मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी लन्डन
२०७९ भदौ १ बुधबार ०७:३१:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रोनाल्डोलाई   बेच्दै म्यानचेस्टर युनाइटेड

Read Time : > 2 मिनेट
एजेन्सी लन्डन
२०७९ भदौ १ बुधबार ०७:३१:००

रोनाल्डोको आगमनसँगै खेलाडीबीचको टिमवर्क भावना बिग्रेको म्यानचेस्टर युनाइटेडको निष्कर्ष छ । त्यसैले उनलाई १ सेप्टम्बरअगाडि नै युनाइटेडले बिक्रीमा राख्ने निर्णय गरेको छ । 

म्यानचेस्टर युनाइटेडले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई क्लबमा नराख्ने निर्णय लिएको छ । यस सिजनको इंग्लिस प्रिमियर लिग (इपिएल)को सुरुवाती दुई खेलमा युनाइटेड नराम्रोसँग पराजित भएपछि रोनाल्डोलाई त्याग्ने मनस्थितिमा क्लब पुगेको बिबिसीले जनाएको छ । गत वर्ष युभेन्टसबाट रोनाल्डो युनाइटेडमा अनुबन्धित भएका थिए । गत वर्षको सिजनमा रोनाल्डो क्लबकै सर्वाधिक गोलकर्ता बनेका थिए । तर, रोनाल्डोको आगमनले क्लबभित्र अन्य खेलाडीसँगको वातावरण बिग्रेको क्लबको बुझाइ छ । क्लबको व्यवस्थापनबाटै यस्तो प्रतिक्रिया आएपछि रोनाल्डो स्वयं पनि युनाइटेड छाड्ने तयारीमा थिए । 

युनाइटेड इपिएल सुरु हुनुअघिसम्म पनि रोनाल्डोलाई अन्य क्लबमा नपठाउने निर्णयमा अडिग थियो । इपिएल र अभ्यास खेलमा रोनाल्डोको प्रदर्शन र उनी रहँदा अन्य खेलाडीको व्यवहार निकै फरक आएपछि युनाइटेडको व्यवस्थापनले पोर्चुगलका स्टार खेलाडीलाई खुला ट्रान्सफर विन्डो माध्यमबाट बिक्रीमा राख्ने निर्णय गरेको बिबिसीले जनाएको छ । 

क्लबका प्रशिक्षक एरिक टेन हागले पनि ३७ वर्षीय रोनाल्डोलाई अन्य क्लबमा पठाउँदा राम्रो हुने प्रतिक्रिया दिएका छन् । प्रशिक्षक हागले दुई साताअघिसम्म पनि रोनाल्डो क्लबमा हुनुपर्ने खेलाडीमा रहेको प्रतिक्रिया दिएका थिए । यो दुई सातामा युनाइटेडभित्र रोनाल्डोलाई राख्ने वा नराख्ने पक्षमा बहस भयो । रोनाल्डोलाई बिक्रीमा राख्ने पक्ष हावी रहँदा प्रशिक्षक हागको केही सीप लागेन । ब्राइटन र ब्रेनफोर्डसँगको प्रतिस्पर्धामा रोनाल्डोले पूरै समय खेल्न पाएनन् । यी दुवै खेलमा ९० मिनेट नै प्रतिस्पर्धा गर्न नपाउँदा रोनाल्डो खिन्न देखिएका थिए । 

धेरैजसोले रोनाल्डो आफू बाहिरिनकै लागि खराब प्रदर्शन गरेको आलोचना गरेका छन् । प्रिमियरसिपको पहिलो दुई खेलमा रोनाल्डोले आफूलाई शतप्रतिशत प्रतिस्पर्धा राख्न नसक्नुको कारण पनि त्यही नै रहेको आलोचकहरूले दाबी गरेका छन् । रोनाल्डोलाई तत्कालै ‘रिलिज’ गर्दा युनाइटेडले एउटा समस्या सामना गर्नुपर्ने हुन्छ । अहिले रोनाल्डोको स्थानमा अन्य खेलाडी छैनन् । अर्थात्, उनको ‘रिप्लेसमेन्ट’ खेलाडी नै युनाइटेडसँग छैन । खेलाडी ट्रान्सफर विन्डो १ सेप्टेम्बरसम्म रहनेछ । प्रशिक्षक हाग, युनाइटेडका प्रमुख कार्यकारी रिचार्ड अनोल्ड तथा निर्देशक जोनले ट्रान्सफर विन्डो समाप्त हुनुअघि नै रोनाल्डोलाई अन्य क्लबमा पठाउने सहमति गरिसकेका छन् । 

समकक्षीबाट मिश्रित प्रतिक्रिया
कुनै समयमा रोनाल्डोले गेरी नेभल र वाइन रुनीसँगै प्रतिस्पर्धा गरेका थिए । युनाइटेडका यी दुवै खेलाडीले अहिले फुटबलबाट सन्न्यास लिइसकेका छन् । तर, रोनाल्डो अहिले पनि सक्रिय नै छन् । युनाइटेडका पूर्वडिफेन्डर नेभलले रोनाल्डोलाई परित्याग गर्ने युनाइटेडको ठूलो निर्णय भएको बताएका छन् । ‘रोनाल्डोको बारेमा लिएको निर्णय निकै ठूलो हो, मलाई लाग्छ, रोनाल्डो यस निर्णयबाट खुसी छैनन्,’ नेभलले स्काई स्पोर्टस्सँग भने, ‘रोनाल्डो बाहिरिनु भन्नु युनाइटेडको फिनिसिङ कमजोर हुनु हो ।’ 

सन् २००० को दशकमा फिनिसिङमा रोनाल्डोसँगै सहकार्य गरेका रुनीले आफ्ना मित्रलाई अन्य क्लबमा जान सल्लाह दिएका छन् । ‘रोनाल्डो बूढो भएका छन्, अहिलेको अवस्थामा रोनाल्डोले अन्य क्लब रोज्नु नै उपयुक्त हुन्छ होला,’ रुनीले भने, दीर्घकालीन योजनाअनुसार रोनाल्डोले आफ्नो बाटो आफैँले बनाउनुपर्छ ।’ 

पहिलो सिजन उत्कृष्ट
१२ वर्षपछि रोनाल्डो युनाइटेडमा फर्कंदा समर्थक निकै दंग परेका थिए । सन् २००९ मा उनी स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्धित भए । सन् २०१७ मा रोनाल्डो रियलबाट युभेन्टसतर्फ लागे । जीवनमा नयाँ–नयाँ चुनौती स्विकार्दै अगाडि बढ्ने नीति बनाएका रोनाल्डो गत सिजन युनाइटेडमै फर्किका थिए । १२ वर्षको अन्तरालमा रोनाल्डोले दुई क्लबमा समय बिताउँदा लिग च्याम्पियन बनाएका थिए । रियललाई उनले चारपटक युरोपियन च्याम्पियन्स लिग उपाधि दिलाए । युनाइटेडका समर्थकले पनि रोनाल्डो आउँदा क्लबले इपिएलमा राम्रो प्रदर्शन गर्ने विश्वास राखेका थिए ।

तर, रोनान्डोले क्लबलाई इपिएल च्याम्पियन बनाउन सकेनन् । झन् यस सिजनमा युनाइटेड च्याम्पियन्स लिगमा पनि छनोट भए । यद्यपि, रोनाल्डोको व्यक्तिगत प्रदर्शन भने अन्य खेलाडीको तुलनामा उत्कृष्ट नै रह्यो । यसपटकको सिजन सुरु हुनुअघिको अभ्यास खेलमा उनी एकपटक मात्र देखा परे । सो मैत्रीपूर्ण खेलमा पनि रोनाल्डो विवादमै परे । स्पेनिस क्लब रायो भालेकानोविरुद्धको मैत्रीपूर्ण खेलमा रोनाल्डो दोस्रो हाफ चलिरहँदा मैदानबाट बाहिरिए । कमजोर प्रदर्शनपछि उनी दोस्रो हाफमा परिवर्तन भएका थिए । रोनाल्डोले प्रि–सिजनमा युनाइटेडको अस्ट्रेलिया भ्रमण र प्रशिक्षण नै छुटाए ।  

कता जान सक्छन् ?
युनाइटेडबाट अब रोनाल्डो कता जान्छन् भन्ने प्रश्न छ । तर, रोनाल्डो आफैँमा एक ब्रान्ड हो । रोनाल्डो सामान्य क्लबमा अनुबन्धित हुने सम्भावना थोरै छ । रोनाल्डोले कुनै समय युनाइटेडबाट बाहिरिँदा युरोपियन चर्चित क्लबमै जाने बताएका थिए । उनी मोटो रकम कमाउन एसिया वा अमेरिकन क्लबमा जाँदैनन् । फ्रेन्च पेरिस जर्मेन (पिएसजी) रोनाल्डोलाई भित्र्याउन सक्ने क्लबमा पर्छ ।

अहिले पिएसजीमा मेसी, नेमार र केलियन एम्बाप्पेजस्ता विश्वकै स्टार खेलाडी छन् । यस्तो अवस्थामा पिएसजीले थप एक स्टार थप्न योजना बनाएको छैन । बरु रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेसका अनुसार रोनाल्डो चेल्सी, बायर्न म्युनिख, एटलेटिको म्याड्रिडमा जान सक्छन् । यसबाहेक रोनाल्डोलाई साउदी अरबबाट प्रस्ताव छ । साउदी अरबको एक क्लबले कीर्तिमानी रकम तीन सय मिलियन युरोको प्रस्ताव गरेको छ ।