मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
बलुचिस्तान प्रान्तको लस्वेलाका बाढीपीडितलाई उद्धार गरिँदै । तस्बिर : हमदान खान/एपी
२०७९ भदौ २ बिहीबार ०७:५३:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

पाकिस्तानमा बाढीबाट तीन सातामा ५८० को मृत्यु, लाखाैँ विस्थापित

Read Time : < 1 मिनेट
२०७९ भदौ २ बिहीबार ०७:५३:००

 मुसलधारे वर्षाका कारण पाकिस्तानमा पाँच सय ८० भन्दा बढी मानिसको मृत्यु भएको छ भने लाखाँै बेघर हुन पुुगेका छन् । पाकिस्तानमा पछिल्लो तीन हप्तामा भारी वर्षा, अचानकको बाढी र पहिरोबाट करिब १० लाख मानिस प्रभावित भएका छन् । तीन हप्तामा कुल मनसुनको ६० प्रतिशत वर्षा भएको जनाइएको छ । 

बाढीबाट बलुचिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएका छन् । जुलाई यता भारी वर्षाका कारण कराचीमा मात्रै ४० भन्दा बढीको मृत्यु भएको छ । पाकिस्तानको सबैभन्दा ठूलो र विपन्न प्रान्त बलुचिस्तानमा बाढीमा परी करिब दुई सयले ज्यान गुमाएका छन् । बलुचिस्तानमा ३० वर्षयताकै ठूलो बाढी आएको बताइएको छ । पाकिस्तानको राष्ट्रिय विपत् व्यवस्थापन प्राधिकरणले यो प्रान्तमा वार्षिक औसतभन्दा तीन सय पाँच प्रतिशत बढी वर्षा भएको जनाएको छ । 

विपत् व्यवस्थापन प्राधिकरणले बलुचिस्तानका २६ मध्ये १८ जिल्लालाई विपत्तिग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । यो प्रान्तभर बालीनाली एवं पशुपक्षी बाढीले नष्ट भएका छन् । मानिसहरू घर छाडेर अन्यत्र जान बाध्य भएका छन् । सयौँ किलोमिटर सडकमा क्षति पुग्दा आपत्कालीन सेवाहरू प्रभावित क्षेत्रमा पुग्न सकिरहेका छैनन् । बाढीले पाँच सय ७० भन्दा धेरै विद्यालय ध्वस्त गरेको र ती क्षेत्रमा झाडापखला फैलिएको समाचार छ । यही महिना मात्रै पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफले प्रभावित क्षेत्रको दुईपटक भ्रमण गरिसकेका छन् । पाकिस्तानमा आगामी शुक्रबारसम्म भारी वर्षाको पूर्वानुमान छ ।