मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ भदौ २ बिहीबार १६:१५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

श्रीलंकाको आर्थिक संकुचन आठ प्रतिशतले बढ्ने चेतावनी

Read Time : < 1 मिनेट
२०७९ भदौ २ बिहीबार १६:१५:००

श्रीलंकाको आर्थिक मन्दीका कारण यस वर्ष कम्तीमा आठ प्रतिशतले संकुचन आउने, तर सर्वसाधारणले चाँडै नै मुद्रास्फीतिबाट केही राहतको अपेक्षा गर्न सक्ने श्रीलंकाको केन्द्रीय बैंकका प्रमुखले बताएका छन्। 

गत अप्रिलमा ५१ अर्ब अमेरिकी डलरबराबरको वैदेशिक ऋण नतिरेको यो टापु राष्ट्रले महिनौँसम्म खाद्यान्न, इन्धन र औषधिको अभाव भएपछि अन्तर्राष्ट्रिय मुद्रा कोषको सहुलियत कर्जाको माग गरिरहेको छ। यसको दुई करोड २० लाख मानिसले पनि लामो समयसम्म लोडसेडिङ, अभाव र मुद्रास्फीतिपछि जीवनयापनको लागतको बढ्दो दबाबबाट गुज्रिरहेका छन्।

श्रीलंकाको केन्द्रीय बैंकले सन् २०२० मा ३.६ प्रतिशतले संकुचन आएकोमा सन् २०२० मा अर्थतन्त्र ७.५ प्रतिशतले खुम्चिने प्रक्षेपण गरिसकेको छ। कोलम्बोका गभर्नर नन्दलाल वीरासिंघेले भने, ‘हामीलाई लाग्छ कि यो आठ प्रतिशतभन्दा बढी हुनेछ।’

आधिकारिक रूपमा ६०.८ प्रतिशतको हाराहारीमा रहेको मुद्रास्फीति सेप्टेम्बरमा ‘करिब ६५ प्रतिशत’ पुग्ने र त्यसपछि मागमा आएको कमी र आपूर्तिमा आएको सुधारका कारण क्रमिक रूपमा केही सहज हुने उनले बताए।

मुद्राको राम्रो प्रवाह र कम आयातका कारण आर्थिक संकट निम्त्याएको विदेशी विनिमयको अभाव कम भएको उनले बताए । ‘हामी अहिले पेट्रोल, डिजेल र औषधिजस्ता अति आवश्यक आयातका लागि लगानी गर्न सक्षम भएका छौँ,’ वीरासिंघेले बताए। 

श्रीलंकामा इन्धनको चरम अभावको चरणमा मोटरचालकहरूले इन्धन भर्न हप्तौँ पर्खनुपरेको थियो। तर, इन्धन वितरणलाई प्राथमिकताका आधारमा व्यवस्थित गरिएपछि इन्धन स्टेसनका लाइनहरूलाई छोटो बनाएको छ।

अर्थतन्त्र धराशायी भएपछि गत महिना ठूलो भिडले सरकारी निवास घेरेपछि राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएर देश छाडेका थिए। राजापाक्षमाथि अति आवश्यक आयातका लागि समेत लगानी गर्न नसक्ने अवस्थामा अर्थतन्त्रलाई पुर्‍याएको आरोप छ। रासस/एएफपी