प्रतिनिधिसभा सदस्य रेनुका गुरुङले सरकारको प्रशासनिक र न्यायिक संयन्त्र असफल भएको टिप्पणी गरेकी छिन्। निहारिका राजपुतले राष्ट्रपति भवनअगाडि आत्मदाह गर्ने अवस्था आएको भन्दै उनले यस्तो बताएकी हुन्।
आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले निहारिका राजपुतजस्ता हजारौँले समयमा न्याय नपाउने अवस्था किन आयो भन्दै सरकारलाई प्रश्न गरेकी छिन्।
‘के यो सरकार दलाल पुँजीवाद, भ्रष्टाचारी तथा बिचौलियाहरूको संरक्षणका लागि मात्रै हो ? आज निहारिका राजपुतजस्ता नेपाली छोरीले राष्ट्रपतिज्यूको भवनअगाडि आत्मदाह गर्ने अवस्था किन आयो ? सरकारले निजलाई समयमै न्याय दिन नसक्नुको कारण के हो ? के सरकारको प्रशासनिक तथा न्यायिक संयन्त्र असफल भएकै हो ?’ सांसद गुरुङले भनिन्।