मापदण्डभन्दा पनि खराब रहेको वातावरण विभागका तथ्यांक निरीक्षक राजेश्वर पौडेलले जानकारी दिए ।

पर्यटक जुन अपेक्षाका साथ काठमाडौं उत्रिएका हुन्छन्, त्यसलाई यहाँको धुलो, धुवाँसँगै गन्धले छिट्टै बाहिर लखेट्छ । होटेल संघ नेपाल (हान)का अध्यक्ष अमरमान शाक्यका अनुसार चार वर्षअघिसम्म नेपाल आएका पर्यटकहरूको काठमाडौं बसाइ औसतमा तीनदेखि चार रातसम्म हुने गरेको थियो । तर, अहिले पर्यटकहरूले काठमाडौंमा एक रात मात्रै बस्ने व्यवस्था मिलाउन आग्रह गर्न थालेका छन् ।

उपत्यकामा विश्वसम्पदा सूचीमा सूचीकृत दर्जनौँ सम्पदा छन् । जसले काठमाडौंलाई विश्वका घुम्न लायक सहरको सूचीमा पारेको छ । तर, जब विदेशी पयर्टक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिन्छन्, मास्क लगाउन बाध्य हुन्छन् । 

धुलो र धुवाँकै कारण पर्यटकहरूले काठमाडौंमा सकेसम्म कम समय बिताउने चाहना राख्ने गरेको अध्यक्ष शाक्यले बताए । ‘धुलोका कारण काठमाडौंमा बस्नै मन नलाग्ने पर्यटकहरूले बताउने गरेका छन्,’ उनले भने, ‘यसरी नै पर्यटकहरूको बसाइ अवधि छोटिँदै गयो भने उपत्यकाभित्रका होटेलको व्यवसायमा व्यापक गिरावट आउने चुनौती छ ।’ यस विषयमा आफूहरूले सरकारी निकायका उच्च अधिकारीसँग धेरैपटक भेटेर जानकारी गराइसकेको पनि उनले बताए ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ काठमाडौंमै रहेकाले पनि पर्यटकहरू काठमाडाैं आउन बाध्य छन् । काठमाडौंको विकल्प भए पर्यटक काठमाडौं आउनै चाहँदैनन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वकोषाध्यक्ष लीलावल्लभ दाहालका अनुसार यात्राको बुकिङ गर्दा नै पर्यटकहरूले काठमाडौंको धुलोबारे सोधखोज गर्ने गरेका छन् । ‘उनीहरूले काठमाडौंमा सकेसम्म कम समय बिताउने व्यवस्था मिलाउन आग्रह गर्ने गरेका छन्,’ उनले भने, ‘नेपालका ट्रेकिङ गन्तव्यहरू राम्रा भएकाले मात्र पर्यटकहरू आइरहेका हुन् ।’  

खुम्बु क्षेत्रमा जाने पर्यटक तुलनात्मक रूपमा काठमाडौंमा बढी बस्ने गरेको पाइएको छ । विभिन्न कारणले काठमाडौं–लुक्ला उडान नियमित नहुँदा उनीहरू बाध्य भएर काठमाडौंमा बस्ने गरेको नेपाल पर्वतारोहण संघका कोषाध्यक्ष सुदर्शन न्यौपानेले बताए । तर, पर्वतारोहण र पदयात्राका लागि आउने पर्यटकहरू उपत्यकामा कमभन्दा कम बस्ने तालिका बनाउन चाहन्छन् । उनले भने, ‘काठमाडौंको धुलोको अवस्थामा सुधार नआउने हो भने पर्यटकसँग डिल गर्न पनि निकै गाह्रो हुने देखिएको छ ।’

साइड सिनमा जान कम इच्छुक
काठमाडौं उपत्यका आउने पर्यटकहरूको प्रमुख आकर्षण यहाँको विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाहरू नै हुन् । अन्य क्षेत्रमा जाने पर्यटकहरू पनि यहाँको साइड सिन गर्न रुचाउँछन् । तर, भूकम्पपछि उपत्यकाभित्रका साइड सिनमा जान चाहने पर्यटकहरू निकै कम भएको पर्यटन व्यवसायी सुदर्शन न्यौपानेले बताए । उनका अनुसार साइड सिनका लागि काठमाडौं, ललितपुर र भक्तपुरका पुरातात्विक क्षेत्रमा धुलोकै कारण पर्यटक जान खोज्दैनन् ।  

सुधारको प्रयास भएन
ठमेलजस्ता पर्यटकीय गन्तव्यमा भत्काइएका सडक छिटो मर्मत नगरे अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बारेमा नकारात्मक सन्देश जाने देखिन्छ । खासगरी नेपालबाट फर्केर गएका पर्यटकले विभिन्न अनलाइन र ब्लगहरूमा नेपाल भ्रमणका विषयमा लेखेका लेखहरूले नवआगन्तुक पर्यटकमा नकारात्मक छाप पर्न सक्ने पर्यटन विभागका प्रवक्ता सुरेन्द्र थापाले बताए । उनले भने, ‘धुलोका कारण पर्यटक प्रभावित भएको भए पनि त्यसको सुधारका लागि प्रत्यक्ष रूपमा पर्यटन विभाग अग्रसर हुन सक्दैन ।’ विभिन्न अन्तरसरकारी बैठकमा यसबारे विभागका तर्फबाट ध्यानाकर्षण भने गराउने गरेको उनको भनाइ छ ।

उपत्यकाको प्रदूषण दोब्बर खराब
काठमाडौं उपत्यकाको वायु प्रदूषण विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डभन्दा करिब दोब्बर खराब रहेको छ । विश्व स्वास्थ्य संगठनले वायु प्रदूषण २४ घन्टासम्ममा प्रतिघनमिटर २५ माइक्रोग्रामभन्दा बढी हुन नहुने मापदण्ड तोकेको छ । नेपाल सरकारले पनि प्रतिघनमिटर ४० माइक्रोग्रामभन्दा बढी हुनुनहुने मापदण्ड तोकेको छ । तर, काठमाडौंको प्रदूषणको अवस्था सामान्य अवस्थामा पनि प्रतिघनमिटर ५० माइक्रोग्रामभन्दा बढी हुने गरेको छ ।

वातावरण विभागका अनुसार शुक्रबार काठमाडौंको वायु प्रदूषण प्रतिघनमिटर ४७.४१ माइक्रोग्राम रहेको थियो । जाडोयाममा प्रदूषणको मात्रा अझै उच्च हुने गरेको विभागका तथ्यांक निरीक्षक राजेश्वर पौडेलले बताए । 

गत साता उपत्यकामा पानी परेको र हावाहुरीका कारण पनि प्रदूषणको मात्रा करिब–करिब नियन्त्रित अवस्थामै रहेको उनले बताए । जाडोको समयमा यो तथ्यांक बढेर प्रतिघनमिटर दुई सय माइक्रोग्रामभन्दा बढी पुग्ने पनि पौडेलले जनाए ।