Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७५ चैत ९ शनिबार ०६:५१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

पाँच वर्षपछि सुरुङ युग  सुरु हुन्छ : प्रधानमन्त्री ओली

Read Time : > 1 मिनेट
२०७५ चैत ९ शनिबार ०६:५१:००

प्रधानमन्त्री केपी ओलीले ०७५ देखि २०८० सम्मको युग सडक निर्माणको युग सुरु हुने बताए । उनले ०८० देखि सुरुङ युग सुरु हुने दाबी पनि गरेका छन् । सडक विस्तारदेखि निर्माणलाई तीव्रता दिने क्रममा ०८० देखि सुरुङयुक्त सडकहरू निर्माणमा जोड दिइने प्रधानमन्त्रीको भनाइ छ । 

पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवलखण्डको चार लेनमा विस्तार तथा स्तरोन्नति गर्ने कार्यको शुक्रबार बुटवलमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सडक विस्तारका क्रममा आवश्यक ठाउँहरूमा सुरुङहरू निर्माणका काम पनि अगाडि बढ्ने उनले बताए । ‘सडक निर्माण गर्दा जहाँ जे–जे पर्छ भत्काउने र छेड्ने काम अगाडि बढ्नेछ,’ प्रधानमन्त्री ओलीले भने । उनले रेलमार्ग निर्माणले पनि तीव्रता लिने दाबी गरे । 

निर्माणका क्रममा गिट्टी बालुवाको कमी पनि नहुने उनले बताए । ‘निर्माणका क्रममा गिट्टी बालुवाको कमी हुन्छ कि भनेर चिन्ता नलिनुहोस्, पहाड भत्काएर पनि सप्लाई हुन्छ । स्थानीय तहहरूले वातावरण संरक्षणलाई ध्यान दिएर विकास निर्माण गर्नुहोस्,’ प्रधानमन्त्री ओलीले भने । वातावरणीय सन्तुलन मिलाएर विकास गर्नुपर्नेमा उनले जोड दिए । सडक विस्तार बुटवलबाट सुरु गरेर पूर्वतिर मात्रै जान्छ कि भन्ने चिन्ता नलिन आग्रह गर्दै प्रधानमन्त्रीले विस्तारको काम पूर्व–पश्चिम दुवैतिर हुने बताए । प्रधानमन्त्री ओलीले लुम्बिनीबाट कपिलवस्तुको तिरौलाकोटसम्म जाने तथा मुख्य राजमार्गबाट तिरौलाकोट जाने सडक पनि स्तरोन्नति हुने जानकारी दिए । 

लुम्बिनीको चार्जिङ स्टेसन तत्काल हटाउन निर्देशन
प्रधानमन्त्री ओलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकास स्वच्छ र सफा बनाउने गरी अगाडि बढाइनेसमेत बताए । ‘दुनियाँको आस्थाको केन्द्रका रूपमा लुम्बिनीको विकास गर्नुपर्छ,’ उनले भने । लुम्बिनीको गुरुयोजना क्षेत्रभित्र चार्जिङ स्टेसन राख्ने तथा बसपार्क बनाउनेजस्ता काम भइरहेको भन्ने आफूले सुनेको भन्दै प्रधानमन्त्रीले त्यसलाई तत्काल रोक्न आफूले निर्देशन दिइसकेको बताए । 

प्रधानमन्त्रीले जलविद्युत् क्षेत्रमा लगानी गर्न जनताले चासो बढाएकोमा खुसीसमेत व्यक्त गरे । माग गरिएभन्दा धेरै सेयर छोटै समयमा खरिद भएको भन्दै उनले कोटा पुग्यो भनेर नरोकिने स्पष्ट पारे । त्यो आयोजनालाई पुगेर धेरै भएका सेयर अर्को आयोजनालाई हुन्छ, सेयर रोकिन्न, विकास निर्माण अगाडि बढ्छ,’ उनले भने । 

तस्बिर : रासस