मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १ बुधबार ०८:००:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

राजधानीमा शृंखलाबद्ध डकैती गर्ने पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १ बुधबार ०८:००:००

काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन दिनको विशेष अपरेसनपछि शृंखलाबद्ध डकैतीको अभियोगमा मकवानपुर बागमती गापा–८ का ३८ वर्षीय दिलबहादुर सिङ्तान, सिन्धुपाल्चोक मेलम्ची नपा–७, तालामाराङका ३८ वर्षीय रामसिंह तामाङ र मकवानपुर बकैया गापा–५ का सुशील भनिने बाबुलाल थिङलाई पक्राउ गरेको छ ।

जसमध्ये सम्धी भनेर चिनिने दिलबहादुर ‘खुन डकैती’बापत यसअघि १० वर्ष कैद सजाय भोगेर सात महिनाअघि मात्रै छुटेका अभियुक्त हुन् । उनी ०६८ मा ललितपुरमा भएको खुन डाँका घटनामा पक्राउ परेका थिए । उनी गत पुसमा मात्रै जेलबाट छुटेका थिए । उनीसँगै पक्राउ परेका सागर भनिने रामसिंह मानव बेचबिखन मुद्दामा ११ वर्ष कैद सजय भुक्तान गरेर छुटेका अभियुक्त हुन् । ०६३ भक्तपुरबाट पक्राउ परेका उनी ०७४ मा जेलबाट छुटेका थिए । 

डकैतीअघि रेकी
प्रहरीका अनुसार ६ असारमा शंखरापुर नपा–९, खुलालटारका लालबहादुर थापा, १२ असारमा शंखरापुर नपा–९ कै सुशीला थापा, २० असारमा काभ्रे बनेपा नपा–११ का सलामसिंह लामा र २४ साउनमा कीर्तिपुर नपा–६ का नारायण बस्नेतको घर डकैतीमा यो समूह संलग्न थियो । ‘राजधानीमा लगातार डकैतका घटना भएका थिए । यस्तो घटनाले प्रहरी हैरान हुनु स्वाभाविक हो । अनुसन्धान गर्दै जाँदा विगतमा जेल बसेर छुटेकाहरू यस्ता घटनामा संलग्न हुन सक्ने क्लू फेला पर्‍यो र अहिले क्लू सहीसाबित भएको छ,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले भने ।

डकैती गर्नुअघि उनीहरूले घर पहिचान गर्थे । केही दिन रेकी गर्थे । सोहीअनुसार बन्दोबस्तीका सामग्री जुटाउँथे । अनि मध्यरातमा घर प्रवेश गर्थे । हतियार देखाएर घरका  मानिसलाई नियन्त्रणमा लिन्थे । उनीहरू कहिले आफूलाई ‘प्रहरी हौँ’ भन्थे त कहिले ‘सशस्त्र समूह’ भन्दै आफ्नो परिचय दिन्थे । डराएका घरका मानिसलाई पालैपालो भुइँमा सुताउँथे । हातखुट्टा डोरीले बाँध्थे । मुखमा टेप लगाउँथे । अनि शरीरबाट एकएक गर्दै गहना उतार्थे । दराज फोर्थे अनि धनमाल लिएर फरार हुन्थे । यस क्रममा उनीहरूले ७७ लाख ६० हजार आठ सय ७४ रुपैयाँ मूल्यबराबरको धनमाल डकैत गरेको प्रहरीको भनाइ छ ।